१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७५ चैत ११ सोमबार ०७:२१:००
Read Time : > 1 मिनेट
समाचार

एक वर्षदेखि प्रधानाध्यापक विद्यालयमा अनुपस्थित

बिदा नलिई घरमै बसेर आर्थिक कारोबार, आठ लाख हिनामिना गरेको उजुरी

Read Time : > 1 मिनेट
२०७५ चैत ११ सोमबार ०७:२१:००

पुथाउत्तरगंगा गाउँपालिका–२ पेल्माको हिमालय आधारभूत विद्यालयका प्रधानाध्यापक बालकुमार शर्मा बिदा नै नलिई एक वर्षदेखि घर बस्दै आएका छन् । उनी गत वैशाखमा केही दिनको बिदामा भन्दै अर्कै शिक्षकलाई निमित्त प्रधानाध्यापकको जिम्मा दिएर हिँडेका थिए ।  शर्माले विद्यालय व्यवस्थापन समिति, गाउँपालिका, शिक्षा विकास तथा समन्वय एकाइबाट बिदाका लागि स्वीकृतिसमेत लिएका छैनन् । एक वर्षदेखि विद्यालयमा उपस्थित नभएका शर्माले घरबाटै आर्थिक कारोबार चलाइरहेका छन् । विद्यालयको प्रधानाध्यापक शर्मा लामो समयदेखि सम्पर्कविहीन भएपछि दैनिक प्रशासनका साथै पठनपाठन नै प्रभावित बनेको छ । 

सम्पर्कमा आउनै चाहँदैनन् शर्मा
विद्यालय व्यवस्थापन समितिले शर्माले किर्ते गरेर विद्यालयको खाताको रकम हिनामिना गरेको आरोप लगाएको छ । विद्यालयको खातामा आठ लाख रुपैयाँ रहेको, तर अहिले खातामा शून्य रहेको विद्यालय व्यवस्थापन समितिले दाबी गरेको छ । शर्माले किर्ते गरेर एक शिक्षिका कर्मजोग पुनको दुई लाख २१ हजार र विद्यालय सहयोगी नञ्जबहादुर कामीको ६० हजार रुपैयाँ निकालेको आरोप उनीहरूले लगाएका छन् । 

विद्यालय व्यवस्थापन समितिका सदस्य बल कामीले प्रधानाध्यापक शर्मा एक वर्षदेखि विनाकुनै जानकारी विद्यालयको सम्पर्कबाहिर रहेको जानकारी दिए । बैंकको स्टेटमेन्ट हेर्दा शर्माले गत दसैँसम्मको शिक्षक–कर्मचारीको समेत तलब निकालेको पाइएको उनले बताए । प्रधानाध्यापकलाई विद्यालय फर्काउन पटक–पटक प्रयास गरिए पनि सम्भव नभएको उनको भनाइ छ । पछिल्लो समय शर्मा कसैको सम्पर्कमा आउनै नचाहने गरेको सदस्य कामीले बताए ।

लामो समयदेखि विद्यालय हाजिर नभएको, विद्यालयको खातामा रहेको विद्यालयको आठ लाख रकम हिनामिना गरेको तथा स्टाफको समेत किर्ते सही गरेर तलब निकालेको आरोपमा विद्यालयले शर्माविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको छ । शर्माले आठ लाखमध्ये अरू नगद विद्यालयमा काम गरेकालाई तिरिसकेर बचेको दुई लाख चलाएको स्वीकार गरे ।

 निमित्त प्रअको जिम्मा पाएका शिक्षक पनि बेपत्ता

प्रधानाध्यापक शर्माले निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएका मखनकुमार केसी पनि बेपत्ता छन् । उनीमाथि गत ३१ साउनमा कुटपिट भएको थियो । १ भदौमा स्थानीय मेडिकलमा उपचार गराएका केसी त्यसयता सम्पर्कमा छैनन् । प्रधानाध्यापक र निमित्त प्रधानाध्यापक दुवै बेपत्ता भएपछि विद्यालयको पठनपाठन अस्तव्यस्त छ । बाल विकासदेखि ६ कक्षासम्म पठनपाठन हुने विद्यालयमा हाल तीनजना मात्रै शिक्षक छन् । विद्यालयमा एक सय ५० भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् ।

प्रधानाध्यापक शर्माले गत वैशाखयता विद्यालय नगएको स्वीकार गरे । जेठ र असारमा स्थानीय बिदा हुने र साउनमा आफ्नो सट्टामा अर्को शिक्षक राखेर आन्तरिक परीक्षामा सहभागी भएको उनको भनाइ छ । गत मंसिरमा विद्यालय जान भनेर रुकुमकोटसम्म पुगे पनि स्थानीयले धम्की दिएपछि विद्यालय नगएको शर्माले बताएका छन् । 

पक्राउ गर्न प्रशासनको पत्र 
शिक्षक–कर्मचारीको तलब किर्ते गरेर निकालेको र विद्यालयमा उपस्थित नभएको भन्दै विद्यालय व्यवस्थापन समिति र गाउँपालिकाले प्रशासनमा उजुरी दिएका छन् । प्रशासनले शर्माको खोजीका लागि जिल्ला प्रहरी कार्यालयलाई पत्र काटेको छ । किर्ते गरेर तलब निकालेको उजुरी आएपछि प्रशासनले शर्मालाई पक्राउ गर्न पत्र काटेको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख तिलक गौतमले जानकारी दिए । उजुरी आएपछि उनको खोजी सुरु भइसकेको र उनी सम्पर्कमा आएमा यस विषयमा विस्तृत खुल्ने उनले बताए । 
 
गाउँपालिकाले रोक्यो  दसैँपछिको तलब 
लामो समयदेखि विद्यालयमा हाजिर नभएको र विद्यालयको रकम हिनामिना गरेको गुनासो आएपछि गाउँपालिकाले शर्माको तलब रोक्का गरेको छ । गत दसैँपछिको तलब नपाउने गरी उनको खाता रोक्का गरिएको गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीले जानकारी दिए । त्यसअघिको तलब भने शर्माले बुझिसकेका छन् । शर्माको खोजीका लागि गाउँपालिकाका तर्फबाट प्रशासनमा उजुरीसमेत दिएको उनले बताए ।