मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
रासस काठमाडौं
२०७९ भदौ २५ शनिबार १६:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दार्चुला बाढी :  उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृहमन्त्रीको  निर्देशन

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
२०७९ भदौ २५ शनिबार १६:१३:००

गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाका विभिन्न ठाउँमा आएको बाढीपहिरामा परी घाइते भएका र प्रभावितलाई तत्काल उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृह प्रशासनलाई निर्देशन दिएका छन्।

उनले आवश्यकतानुसार हेलिकोप्टरको प्रयोग गर्नसमेत निर्देशन दिएका छन्। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले गृहमन्त्री खाणको निर्देशनपछि बाढी र पहिरामा परी गम्भीर घाइतेको उद्धार गर्न कर्णाली प्रदेशको सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर घटनास्थलमा पुगेको र घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरिएको जानकारी दिए।

नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख डिआइजी मोहन आचार्यका अनुसार महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा पहिराले ठूलो क्षति पुर्याएको छ। अहिलेसम्म पाँचजनाको शव भेटिएको छ भने सातजना बेपत्ता तथा आठजना घाइते भएका छन्। घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको उनले बताए।

गृहमन्त्री खाणले बाढी पहिराबाट विस्थापितलाई तत्कालीन राहत, उद्धार र स्थानान्तरणमा कुनै कमी हुन नदिन यथाशीघ्र उद्धार गर्न निर्देशन दिएका छन्। उनले सरकार नागरिकको जीवनरक्षाका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै त्यसका लागि कुनै कसर बाँकी नराख्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

बाढीबाट लास्कु क्षेत्रका चार, बाङाबगड क्षेत्रका ११ घर तथा दशरथनगर आधारभूत विद्यालयमा पूर्ण क्षति पुगेको छ। दुहुँ र महाकाली जोड्ने लास्कुखोलाको झोलुंगे पुल र मोटरेबल पुल बगाएको छ। बाढीले पार्किङमा राखेका पाँच जिप, एउटा ट्रयाक्टरसमेत बगाएको प्रहरीले जनाएको छ।