१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
बैजुप्रसाद गुप्ता
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २० सोमबार ०८:०४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतीयलाई नक्कली मुद्दा प्रकरण : पाल्हीनन्दन गाउँपालिका अध्यक्षलाई लागुऔषध मुद्दामा पक्राउ पुर्जी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २० सोमबार ०८:०४:००

व्यापारिक प्रतिशोधमा प्रहरी प्रयोग गरी दुई भारतीयलाई योजनाबद्ध रूपमा लागुऔषध मुद्दामा फसाउने पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध अदालतले पक्राउपुर्जी जारी गरेको छ । अनुसन्धानको क्रममा उनकै योजनामा दुई भारतीय नागरिकलाई नक्कली मुद्दा चलाउन खोजेको पुष्टि भएपछि उनी आफैँ यो मुद्दामा प्रतिवादी बन्ने भएका छन् । 

सो घटनामा पक्राउ परेका उनका सहयोगी रघुनाथ धोबीको बयान र अन्य परिस्थितिजन्य प्रमाणका आधारमा उनको संलग्नता देखिएको हो । प्रहरीले घटनाको अनुसन्धान गरी गुप्तालाई पनि मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएको जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपरासीका एक अधिकारीले बताए । 

गत २२ असारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई पक्राउ गरेको थियो । उनीहरूसँग दुई सय ७० सेट डाइजेपाम, नुरर्फिन र फेनार्गन लागुऔषध बरामद भएको प्रहरीको दाबी थियो । छानबिनका क्रममा घटना विवरण नै बनावटी भएको र उनीहरू निर्दाेष देखिएका छन् । यद्यपि, दुई महिनादेखि उनीहरू प्रहरी हिरासतमा छन् । प्रहरीले उनीहरूलाई संलग्नता नदेखिएको गाउँपालिका अध्यक्ष गुप्ता, उनका सहयोगी धोबी र अर्का युवक विवेक पाण्डेलाई लागुऔषध मुद्दामा सजायको मागदाबी लिई अनुसन्धान प्रतिवेदन बुझाएको हो । सरकारी वकिल कार्यालयले यही साता गाउँपालिका अध्यक्षसहितलाई अदालतमा मुद्दा दायरको तयारी गरेको छ । 

लागुऔषध कारोबार भइरहेको छ भनी सूचना दिने धोबी पक्राउ परेपछि दुस्मनीका कारण उनीहरूलाई नियोजित रूपमा पक्राउ गर्न लगाइएको बयान दिएका छन् । पूर्वप्रहरी रहेका धोबी गाउँपालिकाका अध्यक्षको सहयोगीको रूपमा काम गर्दै आएका व्यक्ति हुन् । उनी पक्राउ परेलगत्तै छानबिनका क्रममा निर्दाेष देखिएपछि उनीहरूलाई छाड्न प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा सिफारिस गरेको थियो । सरकारी वकिल कार्यालयले बरामदी मुचुल्का नसच्याएसम्म त्यत्तिकै छाड्न नमिल्ने अडान लिएको थियो । 

अनुसन्धान अधिकृत रहेका इन्स्पेक्टर धर्म खत्रीले आफूले केही गल्ती नगर्दा पनि फसाउन लागिएको भन्दै मुचुल्का सच्याउन नमानेपछि मुद्दा प्रक्रियाबाटै छाड्न लागिएको हो । पश्चिम नवलपरासीका एसपी ऋषिराम कँडेलले खटाएका सादा पोसाकका प्रहरीले सो समूहसँग मिलेर दुईजना भारतीयलाई योजनाबद्ध रूपमा फसाएका थिए । प्रहरी प्रधान कार्यालय र लुम्बिनी प्रदेश प्रहरी कार्यालयले गरेको छानबिनमा सो कुरा पुष्टि भइसकेको छ । अभियोजन प्रक्रिया टुंगिएपछि यो घटनामा दोषी प्रहरीमाथि कारबाही हुने लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डिआइजी नलप्रसाद उपाध्याय बताउँछन् । 

नेपालमै कवाडीको व्यापार गर्दै रामा गुप्ताको विगतमा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तासँग व्यावसायिक साझेदारी थियो । दुवै मिलेर एक मोटरसाइकल कम्पनीको कवाडी सामानको ठूलो ठेक्का हात पारेका थिए । त्यो ठेक्काको २० प्रतिशत आम्दानी रामालाई दिने सहमति भएको थियो जुन करिब डेढ करोड रुपैयाँ हुन्थ्यो । तर, गुप्ताले राजनीतिक शक्तिका आधारमा त्यो पैसा नदिएपछि उनीहरूबीच सम्बन्ध बिग्रिएको थियो ।