मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कक्षाकोठामा पंखा नहुँदा अत्यधिक गर्मीमा रूखमुनि विद्यार्थी पढाउँदै जनकल्याण आधारभूत विद्यालयकी शिक्षिका उषा विष्ट ।
२०७९ भदौ २६ आइतबार ०८:३४:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

गौरीगन्जका अधिकांश  सामुदायिक विद्यालयमा छैन पंखा

Read Time : > 1 मिनेट
२०७९ भदौ २६ आइतबार ०८:३४:००

पसिना पुछ्दै पढ्न विवश छन् विद्यार्थी, रूखमुनि कक्षा चलाउँछन् शिक्षक 

झापाको गौरीगन्ज– १ जनकल्याण आधारभूत विद्यालयकी शिक्षक उषा विष्ट गर्मी मौसममा प्रायः चौरमा विद्यार्थी पढाउँछिन् । शीतल खोज्दै रूखमुनि कक्षा सञ्चालन गर्छिन् । अधिकांश कक्षाकोठा पुराना छन् । जस्ताले छाएको भवन छ । ती भवनमा पंखा छैनन् । मध्य बर्खाको गर्मी थामिसक्नु छैन । तसर्थ, बाध्य भएर कक्षाकोठाको विकल्पका रूपमा रूखमुनि विद्यार्थी पढाइँदै आएको छ ।

विद्यार्थी गर्मीका कारण कक्षाकोठामा बस्न नसक्ने भएका कारण उषासहितका शिक्षक शीतल खोज्दै रूखको छहारीमुनि विद्यार्थीलाई बोलाउँछन् । ‘अत्यधिक गर्मी हुन्छ । विद्यालयमा पंखा छैन । विद्यार्थीहरू पढ्नुको सट्टा कापीले हम्कन्छन्,’ चौरमा विद्यार्थी पढाउँदै गरेको अवस्थामा भेटिएकी उषाले भनिन्, ‘पढाइमा ध्यान नै हुँदैन । त्यही भएर शीतलको खोजीमा रूखको छहारीमुनि कक्षा लिइरहेका छौँ ।’ 

जनकल्याण आधारभूत विद्यालयको कुनै पनि कक्षाकोठामा पंखा छैन । झापाको दक्षिणी क्षेत्रमा पर्ने यहाँ गर्मी अत्यधिक हुन्छ । विद्यार्थीलाई पढ्नसमेत सकस परिरहेको छ । ‘गर्मीको समयमा त पढ्न गाह्रो हुन्छ । हावा चल्दा त ठिकै हो । तर, हावा नचल्दा त निकै गाह्रो हुन्छ,’ जनकल्याण आधारभूत विद्यालय कक्षा ८ की विद्यार्थी निकिता सुन्दास भन्छिन्, ‘स्कुलमा एउटा पनि पंखा छैन । साह्रै गर्मी हुँदा त पढाइमा ध्यान जाँदैन । निद्रा मात्र लाग्छ ।’ 

जनकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक हिमबहादुर कार्कीले दुई सय २५ विद्यार्थी पढ्ने यो विद्यालयमा कुनै पनि कक्षाकोठामा पंखा नभएको बताए । शिक्षकको कार्यालय र बाल विकास कक्षामा एउटा–एउटा पंखा भएको उनको भनाइ छ । गौरीगन्ज– १ को रामजानकी आधारभूत विद्यालय कक्षा ८ की छात्रा भारती राजवंशी नियमित विद्यालय आउँछिन् । तर, विद्यालयमा गर्मीका कारण पढाइमै ध्यान जाँदैन । जस्ताले छाएको कक्षाकोठा दिउँसो जस्ता तातिँदा बस्नै नसकिने गरी गर्मी हुन्छ । कापी तथा किताबले हम्किएर बस्नुपर्ने बाध्यता सुनाउँछिन् राजवंशी । ‘कक्षाकोठामा हावा कतैबाट आउँदैन । टिन तातेर बस्नै नसकिने हुन्छ । पसिनाले कपडा नै भिज्छ । पंखा नहुँदा गर्मीले पढाइमा मन नै जाँदैन,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘किताब–कापीले हम्किन्छौँ ।’

विद्यालयका शिक्षकको कार्यालय कक्षमा भने पंखा छ । यद्यपि, विद्यार्थी पढ्ने कुनै पनि कक्षाकोठामा पंखा छैन । जसकारण पढाउँदा–पढाउँदै विद्यार्थी निदाउने समस्या पनि छ । विद्यालयका भवनहरू पुराना, साना र टिनको छानो भएका कारण अत्यधिक गर्मी हुने गरेको रामजानकी आधारभूत विद्यालयका प्रधानाध्यापक टेकनारायण राजवंशी बताउँछन् । 

इन्द्रेणी प्राथमिक विद्यालयका कुनै कक्षामा पंखा छैन । गर्मीमा बालविकासका विद्यार्थीलाई सबैभन्दा धेरै समस्या हुने गरेको छ । पढाउँदा–पढाउँदै गर्मीले बालविकासका विद्यार्थी निदाउने गरेको विद्यालयका प्रधानाध्यापक शिवकुमार मैनालीले बताए । जस्ताको छानो लगाइएका विद्यालयका विद्यार्थीलाई छानो तातिएर बस्नै मुस्किल छ । पसिना पुस्दै विद्यालयमा पढ्छन् । भारतीय सीमासँग जोडिएको गौरीगन्जका अधिकांश विद्यालयमा पंखा छैन ।

गौरीगन्ज गाउँपालिकामा २६ वटा सामुदायिक विद्यालय छन् । जसमध्ये केही विद्यालयले दाताको सहयोग र केहीले आन्तरिक स्रोताबाट पंखा खरिद गरेका छन्, तर सबै कक्षाकोठामा पंखा छैन । ‘२६ वटा सामुदायिक विद्यालयमा तीन–चारवटामा पंखा छ, बाँकीमा छैन । यस्तो गर्मीमा पंखा नहुँदा पढ्न त गाह्रो नै छ,’ गौरीगन्ज गाउँपालिका शिक्षा शाखा प्रमुख टंकप्रसाद खरेलले भने ।