मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मर्मतको काम सुरु हुँदै दोलखा–सिँगटी सडकको क्षमावती खण्ड । तस्बिर : श्याम खतिवडा/नयाँ पत्रिका 
२०७९ भदौ २१ मंगलबार ०८:२९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दोलखा-सिँगटी सडक मर्मतको काम सुरु, दसैँअघि सम्पन्न गर्ने तयारी  

Read Time : > 1 मिनेट
२०७९ भदौ २१ मंगलबार ०८:२९:००

सडक विभागले दुई वर्षअघि निर्माण सम्पन्न गरेको दोलखा–सिँगटी सडकको केही भाग भत्किएपछि सडक कार्यालयले मर्मतको काम सुरु गरेको छ । कालोपत्रे गरिएको सडकको केही खण्डमा क्षति भएपछि डिभिजन सडक कार्यालय चरिकोटले मर्मतको काम सुरु गरेको हो । जिल्लाको उत्तरी क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग दोलखा–सिँगटी सडकमा गरिएको कालोपत्रे भत्किएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशन भएपछि कार्यालयले मर्मतको काम सुरु भएको छ । 

सडकको कालोपत्रे भत्किएर बनेका खाल्टाखुल्टीहरूमा कार्यालयले ग्राबेल बिच्छ्याएर सवारीसाधनलाई केही सहज बनाइएको डिभिजन सडक कार्यालय चरिकोटका प्राविधिक रामबहादुर विश्वकर्माले जानकारी दिए । 

उनका अनुसार मुख्य खाल्टाखुल्टीमा ग्राबेल बिच्छ्याइएको र पहिरो गएका ठाउँहरूमा पर्खाल लगाउने काम भइरहेको छ । विश्वकर्माले भीमेश्वर– १ स्थित कुथली खोलानजिकैका दुईवटा पहिरोमा पर्खाल लगाउने काम चलिरहेको जानकारी दिए । उनका अनुसार बाँकी खण्डमा पनि मर्मतको काम अघि बढाउने तयारी भइरहेको छ । 

सडक विभागले छुट्टै आयोजना बनाएर ०७३ साल असोजमा ३५ किलोमिटर लामो यो सडक कालोपत्रे गर्न ठेक्का लगाएको थियो । सडक निर्माणको ठेक्का पाएको कम्पनीले दुई वर्षअघि कालोपत्रे गरेर डिभिजन सडक कार्यालय चरिकोटलाई हस्तान्तरण गरेको थियो । एसियाली विकास बैंकको सहयोगमा ७० करोड रुपैयाँ खर्चेर दुई वर्षअघि सडक कालोपत्रे गरिएको थियो ।

३५ किलोमिटर लामो यो सडक २० वर्षअघि तत्कालीन जिल्ला विकास समितिले ट्रयाक खनेको थियो । पछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले करिब एक अर्ब रुपैयाँ खर्च गरेर ग्राभेल गरी सञ्चालनमा ल्याएको थियो । भूकम्पपछि आएको दाताको सहयोगअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा सडक विभागले यो सडक कालोपत्रे गराएको थियो ।

ठेक्का आह्वान गरियो, तर आवेदन परेन : सडक डिभिजन 
डिभिजन सडक कार्यालय चरिकोटले दोलखा–सिँगटी सडक मर्मतका लागि सार्वजनिक खरिद ऐनअनुसार ठेक्का आह्वान गरे पनि कुनै पनि आवेदन नपरेको जनाएको छ । कार्यालयका प्रमुख डिभिजन इन्जिनियर अर्जुन सुवालले साउन ६ गते सार्वजनिक सूचना जारी गरी ठेक्का आह्वान गरे पनि कुनै निर्माण व्यवसायीले पनि आवेदन नगरेको जानकारी दिए । उनका अनुसार आवेदन नपरेपछि तत्काललाई कार्यालयले आफ्नै स्रोत–साधन प्रयोग गरेर मर्मतको काम सुरु गरेको हो । उनले थोरै रकम भएका कारण मर्मतको काममा निर्माण व्यवसायीले आवेदन नदिएको हुन सक्ने बताए । 

यता निर्माण व्यवसायी संघ दोलखाका उपाध्यक्ष दावासांगे शेर्पाले एउटा निर्माण व्यवसायीले पाँचवटा भन्दा धेरै ठेक्का लिन नपाउने सरकारी व्यवस्थाका कारण पनि थोरै रकमको काममा व्यवसायीले आवेदन नदिएको बताए । उनले त्यस्ता काम कोटेसन विधिबाट गर्नुभन्दा बाहेकको विकल्प नरहेको बताए । 

अमानत विधिबाट दसैँअघि मर्मत सक्ने तयारी 
डिभिजन प्रमुख सुवालले ठेक्का नपरेपछि अमानत विधिबाट सडक मर्मतको काम सम्पन्न गर्ने गरी तयारी थालिएको जानकारी दिए । अमानत विधि भनेको कार्यालयले आफ्नै उपकरण प्रयोग गर्दै निर्माण सामग्री खरिद गरेर कार्यालयकै जनशक्तिमार्फत निर्माण गराउने विधि हो । सुवालले दसैँअघिसम्म सोही विधिबाट सडकको मर्मत गर्ने जनाएका छन् । त्यसका लागि प्रक्रिया सुरु भइसेको उनले बताए ।