मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७५ चैत १० आइतबार १२:४४:००
Read Time : > 1 मिनेट
प्रदेश

पर्यटकीय स्थलमा शौचालय अभाव, जंगलमा शौच

Read Time : > 1 मिनेट
२०७५ चैत १० आइतबार १२:४४:००

डुडुवा गाउँपालिका–५, कम्दीस्थित हजरत कम्मर शाह बाबा मजारलाई सरकारले उत्कृष्ट एक सय नयाँ पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । हिन्दू र इस्लाम धर्मावलम्बीको आस्थाको धरोहर भए पनि भौतिक संरचना नहुँदा पूजापाठ गर्न आउने पर्यटकले सास्ती भोग्नुपरेको छ । धार्मिक आस्था बोकेर दैनिक एक हजार पर्यटक पुग्ने मजारमा जंगलमा शौच गर्न बाध्य छन् । 

नेपालगन्जबाट आठ किलोमिटर पूर्वमा रहेको कम्मर शाह बाबा मजारमा नेपालीका मात्र होइन भारतका हिन्दू र इस्लाम धर्मावलम्बीको समेत पूजापाठ गर्न आउने गरेका छन् । मजारको संरक्षणको अभाव मात्र होइन पूजापाठ गर्न आउनेहरूले समेत जंगलमा शौच गर्नुपर्ने बाध्यता छ ।

मजारका पुजारी नजिर मोहम्मदले शौचालय नहुँदा भक्तजन र पुजारी नजिकको जंगलमा शौच गर्दै आएको बताए । उनले सरकार र विभिन्न संघसंस्थाले सहयोग गर्ने आश्वासन दिए पनि काम नभएको बताए । मजारमा आउने भक्तजनका लागि ओत लाग्ने ठाउँसमेत छैन । गर्मीमा वास बस्न समस्या नभए पनि बर्षात् र चिसोयाममा भक्तजनलाई समस्या हुने गरेको छ । ‘सानो पानी पर्नासाथ रुखको ओत लाग्नुको विकल्प छैन,’ उनले भने । मजारमा पिउने पानीको पनि समस्या छ । 

मागेको पूरा हुने जनविश्वास 
भारतकी सावरा गफारीले आफ्नो इच्छा पूरा भए पनि शुक्रबार मजार पुगेकी थिइन् । ‘मैले मागेको पूरा भएपछि खुसियालीमा बाबालाई च्यादर चढाउनका लागि मात्र यहाँ आएँ,’ उनले भनिन् । 

भारतका ठूला अस्पतालमा उपचार गराउँदासमेत निको नभएपछि नरैनापुर गाउँपालिका–५, मटेहिया माइती घर भएकी बहराइच जिल्ला महेरी, भारतकी आम्ना शेष मजार पुगेकी थिइन् । ‘लखनऊ मुम्बईका ठूला अस्पतालमा उपचार गराउँदासमेत निको नभएपछि अन्तिममा बाबाको शरणमा आएका छौँ,’ आमा सैरुन निशाले बताइन् । 

२५ लाख विनियोजन
धार्मिक पर्यटकीय गन्तव्यको रूपमा सूचीकृत भएपछि कम्मर शाह बाबा मजारलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २५ लाख रुपैयाँ विनियोजन गरी पठाएको छ ।

हिन्दू र मुस्लिमको आस्थाको धरोहर मजार
कम्मर शाह मजार हिन्दू र मुस्लिम समुदायको आस्थाको धरोहरको रूपमा रहेको छ । हरेक वर्ष तिहारपछि धार्मिक सद्भाव झल्काउने मेला लाग्दछ । हिन्दू र मुस्लिम समुदायले मिलेर सञ्चालन गर्ने मेलामा भारतबाट समेत हजारौँ दर्शनार्थी आउने गरेका छन् । मजारमा आशिर्वाद लिन, माग्न वा भाकल गर्न, सुख, शान्ति प्राप्तिका लागि आउने गरेको मजारका पुजारी मोहम्मदले बताए । उनले दीर्घरोगका बिरामी, उपचार गराएर निको नभएका बिरामी निको हुने विश्वास लिएर मजारमा आउने गरेको बताए । 

मजारमा पूजापाठका लागि काठमाडौं, भारतको राजधानी दिल्ली, मुम्बई, राजस्थान, पटना, लखनऊलगायत सहरबाट आशिर्वाद लिन आउने गरेको मजारका पुजारीले बताए । ‘निम्न वर्गदेखि उच्च घरानाका समेत पूजापाठका लागि आएको पाइन्छ,’ मोहम्मदले भने ।