मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७९ भदौ २४ शुक्रबार ०६:११:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बेलायती महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन

Read Time : > 1 मिनेट
एजेन्सी
२०७९ भदौ २४ शुक्रबार ०६:११:००

बेलायतको इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको छ । बेलायतको राजदरबार बकिंघम प्यालेसले एक विज्ञप्ति जारी गर्दै महारानीको मृत्यु भएको सार्वजनिक गरेको छ, जसमा भनिएको छ, ‘आज दिउँसो बालमोरल दरबारमा महारानीको शान्तिपूर्वक मृत्यु भयो ।’ बकिंघम प्यालेसअगाडि महारानीको अवस्थाबारे अपडेट पर्खिरहेको भिड उनको मृत्युको समाचार सुनेपछि स्तब्ध भएको थियो । अधिकांश रुन थालेका थिए ।

महारानी एलिजाबेथको स्वास्थ्यस्थिति बिग्रँदै गएपछि परिवार र निकट सदस्य बालमोरल दरबारमा भेला भएका थिए । डाक्टरहरूले मेडिकल पर्यवेक्षणमा राखेपछि उनका चारैजना सन्तान एबरडिननजिकैको बालमोरलमा गएका थिए । साथमा उनका नातिहरू राजुकमार विलियम र उनका भाइ ह्यारी पनि थिए । 

सन् १९५२ मा राजमुकुट पहिरिएपछि महारानी एलिजाबेथको ७० वर्षे शासनकालमा देश र विश्व धेरै परिवर्तनबाट गुज्रियो । भर्खरै दोस्रो विश्वयुद्ध सकिएपछिको अवस्थामा उनी देशको पुर्ननिर्माण, शितयुद्ध, युरोपेली संघमा बेलायतको प्रवेश र बहिरगमनको साक्षी बनिन् । उनको  शासनकालमा बेलायतमा १५ प्रधानमन्त्री फेरिए । हरेक साताजसो प्रधानमन्त्रीसँग उनले भेटघाट गर्ने परम्परा बसाएकी थिइन् । 

बेलायतको स्थानीय समयअनुसार साँझ साढे ६ मा दरबारमाथिको देशको झन्डा आधा झुकाइएको थियो । महारानी एलिजाबेथ द्वितीयको निधनपछि उनका जेठो छोरा चाल्र्स  स्वतः नयाँ राजा बनेका छन् । उनी संयुक्त अधिराज्यका अतिरिक्त १४ राष्ट्रमण्डल क्षेत्रहरूका लागि राज्य प्रमुख हुनेछन् । 

पुरा नाम एलिजाबेथ अलेक्जान्ड्रा मेरी विन्डसर रहेकी महारानी एलिजाबेथ द्वितीयको जन्म २१ अप्रिल १९२६ मा लन्डनको मेफेयरमा भएको थियो । उनी जन्मिँदा राजसिंहासनमा बस्लिन् भन्ने कल्पना कसैले गरेका थिएनन् । किनकि उनी स्वाभाविक उत्तराधिकारी थिइनन् । तर, सन् १९३६ डिसेम्बरमा तत्कालीन उत्तराधिकारी तथा एलिजाबेथको ठूलोबुबा एडवर्ड आठौँले राजगद्दीको दाबी त्यागिदिएपछि उनको पिता राजा बने । पिता जर्ज छैटौँ राजा हुँदा एलिजाबेथ १० वर्षकी थिइन् र राजाको जेठो सन्तानका रूपमा स्वतः सिंहासनको उत्तराधिकारी बनिन् । 

महारानी एलिजाबेथ द्वितीयको सन् १९४७ मा ग्रिसका युवराज फिलिपसँग विवाह भयो । उनीहरूको चार छोराछोरी, आठ नातिनातिना र १२ जना पनातिपनातिना छन् । जसमध्ये अहिले राजा बनेका चाल्स जेठो हुन् भने उनीपछि क्रमशः राजकुमारी एनी, राजकुमार एन्ड्र्यु र राजकुमार एडवर्ड छन् । एलिजाबेथ द्वितीय ६ फागुन ०४२ मा श्रीमान्का साथ दोस्रोपटक नेपालमा भ्रमणमा आएकी थिइन् । त्यसअघि उनी ०१८ मा भ्रमणमा आएकी थिइन् ।