१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १६ बिहीबार ०७:१७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

२४ घन्टाभित्र राजस्व तिर्न फनपार्कलाई महानगरको अल्टिमेटम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १६ बिहीबार ०७:१७:००

६ वर्षको व्यवसाय कर बाँकी, विज्ञापन कर फनपार्कले विवरण दिएपछि मात्र निर्क्योल हुने

काठमामाडौं महानगरपालिकाले २४ घन्टाभित्र राजस्व तिर्नका लागि फनपार्कलाई अल्टिमेटम दिएको छ । भृकुटीमण्डपस्थित फनपार्कलाई बुधबार पत्र लेख्दै २४ घन्टे अल्टिमेटम दिएको महानगरलले जनाएको छ । ‘फनपार्कले महानगरपालिकालाई बुझाउनुपर्ने व्यवसाय कर, बहाल कर र विज्ञापन कर तथा मनोरञ्जन कर नबुझाई वर्षौँदेखि व्यवसाय सञ्चालन गरेकोमा यसअघि पटक–पटक ताकेता गर्दासमेत नतिरेकाले पत्र पठाएका छौँ,’ महानगरको राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले भने, ‘ती कर महानगरपालिकाको राजस्व विभागमा पत्र प्राप्त भएको २४ घन्टाभित्र सम्पूर्ण रकम र बाँकी लाग्ने जरिवानासमेत तिर्न भनेका छौँ ।’ तोकेको समयभित्र कर नबुझाएमा महानगरले फनपार्क सिलबन्दी गरी तिर्नुपर्ने राजस्व असुलउपर गर्ने जनाएको छ ।

डा. अधिकारीका अनुसार पार्कले व्यवसाय कर, बहाल कर, विज्ञापन कर र मनोरञ्जन कर तिर्नुपर्छ । यीमध्ये कुनै पनि शीर्षकमा विवरण बुझाइएको छैन । बहालको सम्झौता प्राप्त गरेपछि बहाल कर निर्धारण हुन्छ । मनोरञ्जन करतर्फ पार्कमा कति व्यक्तिको प्रवेश भयो । त्यसको विवरणका आधारमा हुन्छ । 

पार्कले व्यवसाय कर र बहाल कर वडा कार्यालयमा गएर बुझाउनुपर्छ । बहाल रकममा सम्झौताको वार्षिक १० प्रतिशत, मनोरञ्जन करतर्फ पाँच प्रतिशत, व्यवसायतर्फ वार्षिक २० हजार रुपैयाँ र त्यसको जरिवाना बुझाउनुपर्छ । जसमध्ये कोरोनाकालको ५० प्रतिशत छुट दिइएको छ । ६ वर्षको व्यवसाय कर करिब एक लाख २० हजार हुन्छ । विज्ञापन करतर्फ बाह्य विज्ञापनतर्फ प्रतिस्क्वायर फिट एक हजार रुपैयाँ बुझाउनुपर्छ । विज्ञापन करबारे फनपार्कले विवरण उपलब्ध गराएपछि मात्र तिर्नुपर्ने रकमको निर्क्योल हुनेछ ।

महानगरले फनपार्कलाई पत्र लेखिरहँदा तिर्नुपर्ने रकमबारे भने अनभिज्ञता जनाएको छ । ‘फनपार्कले कति तिर्नुपर्ने भन्नेबारे उनीहरूले नै जानकारी दिएपछि थाहा हुन्छ । अहिलेसम्म उनीहरूले कति कर महानगरलाई तिर्नुपर्छ भन्ने हामीलाई जानकारी छैन,’ डा. अधिकारीले भने । 

महानगरलाई घरजग्गा र सम्पत्ति कर नबुझाउने ठूला करदाताको कार्यस्थलमा राजस्व विभागले १३ साउनदेखि माइकिङ सुरु गरेको थियो । महानगरले घर कार्यालयमै गएर बाजागाजा बजाउने, सूचना टाँस गर्ने गरेपछि सबैजसो करदाता सम्पर्कमा आएका थिए । घरजग्गा र सम्पत्ति कर तिर्न अटेर गरेपछि उनीहरूकै घरआँगनमा पुगेर पन्चेबाजासहित व्यंग्य नाच सुरु गरिएको थियो । सांगीतिक र सांस्कृतिक शैली अपनाएर कर उठाउन पुगेपछि केही करदाताले लाजैका कारण पनि कर तिरेका छन् । तर उनीहरूमध्ये केही व्यावसायिक घराना, संस्थानलगायतले राजस्व नबुझाएको महानगरले जनाएको छ ।