मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ १५ बुधबार ११:०५:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

तीन वर्षपछि तिजको उल्लास : साढे पाँच लाखले गरे पशुपतिनाथमा पूजा

Read Time : > 1 मिनेट
२०७९ भदौ १५ बुधबार ११:०५:००

कोरोनाका कारण तीन वर्षसम्म हरितालिका तिजमा पशुपति मन्दिरमा भीड जम्मा हुन पाएको थिएन । मंगलबार भने ठूलो संख्यामा महिलाहरूले यहाँ नाचगान तथा पूजा गरेका छन् ।
देशका अन्य मन्दिर तथा शिवालयमा पनि हिन्दू धर्मावलम्बी महिलाहरूको उपस्थिति ठूलो देखियो । पशुपति क्षेत्र विकास कोषका अनुसार मंगलबार साढे पाँच लाखभन्दा धेरैले पशुपतिमा पूजा गरेका छन् ।

यस वर्षको तिज व्यवस्थित देखिएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए । ‘व्यवस्थापन राम्रो भयो । पूजाआजाका लागि दिदीबहिनीहरूको लाइन सभ्य तरिकाले अगाडि बढ्यो,’ खतिवडाले भने, ‘यो वर्ष गएका वर्षभन्दा धेरै भक्तजनको उपस्थिति रह्यो ।’

उनले भने, ‘कोरोनाले गर्दा गएका तीन वर्ष तिज मनाउन सकिएन । यसपटक भने कोरोना सुरु हुनुअघिकै हाराहारीमा मानिस उपस्थित भए ।’ कोरोनाका कारण ०७६ चैतमा पशुपतिनाथको मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

दश महिनापछि ०७७ साल पुस १ गतेदेखि भक्तजनका लागि मन्दिर खुला गरिएको थियो । सुरुका केही दिन दूरी कायम गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्रै मन्दिर दर्शन गर्न पाइन्थ्यो ।

त्यस्तै, भक्तजनले बिहान ६:०० देखि अपराह्न २:०० बजेसम्म मात्र दर्शन गर्न पाउँथे । कोरोनाको लहर फेरि बढ्दा केही समय फेरि भक्तजनका लागि मन्दिर पूर्ण बन्द भयो । गएको माघको अन्तिम सातादेखि भने यो मन्दिर पूर्ण रूपमा खुला छ ।

पशुपतिनाथ दर्शनमा आउने व्रतालु भक्तजनका लागि विभिन्न ठाउँमा लाइन बस्ने व्यवस्था गरिएको थियो । कोटेश्वर–तीनकुने –सिनामंगल क्षेत्र हुँदै आउने, मित्रपार्क क्षेत्र हुँदै आउने, गौशाला–पिंगलास्थान–पञ्चदेवल क्षेत्र हुँदै आउने र गुह्येश्वरी–उमाकुण्ड–कैलाश हुँदै मन्दिर प्रवेश गर्न आउने भक्तजनका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था थियो ।

यौनिक तथा लैंगिक अल्पसंख्यकले यसरी मनाए
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले मंगलबार गैरीधारास्थित सिल्भर ओक ब्यांक्वेटमा नाचगानसहित तिज मनाएका छन् । कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरूबीच बेस्ट डान्स, फन्नी डान्स, क्याटवाक, बेस्ट ड्रेस र मिस तिज एन्ड प्राइजलगायतका विधामा प्रतिस्पर्धा गराइएको थियो ।