मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
भुटानविरूद्ध तेस्राे गाेल गरेपछि खुसी मनाउँदै नेपाली खेलाडी । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
२०७९ भदौ २१ मंगलबार १९:५०:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

साफ च्याम्पियनसिपमा नेपालको सानदार सुरुवात

सावित्रा र अनिता चम्किएपछि भुटान ४–० ले हार्यो

Read Time : < 1 मिनेट
२०७९ भदौ २१ मंगलबार १९:५०:००

भुटानलाई ४–० ले हराउँदै नेपालले साफ च्याम्पियनसिपमा रवाफिलो सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको उद्घाटन खेलमार्फत नेपालले सानदार सुरुवात गर्यो। 

समूह ‘बी’मा रहेको नेपालले जितपछि तीन अंक बटुलेको छ। नेपालका लागि साम्बा भनेर चिनिने सावित्रा भण्डारी र अनिता बस्नेतले दुई–दुई गोल गरे। मध्यान्तरअघि १ गोल मात्र गरेको नेपालले मध्यान्तरपछि ३ गोल थपेको थियो।

भुटानले १२औँ मिनेटमै पहिलो गोल खाएको थियो। डिबक्सबाहिरबाट पाएको बललाई अगाडि बढाएकी सावित्राले सहजै बललाई जाली चुमाइन्। भुटानी गोलकिपर चिप्लिएपछि गोल गर्न सावित्रालाई सहज भएको थियो। 

यसपछि नेपालले पहिलो हाफमा गोल थप्न सकेन। तर, ६८औँ मिनेटमा सावित्राले नै व्यक्तिगत तथा नेपालका लागि दोस्रो गोल गरिन्। यसपटक उनले वन भर्सेस वनको अवस्थामा बललाई जाली चुमाएकी थिइन्। 

करिब एक वर्षपछि मैदान प्रवेश गरे पनि सावित्राको खेलमा कमजोरी देखिएको थिएन। महिला लिग खेल्ने क्रममा घाइते भएकी उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। 

नेपालले ७१औँ मिनेटमा गोल थप्यो। यसपटक अनिताले बललाई जाली चुमाइन्। डिबक्सबाहिरबाट उनले प्रहार गरेको सशक्त बल रोक्न भुटानी गोलकिपरसँग कुनै उपाय भएन।

अनिताले नै ८४औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरिन्। यो नै अन्तिम स्कोर बन्यो। अब नेपालले समूहको दोस्रो खेलमा २७ भदौमा श्रीलंकाको सामना गर्नेछ।