मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १३ सोमबार ०९:१५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सुपथ पसल असोज पहिलो साताबाट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १३ सोमबार ०९:१५:००

सरकारले दसैँ–तिहार लक्षित सहुलियत पसल असोजको पहिलो साताबाट सञ्चालन गर्ने भएको छ । विगतमा जस्तै अत्यावश्यक वस्तु बिक्री गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानबाट संयुक्त रूपमा सहुलियत पसल सञ्चालन हुने खाद्य व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिइन् । 

सरकारले उपभोक्तालाई चाडपर्वको समयमा सहुलियत दरमा अत्यावश्यक खाद्यान्न पुर्‍याउने उद्देश्यले काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मीले बताए । हरेक वर्षजस्तै सहुलियत पसलका लागि मन्त्रालयले खाद्य व्यापार कम्पनीलाई अनुदानस्वरूप करिब ६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

गत वर्ष साल्ट टे«डिङले उपत्यकाको ११ सहित ७३ स्थानमा सहुलियत पसल सञ्चालन गरेको थियो । खाद्य कम्पनीले उपत्यकामा पाँच स्थानमा र उपत्यकाबाहिर १८ स्थानमा गरी कुल २३ वटा स्थानमा सहुलियत पसल सञ्चालन गरेको थियो । डिडिसीले उपत्यकाभित्रका चार र उपत्यकाबाहिर ११ गरी १५ वटा सहुलियत पसल सञ्चालन गरेको थियो । गत वर्ष सहुलियत पसलमा चिनी प्रतिकिलो पाँच रुपैयाँ, नुन प्रतिकिलो दुई रुपैयाँ, घिउ प्रतिकिलो ५० रुपैयाँ, खसी–बोकामा प्रतिकिलो १० रुपैयाँ छुटसहित उपलब्ध थियो । यो वर्ष भने सहुलियत पसलमा चिनी उपलब्ध हुनेछैन ।  

६ करोड ४० लाखको खसी र च्यांग्रा ल्याइने
यसपटको दसैँ–तिहारका लागि खाद्य व्यापार कम्पनीले ६ करोड ४० लाखको तीन हजार खसी र एक हजार च्यांग्रा ल्याउने भएको छ । गत वर्ष दुई हजारभन्दा बढी खसी र एक हजार च्यांग्रा ल्याएको थियो ।कोभिड–१९ का कारण अघिल्लो वर्ष प्रभावित भए पनि यसपटक बढी खपत हुने अनुमान खाद्य व्यापार कम्पनीको रहेको छ । प्रवक्ता सुवेदीका अनुसार १ असोजदेखि फूलपातीसम्म सहुलियत पसल सञ्चालनमा आउनेछन् । ‘माग कस्तो हुन्छ, त्यसअनुसार त्यसको संख्या बढाउँदै जानेछौँ,’ सुवेदीले भनिन् ।