१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अनिल यादव काठमाडौं
२०७९ भदौ २५ शनिबार ०७:४९:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चुनावमा कलाकार : ‘रिल’बाट ‘रियल’तिर

Read Time : > 3 मिनेट
अनिल यादव, काठमाडौं
२०७९ भदौ २५ शनिबार ०७:४९:००

‘रिल’बाट ‘रियल’तिर प्रवेश गर्न खोजेका कलाकार कतिपय पार्टीबाट सिफारिस भएका छन् भने केहीले स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन् ।

चुनावी मौसममा कला क्षेत्र पनि तातेको छ । कैयौँ कलाकार आफैँ उम्मेदवार बन्ने दौडमा छन् । ‘रिल’बाट ‘रियल’तिर प्रवेश गर्न खोजेका कलाकार कतिपय पार्टीबाट सिफारिस भएका छन् भने केहीले स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन् । 

एक समय थियो जतिवेला कलाकार दलहरूको चुनावी प्रचार गर्ने हतियार मात्रै हुन्थे । पार्टीले उनीहरूलाई उम्मेदवार बनाउने आश्वासन त दिन्थ्यो, तर अन्त्यमा जिल्ल बनाउँदै भोट माग्न खटाउँथ्यो । तर, आसन्न निर्वाचनमा कैयौँ कलाकार आफैँ मैदान उत्रँदै छन् । 

कांग्रेस, एमाले र राप्रपाले केही क्षेत्रबाट कलाकार उम्मेदवारका रूपमा सिफारिस गरेका छन् । केही क्षेत्रमा कलाकर्मी ‘हेभिवेट’ उम्मेदवारविरुद्ध नै स्वतन्त्र रूपमा उम्मेदवारी दिने तयारीमा छन् ।

एमालेबाट राष्ट्रिय सभा सदस्य भइसकेकी गायिका कोमल वली यसपटक दाङ ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएकी छिन् । एमाले क्षेत्रीय कमिटी बैठकले उनीसहित उपाध्यक्ष युवराज ज्ञवाली र केन्द्रीय सदस्यद्वय घनश्याम पाण्डेको नाम सिफारिस गरेको छ । 

राप्रपा छाडेर एमाले प्रवेश गरेकी वलीले राजनीतिमै सक्रिय हुनका लागि रेडियो नेपालको जागिर छाडेकी थिइन् । उनलाई एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय सभा पुर्‍याएका थिए । हाल उनी एमालेको केन्द्रीय सदस्य छिन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य अभिनेत्री रेखा थापा चुनाव लड्ने पक्का भएको छ । उनी मोरङ ३ बाट प्रत्यक्षतर्फ सिफारिस भएकी छिन् । उनको घर पनि यही क्षेत्रभित्र पर्ने सुन्दरहरैँचामा छ । यहाँबाट थापासँगै अम्बिकाप्रसाद अधिकारीको नाम पनि सिफारिस भएको छ । 

पहिलो नम्बरमा सिफारिस भएकी रेखा नै उम्मेदवार हुने सम्भावना बलियो रहेको मोरङका केन्द्रीय कमिटी नेता विवेक क्षेत्रीले बताए । ‘रेखाको नाम त्यताबाट सिफारिस भएर केन्द्रीय कमिटीमा आइसकेको छ । उनले चुनाव लड्ने सम्भावना बलियो छ,’ उनले भने । 

०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा मोरङ ३ बाट एमाले नेता भानुभक्त ढकालले जितेका थिए । त्यतिवेला ढकालसँग कांग्रेस उम्मेदवार सुनील शर्मा थोरै मतान्तरले पराजित भएका थिए । 

हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ कांग्रेसबाट उम्मेदवार सिफारिस भएका छन् । उनी सर्लाही ४ को ‘क’बाट प्रदेश सभा समानुपातिकतर्फ सिफारिस भएका हुन् । उनको नाम एक नम्बरमा राखेर सिफारिस गरिएको छ । रिजाल स्वयंले फेसबुकमार्फत आफू सिफारिसमा परेको जानकारी दिएका छन् । 

कांग्रेसनिकट सांस्कृतिक संघमा आबद्ध रिजाल यसअघिको चुनावमा पनि उम्मेदवार बन्ने प्रयत्नमा थिए । तर, त्यतिवेला अन्तिम समयमा टिकट नपाएका उनी यसपटक भने सिफारिसमा परेका हुन् । फेसबुकमा उनको घोषणाले चुनाव लड्ने सम्भावना छ ।

फिल्म ‘कालो पोथी’ निर्देशन गरेर नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन सफल निर्देशक मीनबहादुर भाम पनि संसदीय निर्वाचनमा कांग्रेसतर्फबाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारमा सिफारिस भएका छन् । मुगुको छायाँनाथ–रारा नगरपालिका– ४ का भामलाई कांग्रेसले पिछडिएको क्षेत्र र खस–आर्यतर्फको क्षेत्रबाट सर्वसम्मत सिफारिस गरेको हो ।

०५४ देखि ०५६ सम्म नेविसंघ मुगुमा बसेर काम गरेका उनी ०७८ मा पार्टीको सूचना तथा सञ्चार विभागको केन्द्रीय समितिमा समेत सदस्य थिए । नयाँ फिल्म ‘चिसो वर्ष’को छायांकन तयारी गरिरहेका उनी यहीबीचमा उम्मेदवार सिफारिस भएका हुन् । 

त्यस्तै, चलचित्र निर्माता रोज राणा पनि कांग्रेस प्युठानबाट प्रदेश सभा सदस्य उम्मेदवारमा प्रत्यक्षतर्फ सिफारिस भएका छन् । कांग्रेसका क्षेत्रीय सभापतिसमेत रहेका उनको नाम सिफारिसको पहिलो नम्बर छ । प्युठानको प्रदेश सभातर्फ (ख) क्षेत्रका लागि राणासहित मेनका घिमिरे र शालिकराम पण्डितको पनि नाम सिफारिस भएको छ । 

विगतमा पनि कलाकारले चुनावी मैदानमा उत्रने मन बनाएका थिए । तर, कसैलाई पार्टीले पत्ताएन, कसैको मतदाता नामावलीमा नाम नै भेटिएन । दोस्रो संविधानसभा चुनावमा एमालेले भुवन केसीलाई काठमाडौं १ बाट उम्मेदवार बनाउने चर्चा थियो, तर पछि टिकट अर्कैले पाए । त्यसपछि एमाले त्यागेर हालै मात्र कांग्रेस प्रवेश गरेका केसी चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका छन् । 

प्रचण्डसँग कम्मर मर्काएर चर्चामा आएकी रेखा थापा पनि कुनै वेला माओवादीबाट पर्सा १ को उम्मेदवार बन्ने चर्चा थियो । तर, पछि ‘प्राविधिक कारण’ भन्दै उनी उठ्न सकिनन् । खासमा उनको नाम मतदाता नामवली सूचीमा थिएन। 

ओली र बाँस्कोटाविरुद्ध स्वतन्त्र उम्मेदवारी
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको चुनावी क्षेत्रबाट हास्यकलाकार कुमार कट्टेल ‘जिग्री ब्रो’ले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । झापा ५ बाट उनले उम्मेदवारी दिने तयारी गरेका हुन् । सामाजिक अभियन्ता सुमन सायमीले नेतृत्व गरिरहेको स्वतन्त्र उम्मेदवारको लौरो अभियानअन्तर्गत नै उनी उम्मेदवार बन्न लागेका हुन् । 

त्यस्तै, यही अभियानअन्तर्गत काठमाडौं ५ बाट हास्य कलाकार मधुसूदन पाठकले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । हास्य सिरियल ‘सक्किगोनी’मा ‘सिते बा’को चरित्रमार्फत उनी दर्शकमाझ प्रिय छन् । 

त्यस्तै, ‘दासढुंगा’, ‘वधशाला’, ‘द ग्रेटर नेपाल’जस्ता राजनीतिक मुद्दामा फिल्म बनाएर चर्चामा आएका फिल्म निर्देशक मनोज पण्डित पनि यसपटक प्रतिनिधिसभा चुनाव लड्ने तयारीमा छन् । पण्डितले संघीय संसद्को चुनावमा एमाले नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाविरुद्ध काभ्रे २ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी स्थानीय निर्वाचनकै वेलादेखि घरदैलो अभियानमा समेत जुटिसकेका छन् । बाँस्कोटाको ७० करोड भ्रष्टाचार गरेको आरोपलाई उनले चुनावी मुख्य एजेन्डा बनाएका छन् ।

तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री हुँदा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा उनलाई ७० करोड भ्रष्टाचारको आरोप लागेको थियो । त्यसपछि पदबाट राजीनामा दिएका उनले एक सार्वजनिक कार्यक्रममा ‘७० करोड मात्रै हो र, ७० अर्ब हान्देको, निजी खाइदिएको हो र ?’ भन्ने अभिव्यक्ति दिएपछि आफू उम्मेदवारी दिने मनसायमा पुगेको निर्देशक पण्डितले बताएका छन् । ‘बाँस्कोटाको धम्कीपूर्ण अभिव्यक्तिले नागरिकलाई गिज्याएको महसुस भयो । त्यसैले संसदीय निर्वाचनमा यो प्रवृत्तिविरुद्ध उम्मेदवारी दिने घोषणा गरेको हँु । एक भोट नै किन नआओस्, चुनाव लड्छु । जित्नका लागि भन्दा पनि मुद्दाका लागि लड्दै छु, खराब राजनीतिक प्रवृत्तिविरुद्ध लड्दै छु,’ पण्डितले भने ।