मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ भदौ २० सोमबार १४:४०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सुनसरीमा ‘हेभिवेट’ भिडन्त : पूर्वउपप्रधानमन्त्रीदेखि पूर्वमुख्यमन्त्रीसम्म सिफारिस

Read Time : > 1 मिनेट
२०७९ भदौ २० सोमबार १४:४०:००

मंसिर ४ मा हुन लागेको निर्वाचनमा सुनसरीमा सत्तागठबन्धन दल र एमालेका ‘हेभिवेट’ नेताहरूको प्रतिस्पर्धा हुने भएको छ। चारवटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा प्रायः सबै दलहरूका क्षेत्रीय कमिटीले उम्मेदवारको नाम छनाेट गरी माथिल्लो निकायमा सिफारिस गरेका छन्।

सत्तागठबन्धनको नेपाली कांग्रेसबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पटकपटक मन्त्री भइसकेका विजयकुमार गच्छदार र पूर्ववाणिज्यमन्त्री मीन विश्वकर्माको एकल नाम क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएको छ। विश्वकर्मा सुनसरी १ बाट, गच्छदार ३ बाट र कार्की ४ बाट उम्मेदवार सिफारिस भएका छन्। यसैगरी, सत्ता गठबन्धनभित्रकै जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईको नामसमेत एकल रूपमा क्रमशः सुनसरी क्षेत्र नं. ४ र १ बाट सिफारिस भएको छ।

एमालेको तर्फबाट सुनसरी क्षेत्र नं. ४ मा प्रदेशका पूर्वपर्यटन तथा वनमन्त्री जगदीशप्रसाद कुसियत, क्षेत्र नं. ३ बाट पूर्ववन राज्यमन्त्री भगवती चौधरीको नाम सिफारिस भएको छ। झिलो मतान्तरले दुईवटा निर्वाचन गच्छदारसँग हारेकी चौधरीको फेरि उनीसँगै प्रतिस्पर्धा हुने भएको छ। ललितानिवास प्रकरणको मुद्दा किनारा नलागेकाले गच्छदार उम्मेदवार बन्न पाउने वा नपाउने भन्ने विषय टुंगाे लागिसकेको छैन। मुद्दापछि उनको साख ओरालो लागेका वेला चौधरीको यसपटक सम्भावना रहेको उनीनिकट नेताहरू बताउँछन्।

यसपटकको सुनसरी ४ को चुनावी प्रतिस्पर्धा रोचक हुनेछ। यहाँ नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीको एमालेका कुसियतसँग प्रतिस्पर्धा हुनेछ। उपेन्द्र यादवको पनि नाम भए पनि उनी मोरङबाट चुनाव लड्ने बुझिएको छ। एमालेबाट कुसियत उम्मेदवारको एकल सफारिसमा परेका छन्। लामो समय सो क्षेत्रमा राजनीतिक पकड जमाएका कुसियत जातीय मतका साथै स्थानीयवासीका रूपमा समेत मजबुत मानिन्छन्। भोजपुरबाट अघिलो निर्वाचनअघि मात्र सुनसरी ४ मा आएर कार्कीले राजनीतिक फिल्ड बनाएका हुन्। उनी पार्टीमा शक्तिशाली मानिन्छन्। अघिल्लो निर्वाचनमा एमालेको कमजोर उम्मेदवारका कारण कार्कीलाई जित सजिलो भएको एमालेको दाबी छ। यसपटक भने प्रतिस्पर्धा कडा हुने बताइएको छ।

सुनसरी २ मा प्रदेश १ का पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य भीम आचार्यको नाम सिफारिस भएको छ। उनीसँगै जिल्ला अध्यक्ष रेवतीरमण भण्डारी, पूर्व जिल्ला अध्यक्ष खेमराज पोखरेल, रामप्रसाद चौलागाईं र डम्बर सुवेदी प्रतिनिधिसभा सदस्यतर्फको सिफारिस सूचीमा छन्। आचार्यको २ नम्बरबाट सम्भावना बलियो रहेको छ। छोटो सयम मुख्यमन्त्री भएका आचार्यले मन्त्रालयमा जनतालाई सहुलियत र सुविधा हुने धेरै नीतिगत निर्णयहरू गरेका थिए। सुनसरी २ बाट प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालासँगै कांग्रेसकै अर्का केन्द्रीय सदस्य राजीव ढुंगाना र प्रतिनिधिसभा सदस्य सीताराम मेहताको नाम सिफारिसमा परेको छ। आचार्य र कोइरालाको प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ।

यता सुनसरी क्षेत्र नम्बर १ मा एमालेबाट प्रभावशाली नेता जयकुमार राईको एकल नाम सिफारिस भएको छ। अघिल्लो निर्वाचनमा जसपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री अशोक राईलाई २२ हजार मतान्तरले हराएर उनले सानदार जित हासिल गरेका थिए। ०७९ सालको निर्वाचनमा पनि दुई राईबीच प्रतिस्पर्धा हुने भएको छ। अशोक राईको पनि एकल नाम सिफारिस भइसकेको छ। एमालेले सोमबार बिहान जयकुमार राईको नाम माथिल्लो कमिटीलाई सिफारिस गरेको हो। झन्डै ७० हजार मत रहेको सुनसरी १ मा जयकुमार राईले अघिल्लो निर्वाचनमा ४४ हजारभन्दा बढी मत ल्याएर प्रतिनिधिसभामा विजयी भएका थिए। आफ्नो निर्वाचन क्षेत्रमा उनी जनतासँग भिजेको इमानदार नेताका रूपमा चिनिन्छन्। गठबन्धनमा किचलो रहेकाले सुनसरी १ एमालेका लागि सुरक्षित मानिन्छ। जसपालाई संघ, कांग्रेसलाई प्रदेश क र ख तथा माओवादीले सुनसरी १ बाट चुनाव लड्ने तयारी रहेको बताइएको छ।