Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
टेकु अस्पतालमा डेंगु संक्रमित बढेपछि एउटै बेडमा दुई विरामी राखेर उपचार गरिँदै । तस्बिर : दीपेन्द्र ढुंगाना
मञ्जु टेलर काठमाडौं
२०७९ भदौ १५ बुधबार १७:२८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बढ्यो डेंगु संक्रमण, एउटै बेडमा दुई बिरामी (तस्बिरसहित)

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडौं
२०७९ भदौ १५ बुधबार १७:२८:००

डेंगु संक्रमण बढेसँगै टेकु अस्पतालको इमर्जेन्सी वार्डमा बेड पाइन छाडेको छ। इमर्जेन्सीमा दैनिक एक सयभन्दा बढी बिरामी आउन थालेपछि अस्पतालले एउटै बेडमा दुईजना बिरामी राखेर सेवा दिन थालेको छ। बेड अभावमा कुर्सीमा बिरामी राख्नुपर्ने अवस्था छ।

इमर्जेन्सी वार्डमा ठाउँँ अभाव भएसँगै वार्डबाहिर थप बेड राखेर सेवा दिइरहेको अस्पतालले जनाएको छ। टेकु अस्पतालका इमर्जेन्सी वार्ड प्रमुख लीलानाथ भण्डारीका अनुसार इमर्जेन्सीमा बेड थपेर ३० वटा पुर्याइए पनि बिरामीको चापका कारण बेड अभाव भइरहेको छ। उनी भन्छन्, ‘मंगलबार एक सयभन्दा बढी बिरामी इमर्जेन्सीमा पुगेका थिए। आज बिहानैदेखि भिडभाड भयो।’

हाल टेकु अस्पतालमा डेंगुका २४ बिरामी भर्ना छन्। जसमध्ये चारजनाको आइसियूमा उपचार भइरहेको अस्पतालले जनाएको छ। सामान्य लक्षणसहितका बिरामी इमर्जेन्सीबाटै घर पठाइरहेको चिकित्सकले बताएका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगुको मौसम सुरु भएयता देशभर दुई हजार ८२७ जनामा संक्रमण पुष्टि भएको छ। लामखुट्टेको टोकाइबाट फैलिने संक्रमण सामान्यतया भदौबाट देखिने भएतापनि यो वर्ष सिजनको सुरुवातमै संक्रमण अत्यधिक देखिएको चिकित्सकले बताएका छन्।

वर्षायाम सुरु भएसँगै लामखुट्टेको टोकाइबाट फैलिने यो संक्रमणले यो वर्ष अधिकांश जनसंख्या प्रभावित हुन सक्ने आशंका गरिएको छ। नेपालमा सन् २००४ देखि पुष्टि भएको डेंगु सन् २०१९ मा अत्यधिक बढेको थियो। पछिल्लो दुई वर्षमा संक्रमण नियन्त्रणमा रहे पनि यो वर्ष अत्यधिक बढिरहेकोले सजग रहन चिकित्सकले आग्रह गरेका छन्।

हाल डेंगु संक्रमण देशभरि नै देखिए पनि बागमती, लुम्बिनी र प्रदेश १ का १० जिल्लामा संक्रमण अत्यधिक देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सबैभन्दा धेरै ललितपुरमा एक हजार ५६ जनामा संक्रमण देखिएको छ।