मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ भदौ १५ बुधबार ०८:४२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

धान पसाउने वेलामा पनि पाइएन मल 

Read Time : > 1 मिनेट
२०७९ भदौ १५ बुधबार ०८:४२:००

प्रदेशले कोटाअनुसार दिएको मल स्थानीय तहहरूले नउठाउँदा केही स्थानमा मलको अभाव भएको छ : कृषि मन्त्रालय

रासायनिक मलविनै धान रोप्न बाध्य भएका किसानहरूले धान पसाउने (टप ट्रेसिङ) वेलासम्म पनि मल पाउन सकेका छैनन् । धान पसाउने समयमा सबैभन्दा बढी मलको आवश्यकता पर्ने नेपाल राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेत बताउँछन् । उनी भन्छन्, ‘सरकारले मल आइरहेको छ भन्छ, तर किसानले धान पसाउने वेलासम्म पनि मलको अभाव खेप्दै आन्दोलन गर्नुपरेको अवस्था छ ।’ तरकारी र कोदोका लागि पनि युरिया मलको माग उच्च रहेको उनको भनाइ छ ।

पछिल्लो समय मल अभाव हुँदा सिन्धुलीस्थित कृषि सामग्री कम्पनीको कार्यालयमा किसानहरूले आन्दोलन गरेका छन् । उनले भने, ‘सरकारले मुख्य सिजनमा मल ल्याउनुपर्ने ल्याउँदैन, अनि विभिन्न व्यापारिक कम्पनीसँग महँगोमा किन्न किसान बाध्य हुनुपरेको छ ।’ रोपाइँको समयमा तीन लाख मेट्रिकटन मल चाहिने भए पनि करिब एक लाख १० हजार मेट्रिकटन मात्र सरकारी अनुदानको मल किसानले पाएका थिए । बाँकी किसानले व्यापारीसँग महँगो मूल्यमा किन्नुपरेको उनको भनाइ छ ।

तर, किसानलाई मलको तत्काल अभाव नभएको कृषि सामग्री कम्पनीका प्रबन्धक राजेन्द्रबहादुर कार्कीको भनाइ छ । मल अभाव छैन, केही प्रदेशहरूले वितरण गर्ने कोटा प्रणालीअनुसार स्थानीय तहहरूले मल नउठाइदिँदा कृषि सहकारीमा पुग्न समय लागेको र अभाव देखिएको कार्कीले बताए । उनले भने, ‘मल नै नभएर होइन, स्थानीय तहमा नपुगेको मात्र हो, स्थानीय तहहरूले उठाउन ढिलाइ गरे केन्द्रबाट उठाउन निर्देशन गएको एक हप्ताभित्र सहज हुनेछ ।’

यो सिजनलाई ५० देखि ६० हजार मेट्रिकटन युरिया मल र १० हजार मेट्रिकटन डिएपी आवश्यक पर्ने उनको भनाइ छ । हाल कम्पनीसँग स्टक युरिया मल ३० हजार तीन सय ३५ बोरा मात्र रहेको छ । त्यस्तै, त्यस्तै डिएपी दुई हजार मेट्रिकटन र पोटास पाँच हजार मेट्रिकटन स्टक रहेको उनले जानकारी दिए । कृषि सामग्रीका अनुसार ६ लाख ५० हजार बोरा युरिया मल भारतको कोलकाताबाट नेपाल भित्रिने प्रक्रियामा रहेको छ ।   

केही स्थानमा ढुवानीमा समस्या आउँदा मल अभाव भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए । सञ्जेलले भने, ‘केही प्रदेशको कोटाअनुसार स्थानीय तहको सहकारीसम्म पुग्न ढिलाइ भएको छ, एकाध हप्ताभित्र समाधान गर्छौँ ।’ तीन महिनाभित्रमा ९२ हजार मेट्रिकटन मल नेपाल आएको छ ।

साल्ट ट्रेडिङसँग छैन स्टक मल
मल आयात गर्ने अर्को आधिकारिक कम्पनी साल्ट ट्रेडिङसँग मल स्टक नरहेको साल्ट ट्रेडिङ कर्पोरेसनका प्रवक्ता कुमारराज भण्डारीले बताए । उनले भने, ‘अहिले हामीसँग कुनै पनि मल स्टक छैन, ३० हजार मेट्रिकटन युरिया आउन अझै एक महिना लाग्छ ।’ उनका अनुसार उक्त मल भारतको पटना आइपुगेको छ । यसअघि धानको मुख्य सिजनमा २० हजार डिएपी र २२ हजार  मेट्रिकटन युरिया मल वितरण गरेको थियो ।