१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अनिल यादव काठमाडाैं
२०७९ भदौ १५ बुधबार ०५:५५:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

राप्रपासँग चुनावी तालमेलको तयारीमा एमाले

Read Time : > 2 मिनेट
अनिल यादव, काठमाडाैं
२०७९ भदौ १५ बुधबार ०५:५५:००

पाँचदलीय गठबन्धनका कारण प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा दबाब महसुस गरेको एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग तालमेल गर्ने लगभग निश्चित भएको छ । सत्ता गठबन्धनको सामना गर्न एमाले र राप्रपा निश्चित ठाउँमा तालमेल गर्न तयार भएका हुन् । 

‘अघिल्ला चुनावको अंकगणित, घटनाक्रमले पनि सहकार्यको सम्भावना देखाएको छ,’ रापप्रा अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘एमाले अध्यक्ष केपी ओलीज्यूसँग हाम्रो कुराकानी भइरहेको छ । सायद निश्चित ठाउँहरूमा तालमेल हुन्छ होला । हाम्रो पार्टीको लाइन पनि त्यस्तै छ । उहाँलाई हामीहरूको सहयोग आवश्यक रहेको, हामीलाई उहाँहरूको सहयोग आवश्यक रहेको क्षेत्रमा तालमेल हुन सक्छ ।’

स्रोतका अनुसार एमालेले राप्रपासँग करिब १५ ठाउँमा तालमेलका लागि प्रस्ताव गरेको छ । लिङ्देनले सिट र ठाउँबारे खुलाउन नचाहे पनि राप्रपाको विशेष प्रभाव रहेको क्षेत्रमा सहकार्य गर्न एमाले अध्यक्ष ओली सकारात्मक रहेको स्विकारे । 

तर, प्राप्त सूचनाअनुसार राप्रपा झापामा अध्यक्ष राजेन्द्र लिङ्देन, रुपन्देहीमा दीपक बोहरा, बाँकेमा धवलशमशेर राणा, सिन्धुपाल्चोकमा पशुपतिशमशेर राणा, नुवाकोटमा प्रकाशचन्द्र लोहनी, चितवनमा विक्रम पाण्डे, म्याग्दीमा जगत गौचन, जुम्लामा ज्ञानेन्द्र शाही, दैलेखमा कुन्ती शाहीलगायतलाई जिताउन एमालेसँग तालमेल गर्न तयार भएको छ । 

एमाले पनि झापामा अध्यक्ष केपी ओली, रुपन्देहीमा विष्णु पौडेल र घनश्याम भुसाललगायतको क्षेत्रमा तालमेल गर्न सकारात्मक भएको छ । एमालेको अग्रता र राप्रपाको बलियो प्रभाव रहेको क्षेत्रमा तालमेल गर्न चाहेको छ । 

एमालेको साथ पाएको अवस्थामा प्रत्यक्षतर्फ कम्तीमा पाँच सिट जित्ने, समानुपातिकमा थ्रेसहोल्ड कटाउने र संसद्मा राष्ट्रिय मान्यताप्राप्त दलको मान्यता पाउने राप्रपाको विश्लेषण छ । 

यसकारण तालमेल गर्न बाध्य
स्थानीय निर्वाचनमा नै एमाले र राप्रपाबीच तालमेलको चर्चा चलेको थियो । १७ चैत ०७८ मा एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री धवलशमशेर राणाबीच नेपालगन्जको स्नेहा होटेलमा चुनावी सहकार्यकै विषयमा करिब दुई घन्टा लामो रात्रिकालीन छलफल भएको थियो । उक्त छलफललाई अर्थपूर्ण रूपमा हेरिए पनि त्यतिवेला तालमेल हुन सकेन । बरु अध्यक्ष ओलीले लिङ्देनबाट अलग्गिएर गएका कमल थापा नेतृत्वको राप्रपा नेपालसँग तालमेल गर्न तयार भए । यद्यपि, परिणाममा यसले दुवैलाई पार्टीलाई फाइदा पुर्‍याएन । केही स्थानमा भएको तालमेलको नतिजा पनि प्रभावकारी देखिएन । 

स्थानीय तहको चुनावमा लिएको निर्णयबाट घाटा भएको ओली–लिङ्देन दुवैले महसुस गरेका छन् । त्यसैले यसपटक एकै जिल्लावासी रहेका लिङ्देन र ओली तालमेलका गर्न तयार देखिएका हुन् । सम्बन्धित क्षेत्रमा जित सुनिश्चितताका लागि पनि उनीहरूले तालमेल गर्नुपर्ने बाध्यता छ । अघिल्ला चुनावको अंकगणित हेर्दा दुवैलाई आगामी चुनाव जित्न एक–अर्कोको सहयोग चाहिएको छ । 

गत ०२७ साउनमा राप्रपा अध्यक्ष लिङ्देन भक्तपुर बालकोटस्थित ओलीनिवासमा पुग्दा पनि एक–अर्काको आवश्यकताबारे छलफल गरेका थिए । ०७४ को निर्वाचनमा जसरी एक–अर्कालाई जिताउन दुवैले आ–आफ्नो निर्वाचन क्षेत्रमा सहकार्य गरेका थिए, त्यही सहकार्यको ‘मोडालिटी’लाई यसपालि बृहत्तर बनाउनुपर्नेमा उनीहरू अहिले लगभग सहमत भएका छन् । ‘दुवैले पार्टीमा निर्णय गराउन बाँकी छ, त्यसैले औपचारिक रूपमा सार्वजनिक नगरेका हुन् । तर, दुवै नेताबीच तालमेलका लागि एकखालको सहमति भइसकेको छ,’ राप्रपाका एक नेताले भने । 

झापाका एमाले नेता देवेन्द्र दाहालले पनि राप्रपासँग ठाउँविशेष तालमेल हुन सक्ने बताए  । ‘राप्रपासँग हाम्रो देशव्यापीभन्दा पनि स्थानीयस्तरमा तालमेल हुने सम्भावना छ,’ उनले भने, ‘स्थानीय निर्वाचनको गणित हेर्दा झापामा एमाले र राप्रपा मिल्दा कांग्रेस पाँचवटै निर्वाचन क्षेत्रमा कमजोर हुने देखिएको छ । त्यसैले झापालगायत अरू विशेष ठाउँमा तालमेल हुन सक्छ ।’

०७४ को प्रतिनिधिसभा निर्वाचनमा ओली झापा क्षेत्र नम्बर ५ र लिङ्देन क्षेत्र नम्बर ३ बाट उठेका थिए । ओलीको निर्वाचन क्षेत्रमा राप्रापाको राम्रो पकड छ । उता लिङ्देनको क्षेत्रमा कांग्रेसका तर्फबाट कृष्ण सिटौला उम्मेदवार थिए । दुवैले सहज जित निकाल्न त्यतिवेला एक–अर्कालाई सघाएका थिए । 

तर, पछि राष्ट्रिय सभा चुनावमा एमालेलाई साथ नदिएको भन्दै ओली राप्रपासँग चिढिएका थिए । त्यही कारण स्थानीय निर्वाचनमा लिङ्देन छाडेर कमल थापासँग सहकार्य गर्न पुगेका थिए । त्यसपछि ओलीको निर्वाचन क्षेत्र पर्ने दमकमा राप्रपा सत्तागठबन्धनसँग मिलेको थियो । उता लिङ्देनको निर्वाचन क्षेत्रभित्र पर्ने कचनाकवल गाउँपालिकामा राप्रपाविरुद्ध एमाले–कांग्रेसको अनौठो समीकरण बनिदियो । परिणामतः दमकमा एमाले हार्‍यो, कचनाकवलमा राप्रपा । 

राप्रपा अध्यक्ष लिङ्देनसँग भेट्नु तीन दिनअघि राप्रपा महामन्त्री कुन्ती शाही, केन्द्रीय सदस्य रेखा थापालगायत पनि ओलीलाई भेट्न बालकोट पुगेका थिए । त्यतिवेला पनि तालमेलकै विषयमा छलफल भएको थियो । 

नेतृ थापाका अनुसार तालमेलका विषयमा छलफल धेरै अघि बढिसकेको अवस्था छ । ‘एमाले अध्यक्ष ओली राष्ट्रवादी शक्ति एक हुनुपर्छ भन्ने पक्षमै हुनुहुन्छ । बाँकी त औपचारिक सहमति भएपछि थाहा होला । तर, अहिलेलाई राप्रपा र एमालेबीच पक्कै सहकार्य हुन्छ, पछिल्ला विकसित घटनाक्रमले यस्तो संकेत गरेको छ,’ उनले भनिन् । अभिनेत्रीसमेत रहेकी थापा यसपटकको चुनावमा आफैँ प्रत्यक्षतर्फ लड्ने तयारीमा छिन् । गृह क्षेत्र रहेको मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारका लागि उनको नाम सिफारिससमेत भइसकेको छ ।