१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ भदौ २६ आइतबार १३:३३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढी रोक्न जब जिल्लास्तरीय नेतादेखि मन्त्री आफैँ ढुंगा बोक्न थाले

Read Time : > 1 मिनेट
२०७९ भदौ २६ आइतबार १३:३३:००

आइतबार बिहानै दार्चुलाको बाढी प्रभावित क्षेत्र महाकाली नगरपालिका– ४ बंगाबगडमा जिल्लास्तरीय नेतादेखि जिल्लाबाट प्रदेश र संघीय मन्त्रीसम्म पुगेका थिए। शनिबार राति परेको पानीले बंगाबगड क्षेत्र कटान गर्न थालेपछि बस्ती जोगाउन स्थानीयसँगै नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसमेत ढुंगा बाेक्न उपस्थित भए।

शनिबार नेपाली सेनाको हेलिकाेप्टरमार्फत राहत लिएर सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीसँगै जिल्ला पुगेका बडूले लास्कु खोलामा ढुंगा बोकेर साथ दिए। सुदूरपश्चिम प्रदेश सभा सदस्य गेल्बुसिंह बोहरा, महाकाली नगर प्रमुख नरसिंह चैसिर, उपप्रमुख दुर्गाकुमारी खत्री विष्ट, एमाले जिल्ला कमिटी उपाध्यक्ष चरनसिंह बुढाथोकी, जिल्लास्तरीय नेता, जिल्लास्थित सुरक्षाकर्मी, स्थानीय युवा र विद्यार्थीहरूले बिहानैदेखि तारजाली लगाएर खोलालाई आफ्नै बाटोमा फर्काउने प्रयास गरिरहेका छन्।

बस्ती जोगाउन तत्कालीन अवस्थामा ढुंगा र जाली लगाएर नदीको धार परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उद्योगमन्त्री बडूले बताए। उनले भने, ‘अहिलेलाई पहिलो चरणमा कटान रोक्ने काम गरौँ। बजार क्षति भयो भने फेरि दर्जनौँ घर, पसलहरूमा क्षति हुने देखिन्छ।’ यसका लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न बडूले आग्रह गरे।

बंगाबगड क्षेत्रको खानेपानी ट्यांकीनजिकैको बजार कटान हुन थालेपछि तारजाली र ढुंगा भर्ने काम भइरहेको एमाले जिल्ला कमिटी उपाध्यक्ष चरनसिंह बुढाथोकीले बताए। ‘हामीले बिहानैबाट काम गर्‍याैँ,’ बुढाथोकीले भने, ‘केही हदसम्म भए पनि खोला डाइर्भट भएको छ।’ 

स्थानीय खडक बडालले मौसमले पनि साथ दिएकाले आफूहरू खाजासमेत नखाई ढुंगा बोकिरहेको बताए। ‘खाजापानी नखाएर बस्ती जोगाउन ढुंगा बोक्दै छौँ। मौसमले पनि साथ दिएको भएर सजिलो भएको छ। यो क्षेत्र मात्र जोगाउन सक्यो भने तल्लो क्षेत्रको कटान रोकिन्छ,’ उनले भने। लास्कु खोलामा सयौँको उपस्थितिमा ढुंगा बोक्ने र जाली भर्ने काम भइरहेको छ। सुरक्षाकर्मी र केही स्थानीय जोखिममा रहेका घर सार्ने काम गर्दै छन्।

बेपत्ता १० जना अझै भेटिएनन्, खोजीकार्य जारी
शुक्रबार रातिदेखिको अविरल वर्षा र बाढीपहिरोका कारण बेपत्ता भएका १० जना भने अझै भेटिएका छैनन्। बाढीपहिरोले महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो मात्रामा जनधनको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बाढीपहिरोमा परेर अहिलेसम्म पाँचजनाको मृत्यु भएको छ भने दशजना बेपत्ता छन्। प्रहरीका अनुसार महाकाली नदीमा पानीको बहाव नघट्दा बेपत्ताहरूको खोजीमा समस्या भइरहेको छ। महाकाली नदी किनारनजिकका प्रहरी युनिट परिचालन गरी खोजी भइरहेको छ। राहत र उद्धारको काम पनि सँगसँगै अघि बढाइएको छ।