१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७५ चैत १० आइतबार १२:५४:००
Read Time : > 1 मिनेट
प्रदेश

कर्णालीका सबै कारागारमा पुस्तकालय स्थापना गरिँदै

प्रहरी कार्यालयमार्फत १५ लाख रुपैयाँका पुस्तक संकलन, २३ चैतमा पुस्तकालय उद्घाटन गर्ने तयारी

Read Time : > 1 मिनेट
२०७५ चैत १० आइतबार १२:५४:००

कर्णाली प्रदेशका सबै कारागारमा पुस्तकालय स्थापना गर्न लागिएको छ । यसका लागि सबै तयारी पूरा भएको छ । 

प्रहरी–समुदाय साझेदारी कार्यक्रमअन्तर्गत कर्णाली प्रदेश प्रहरी कार्यालयले सबै कारागारमा पुस्तकालय स्थापना गर्न लागेको हो । यहाँका १० जिल्लामा १० कारागार रहेका छन् । सबै कारागारमा २३ चैतमा पुस्तकालय स्थापना गर्न लागिएको प्रदेश प्रहरी प्रमुख महेशविक्रम शाहले बताए । ‘देशका प्रख्यात साहित्यकारको उपस्थितिमा एकैपटक पुस्तकालय स्थापना गर्ने तयारी गरिएको छ,’ एआइजिपी शाहले भने । 

प्रदेश प्रहरी प्रमुख शाहकै योजनामा सबै कारागारमा पुस्तकालय स्थापना गर्ने अभियान थालिएको थियो । जसअन्तर्गत सबै जिल्ला प्रहरी कार्यालयले जिल्ला समन्वय समिति गठन गरेर पुस्तक संकलन गरेका छन् । यसमा स्थानीय प्रशासन, जनप्रतिनिधि, लेखक, साहित्यकार तथा सर्वसाधारणले पनि सघाएका छन् । ‘कैदीबन्दीलाई पनि बाहिरी संसारका विषयमा सकारात्मक सोचको विकास गर्न पुस्तक पढ्ने वातावरण बनाउन खोजेका हौँ,’ शाहले भने । 

कारागारमा प्रशस्त समय हुने र त्यसअनुसार काम नहुँदा कैदीबन्दी फुर्सदिला हुने गरेका छन् । जसले गर्दा नकारात्मक भावनाको विकास हुने गरेको उनको भनाइ छ । त्यो समय पुस्तक पढ्नमा लगाउने वातावरण बनाउन सके उनीहरूमा सकारात्मक भावनाको विकास हुने उनको विश्वास छ । ‘कारागारलाई सुधारगृहका रूपमा विकास गर्न यस अभियानले सहयोग पुग्नेछ,’ उनले भने । 

अहिले देशका विभिन्न ठाउँमा नयाँ कारागार भवन बन्दै छन् । तर, ती भवनमा पुस्तकालयको परिकल्पना गरिएको पाइएको छैन । कर्र्णालीमा भने नयाँ सोचका साथ पुस्तकालय स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । कैदीबन्दीले सजिलै पुस्तक लिएर पढ्न सक्ने गरी कारागारभित्रै पुस्तकालय स्थापना गर्न लागिएको हो ।  

कारागारमा बुक क्लब 
कर्र्णालीका सबै कारागारमा बुक क्लब गठन गरिएको छ । कारागारका कैदीबन्दीकै पाँच सदस्यीय क्लब गठन गरिएको हो । क्लबले पुस्तक पढ्न प्रेरित गर्नेछ । त्यस्तै, क्लबले प्रत्येक हप्ता पढेको पुस्तकबारे समीक्षा गर्ने नियम बनाएको छ । 

१५ लाखका पुस्तक संकलन
सबै कारागारमा पुस्तकालय स्थापनाका लागि तयारी गरिएको छ । प्रदेशमा प्रदेश प्रहरी प्रमुखको संयोजकत्वमा पुस्तक व्यवस्थापन समिति र जिल्लामा जिल्ला प्रहरी प्रमुखको संयोजकत्वमा पुस्तक व्यवस्थापन उपसमिति क्रियाशील छ । समिति र उपसमितिले पुस्तक संकलन गरिरहेको छ । अहिलेसम्म नयाँ र पुराना गरी १५ लाख रुपैयाँबराबरका पुस्तक संकलन गरिएको समितिले जनाएको छ । 

यो अभियान सुरु भएको दुई महिनामा स्वस्फूर्त रूपमा पुस्तक संकलन भएका छन् । प्रदेश सरकारसहित स्थानीय सरकार, गैरसरकारी संघसंस्था तथा व्यक्तिले पुस्तक तथा नगद सहयोग गरेका छन् । थुप्रैले पुस्तकालयका लागि सघाउने प्रतिबद्धता गरेका छन् । 

पश्चिमी रुकुममा पनि यो अभियानलाई तीव्रता दिइएको छ । एक लाख रुपैयाँका पुस्तक संकलन भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काले बताए । अझै पुस्तक संकलन हुने क्रम जारी छ । पुस्तकालयका लागि मुसीकोट नगरपालिकाले २५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।