मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ भदौ १३ सोमबार ०९:०९:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

ठूलो आन्द्रामा हुने क्यान्सरको उपचार

Read Time : > 1 मिनेट
२०७९ भदौ १३ सोमबार ०९:०९:००

सहरी जीवनशैली र यससँगै जोडिएर आउने अस्वस्थ खानपानका कारण नेपालमा पेट तथा ठूलो आन्द्राको क्यान्सरका रोगी बढिरहेका छन् । रातो मासु र बोसोयुक्त खानाको अत्यधिक प्रयोग र फाइबरयुक्त खानाको कम प्रयोग हुनुले क्यान्सरको जोखिम बढाइरहेको छ । केही प्रतिशतमा वंशानुगत कारणले समेत क्यान्सर हुने गरेको पाइन्छ । अत्यधिक बोसोयुक्त खानाका कारणले निम्त्याउने विभिन्न रोग र यसले आन्द्रा तथा आमाशयमा पु¥याउने असर नै क्यान्सरको मुख्य कारण हो ।

लक्षण र उपचार
सुरुवाती अवस्थामा ठूलो आन्द्राको क्यान्सरको कुनै पनि लक्षण नदेखिन सक्छ । लक्षण देखिनुअघि नै स्क्रिनिङ गरेर क्यान्सरको जोखिम घटाउन सकिन्छ । क्यान्सर बढ्दै जाँदा पेट दुख्ने, दिसामा रगत देखिने, दुब्लाउँदै जाने, कमजोरीपन देखिने, दिसामा नियमित गडबडी हुनेजस्ता लक्षण देखिन्छन् । 

सुरुको अवस्थामा क्यान्सर भएको पत्ता लागेमा शल्यक्रियाका माध्यमबाट उपचार गर्न सकिन्छ । क्यान्सर बढ्दै गएर अन्य अंगमा समेत फैलन थालेपछि उपचार असम्भव हुने हुँदा वेलैमा स्वास्थ्य जाँच गराउन आवश्यक हुन्छ । सामान्यतया ४५ वर्षभन्दा माथिका ९० प्रतिशत मानिसमा ठूलो आन्द्राको क्यान्सरको सम्भावना रहने हुँदा समय–समयमा स्क्रिनिङ गराउनुपर्छ ।

बाहिरतिर धेरै देशमा निःशुल्क रूपमै यसको स्क्रिनिङ हुने व्यवस्था भए पनि नेपालमा बिरामीले चेकजाँचकै लागि ३ हजारदेखि १४ हजारसम्म खर्च गर्नुपर्ने अवस्था छ । त्यस्तै, जिल्लामा कोलोनोस्कोपी मेसिनको अभाव भएकाले धेरै मानिस समस्यामा छन् । यसतर्फ सरकारको ध्यान जान जरुरी छ । रकम तिर्न नसक्ने बिरामीको हकमा चिकित्सकको सहयोगमा बनेको ‘ग्यास्ट्रो एन्ड लिभर फाउन्डेसन’ले निःशुल्क उपचार गर्दै आएको छ । यो फाउन्डेसन नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पताल प्रालि परिसरमा छ । 

के हो कोलोनोस्कोपी उपचार विधि ?
कोलोनोस्कोपीलाई चिकित्सा क्षेत्रको महत्वपूर्ण आविष्कार मानिन्छ । यसमा प्रविधिका माध्यमले मलद्वारबाट पाइप छिराएर पेटको आन्तरिक स्थिति थाहा पाउने र पेट सफा गर्ने गरिन्छ । कोलोनोस्कोपीका माध्यमबाट पेटको वस्तुस्थिति सजिलै थाहा पाउन सकिने हुँदा क्यान्सरको लक्षण देखिएमा उपचार गर्न सहज हुन्छ । 

कोलोनोस्कोपी गर्दा आन्द्रामा मासुको डल्लो, ट्युमर वा पोलिभ देखिएमा शल्यक्रियाद्वारा फाल्न मिल्छ । पोलिभ फालेको १० वर्षसम्म आन्द्रामा क्यान्सर हुने सम्भावना न्यून हुन्छ । सामान्यतया ४५ देखि ५० वर्ष उमेरसमूहमा पेटको क्यान्सरको सम्भावना उच्च रहने हुँदा अनिवार्य रूपमा कोलोनोस्कोपी गर्नुपर्छ । जसले गर्दा आन्द्राको क्यान्सर हुनबाट बच्न सकिन्छ ।