१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
फाइल तस्बिर
२०७९ भदौ २० सोमबार ११:२१:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

महिला टेनिसको शैली नै परिवर्तन गरेकी सेरेना

Read Time : > 1 मिनेट
२०७९ भदौ २० सोमबार ११:२१:००

 युएस ओपनको मुख्य रंगशाला अर्थुर ऐसमा शनिबार बिहान खचाखच दर्शक भरिएका थिए । हजारौँ दर्शक सेरेना विलियम्सको तेस्रो चरण खेल हेर्न उपस्थित भएका थिए । हजारौँ दर्शक ओइरिनुको एउटै कारण थियो, सेरेनाको आकर्षक खेल हेर्नु । कुनै एक चरणमा पराजित हुँदा सेरेनाको गर्विलो टेनिस करिअर समाप्त हुन्थ्यो । युएस ओपनअघि नै सेरेनाले आफ्नो करिअरकै अन्तिम प्रतियोगिता घोषणा गरेकी थिइन् । 

यसै कारण सेरेनाले युएस ओपनलाई आफ्नो अन्तिम ग्रान्डस्लाम र प्रतियोगिताका रूपमा लिएकी थिइन् । महिला टेनिसकै स्वरूप परिवर्तन गरेकी सेरेनाले शनिबार प्रहार गरेको ‘फोरह्यान्ड नेट’ लाग्यो । दर्शक मात्र होइन, स्वयं सेरेना पनि निराश बनिन् । बल नेटमा लागेपछि सेरेनाको करिअर पनि समाप्त भयो । अघिल्लो दुई चरणमा सेरेनाले उत्कृष्ट पुनरागमन गरेकी थिइन् । तेस्रो चरणमा सेरेनाले यस्तै चत्मकारी प्रदर्शन गर्ने अपेक्षा थियो । तर, यसपटक सेरेनाकी प्रतिद्वन्द्वी अज्ला टोम्जाभोकी कडा नै देखिइन् । अज्लाले महिला टेनिस जगत्कै महान् खेलाडीलाई तेस्रो चरणमै रोक्दै चौथो चरण स्थान पक्का बनाइन् । 

विलियम्स दिदी–बहिनीको प्रभाव
टेनिस खेलमा सेरेना र उनकी दिदी भेनस विलियम्सलाई सधैँ सम्झनेछन् । यी दुवै खेलाडीले सन् २००० को दशकमा आक्रामक रूपमा टेनिस प्रदर्शन गरेका थिए । पुरुषझैँ महिला खेलाडीले पनि कोर्टमा शक्तिशाली सर्भिस र आक्रामक खेल खेल्न सक्ने उदाहरण विलियम्स दिदी–बहिनीले दिएका छन् । उनीहरूले विपक्षीमाथि शारीरिक र मानसिक दबाबमा खेल जित्नुपर्ने सन्देश पनि दिएका छन् । 

विलियम्स दिदी–बहिनीले त्यसवेला मोनिका सेलेल्स तथा लिन्डेस डेभेन्पोर्टलाई समेत छायामा पार्न सफल भए । यी दुवै खेलाडीले टेनिसमा रक्षात्मकभन्दा पनि आक्रामक रूपमा खेल्नुपर्ने सन्देश विश्व टेनिसमा दिए । दुवै खेलाडीले ग्रान्डस्लाम र एटिपी उपाधि जित्ने सपना देख्नुपर्ने अन्यलाई प्रेरित गरेका थिए । सन् २००० को दशकमा यस्तो समय पनि आएको थियो, जुनवेला महिला टेनिसमा विलियम्स दिदी–बहिनीले राज गरेका थिए । विशेषतः ग्रान्डस्लाम टेनिसमा उनीहरूको उपस्थितिमा अन्य खेलाडी निरीह नै बन्थे । खेल कौशलबाहेक सेरेनाले आफूलाई ग्ल्यामरस रूपमा समेत प्रदर्शन गरिन् । 

ग्ल्यामरस र रकम
वर्षभरि आयोजना हुने विभिन्न टेनिस प्रतियोगितामा सेरेनाको ड्रेसअप फरक हुन्थ्यो । अन्तर्राष्ट्रिय मिडियाले सेरेनाको खेलसँगै पहिरनको चर्चा गर्थे । टेनिसमा खेल, ग्ल्यामरस तथा धनको प्रभाव छाडेकी सेरेनाले अन्तिम फोरह्यान्ड गलत हुँदा आफूलाई सम्हालिन् । यसपटकको युएस ओपनमा पनि सेरेनाको ड्रेसअप र हिराजडित जुत्ताको चर्चा भएको थियो । स्पोर्टस्म्यानसिप देखाउँदै उनले अर्थुर रंगशालामा हार स्वीकार गरिन् । २२ हजार दर्शक र जीवनभरि सहयोग र समर्थन गरेका सबैलाई धन्यवाद दिँदै बिदा भइन् । खेलका विश्लेषकहरूले सेरेनालाई पनि उनीहरूकै दर्जामा राखेका छन् । पछिल्लो समय सेरेनाको एउटै चाहना थियो, मार्गेट कोटर्सले विश्वकीर्तिमान रूपमा स्थापित २४ ग्रान्डस्लाम जित्नु नै थियो । तर, उनको यो सपना अब पूरा हुनेछैन ।