१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
समाचार डिजिटल संस्करण

सडक स्तरोन्नति नहुँदा यात्रु सधैँ जोखिममा

Read Time : > 1 मिनेट
२०७९ भदौ १९ आइतबार १५:२७:००

बाग्लुङको दक्षिण जोड्ने पहिलो सडकको रूपमा रहेको मालढुंगा–कुश्मिसेरा सडकखण्डमा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदै आएका छन् । सडक यति जोखिमपूर्ण छ कि पहिरोको कारण करिब एक महिनासम्म अवरुद्ध भएको सडक केही दिनअघि मात्रै एकतर्फी सञ्चालन गरिएको थियो । 

बाग्लुङ नगरपालिका– १० भकुण्डे दब्लाङमा गएको ठूलो पहिरोका कारण सो सडक एक महिनासम्म रोकिएको थियो । सो सडकखण्डले विगत तीन वर्षदेखि बर्खायाममा सधैँ दुःख दिने गरेको छ । बाग्लुङ नगरपालिका– १२ का भीमबहादुर पाठक ‘रामु’, र ज्ञानेन्द्र ढकालको नेतृत्वमा बानपा– १ का यादव शर्मा र बलेवा क्षेत्रका स्थानीयको सहयोगमा सडक सञ्चालन गरिएको थियो ।

गत असारबाट बारम्बार अवरोध हुँदै आएको सडक साउनको पहिलो सातादेखि पूर्ण रूपमा ठप्प थियो । एउटै पहिरोले तीन ठाउँमा अवरोध पर्दा सडक सञ्चालन हुन सकेको थिएन । लगातार अवरुद्ध हुने सो सडकको स्तरोन्नतिमा बाग्लुङ नगरपालिकाले चासो नदिएको स्थानीयले आरोप लगाउने गरेका छन् । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले लगातार वर्षा हुने समयमा सडकको पहिरो हटाउन कठिन हुँदा लामो समयसम्म सडक रोकिन पुगेको बताए । पानी रोकिएपछि डोजर पठाएर पहिरो पन्छाउने तयारी हुँदै गर्दा स्थानीयले सडक सञ्चालन गराए भन्ने सुनेकाले आफूहरू रोकिएको उनको दाबी थियो । 

लामो समयदेखि अवरुद्ध सडकको पहिरो हटाउन नगरपालिकाले बेवास्ता गरेपछि स्थानीय आफैँ जुटेका थिए । पाठकले करिब आठ घन्टामा तीस हजार रुपैयाँ खर्च गरेर सडक सञ्चालन गरिएको जानकारी दिए । 

सडक खुलेसँगै बाग्लुङको दक्षिण भेगका जनताले केही राहत पाएका छन् । तर, उनीहरू अत्यन्त जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदै आएका छन् । कालिगण्डकी करिडोर सडकखण्ड वैकल्पिक मार्गको रूपमा रहे पनि सडक निकै जीर्ण छ । सो सडक भएर जिल्लाको दक्षिण जैमिनी, बरेङ बलेवा क्षेत्र र भकुण्डेवासीले यात्रा गर्नुपर्छ । उनीहरू जहिल्यै जोखिममा हुने गरेको स्थानीयको भनाइ छ ।