मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७९ भदौ २३ बिहीबार ०६:४२:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कतार विश्वकप फुटबलका आठ रोचक तथ्य

Read Time : > 2 मिनेट
एजेन्सी
२०७९ भदौ २३ बिहीबार ०६:४२:००

फुटबलको महाकुम्भ फिफा विश्वकप २० नोभेम्बरदेखि १८ डिसेम्बरसम्म कतारमा आयोजना हुँदै छ । विश्वकपका लागि आयोजक कतारसहित कुल ३२ टोली छनोट भएका छन् । प्रतियोगिताको २२औँ संस्करण मध्यपूर्वमा पहिलो र एसियामा दोस्रोपटक आयोजना हुँदै छ । एजेन्सीहरूको सहयोगमा सर्वाधिक अपेक्षा गरिएको फिफा विश्वकपबारे एजेन्सीको सहयोगमा केही रोचक पक्ष यस्ता छन् :

पहिलो हिउँदे विश्वकप
उत्तरी गोलाद्र्धबाट हेर्ने हो भने २२औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिता पहिलोपटक हिउँदे हुनेछ । विश्वकप सामान्यतया वर्षको मध्यतिर आयोजना हुन्छ, तर कतारको सन्दर्भमा भने अपवाद बनेको छ । मध्यपूर्वमा रहेको कतारमा ५५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुन्छ । यस्तो अवस्थामा कुनै पनि प्रकारको विश्वव्यापी कार्यक्रमको आयोजना गर्नु असम्भवजस्तै हो । गर्मीकै कारण फिफा विश्वकपको क्यालेन्डर परिवर्तन गरिएको हो ।

महँगो विश्वकप
कतार विश्वकप प्रतियोगिताको तयारीका लागि आयोजक देशले खर्च गर्ने रकम प्रतियोगिताको अर्को रोचक पाटो हो । कतारले रंगशाला, राजमार्ग, होटेललगायतका पूर्वाधार आयोजनामा ​​२०० अर्ब डलर खर्च गरिरहेको छ । आगामी प्रतियोगिता खेलकुदकै इतिहासमा सबैभन्दा महँगो विश्वकप हुनेछ । 

थोरै रंगशाला
खेल आयोजना हुने रंगशालाको संख्यालाई लिएर पनि धेरै मानिस अचम्मित छन् । विश्वकप आयोजना गर्न कतारले केवल ८ अत्याधुनिक रंगशाला छुट्याएको छ, जुन खेल आयोजनाका लागि अपर्याप्त बताइन्छ । वास्तवमा प्रतियोगिता आयोजना गर्नका लागि छनोट गरिएका सबै आठ स्थान (रंगशाला)मध्ये एउटा मात्र पूर्ण रूपमा पुनर्निर्माण भएको छ । नयाँ सातवटाको निर्माणकार्य लगभग पूरा हुन लागेको छ । सन् १९७८ मा अर्जेन्टिनाले ६ ओटा रंगशालामा फिफा विश्वकप आयोजना गरेको थियो । अहिले कतारले केवल ८ ओटा रंगशालामा प्रतियोगिता आयोजना गर्दै छ । 

ठूलो संख्यामा दर्शक
 खेल अवलोकन गर्न आउने दर्शकको अनुमानित संख्या पनि कतार विश्वकपको अर्को महत्वपूर्ण र रोचक पाटो हो । एक अनुमानअनुसार कतार विश्वकप प्रतियोगितामा ठूलो संख्यामा दर्शक पुग्नेछन् । मध्यपूर्वको सुन्दर देश कतारको भौगोलिक अवस्थाले पनि अधिकांश देशका दर्शकलाई आकर्षित गरेको छ । कतार विश्वकपमा १० देखि १५ लाख दर्शक पुग्ने अनुमान गरिएको छ ।

 यात्रा गर्न सहज 
कतार आफैँमा सानो देश हो । सन् २०१८ को विश्वकप आयोजक रुसको तुलनामा त यो भौगोलिक रूपमा झनै सानो देश हो । भौगोलिक रूपमा सानो भएकाले एक ठाउँबाट अर्को ठाउँमा पुग्न कुनै समस्या देखिँदैन । दोहा, लुसेल, अल वाक्रह, अल रेयानजस्ता खेल आयोजना हुने महत्वपूर्ण सहर नजिकको दूरीमा छन् । तसर्थ, एक स्थानबाट अर्को स्थानमा पुग्दा यात्रु र दशर्कले ठूलो समस्या सामना गर्नुपर्नेछैन । सबैभन्दा टाढा भनिएका दुई रंगशाला अल बेत र अल वक्राह ९० माइल्सको दूरीमा छन् । 

रंगशालामा एयर कन्डिसन
फिफा २०२२ का लागि आयोजक देश कतारमा दिउँसो उच्च तापक्रम हुने गर्छ । यस समस्यालाई सम्बोधन गर्न कतारले एयर कन्डिसनको विकल्प ल्याएको छ । कतारका सबै आठै स्थान पूर्ण रूपमा वातानुकूलित हुनेछन्, जसले खेलाडीलाई पिचमा प्रदर्शन गर्न सहयोग गर्नेछ । पहिलोपटक पूर्ण वातानुकूलित रंगशालामा फिफा विश्वकप आयोजना गर्न लागिएको हो ।

मदिराको पनि व्यवस्था
कतारले फिफा २०२२ विश्वकपलाई ठूलो सफलता बनाउन कुनै कसर बाँकी राखेको छैन र ‘फ्यान जोन्स’ त्यसको ठूलो हिस्सा हुनेछन् । कतारमा विश्वकपको समयमा मदिरा उपलब्ध हुने विषयमा धेरै चर्चा भएका छन् । यद्यपि, रंगशालाले फुटबलप्रेमीलाई मदिरा प्रदान गर्नेछैन । यसका लागि कतारले विकल्प फेला पारेको छ । त्यसका लागि देशभर फ्यान जोन स्थापना हुनेछन्, जसले सस्तो मूल्यमा मदिरा प्रदान गर्नेछन् । 

एसियामा दोस्रोपटक आयोजना
विश्वकपको २२औँ संस्करण आयोजना गर्ने कतार पहिलो मध्यपूर्वी देश हो । तर, एसियामा भने दोस्रोपटक विश्वकप आयोजना हुन लागेको हो । यसअघि सन् २००२ मा जापान र दक्षिण कोरियामा विश्वकप आयोजना भएको थियो ।