१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७५ चैत १० आइतबार ०९:४५:००
Read Time : > 4 मिनेट
फिचर

तरकारी बेच्दै हालेको भाका

Read Time : > 4 मिनेट
२०७५ चैत १० आइतबार ०९:४५:००

शिखर थामी (२८) को सपना गायक बन्ने हो । उनी अहिले कीर्तिपुर पाँगा दोबाटोमा तरकारी बेच्छन् । तरकारी बेचेको पैसा मात्रैले एल्बम निकाल्न नपुगेपछि शिखरले सयकडा तीनमा एक लाख ऋण काडेर एल्बम निकाले । रहर त पूरा भयो, तर ऋण तिर्न सकेनन् । भन्छन्, ‘अझै २० हजार तिर्न बाँकी छ ।’ 

शिखरसँग साधना गर्ने गतिलो हार्मोनियम छैन । चल्तीको संगीत विद्यालयमा पढ्ने पैसा पनि छैन । तर, उनलाई बन्नु छ गायक । जोगाउनु छ, आफ्नो जातिको संस्कृति । बिहानै उठेर सरगम गाउन पाउँदैनन् । आँखा मिच्दै साइकल निकाल्छन् । अनि सोझिन्छन् घन्टी बजाउँदै बल्खुतर्फ । बल्खुबाट बिहानै साइकलमा तरकारी बोकेर ल्याउनु, साँझ–बिहान तरकारी बेच्नु, अनि वेलामौकामा गीत गुनगुनाउनु उनको दिनचर्या बनेको छ । 
शिखर ‘अयोग्य लडाकु’ हुन् । साइकलमा तरकारी बोकेर कीर्तिपुरको उकाली उक्लिरहँदा वेलावेला उनलाई अयोग्यको बिल्लाले दुखाउँछ, झस्काउँछ । भन्छन्, ‘अयोग्य’ घोषित भएँ । कहिलेकाहीँ त जीवनभरि नै ‘अयोग्य’ नै हुँ कि जस्तो लाग्छ ।’ 

०००

६५ नाघेका बुबाआमा (मनवीर थामी/रनमाया थामी) दोलखाको बिगुमा अझै लेक–बेँसी गर्दै छन् । उनका बुबा थामी जातिको मादलको काम गर्ने मादले पनि हुन् । शिखरको गाउँमा वर्षमा एकपटक मंसिर पुर्णिमाका दिन कोटेआर्का मेला लाग्छ । त्यही मेलामा उनका बुबा मादल बजाउँथे । शिखर खुब नाच्थे, गाउँथे पनि । भन्छन्, ‘जात्रा भर्न आउनेहरूले मेरो स्वर मन पराउँथे । त्यहीँबाट गायक बन्नुपर्छ भन्ने लाग्यो ।’ 

कुनै वेला शिखरको गाउँको मुख्य पेसा थियो–ढुंगाखानीबाट घर छाउने ढुंगा बोकेर चरिकोट बजारसम्म पुर्‍याउनु । देशमा संविधान फेरियो । तन्त्र फेरियो । कानुनका दफाहरू फेरिए । तर, थामीको जीवन गुजारा गर्ने पेसा फेरिएन । अझै ढुंगा बोक्छन्, थामी जाति । तामाकोसीको तिरैतिर उनका कैयौँ पुर्खाले ढुंगा बोके । ढाडको छाला गइन्जेल बोके । जुटको बोरा फाटिन्जेल बोके । ढुंगाखानीमै पुरिएर कति थामी मरे मरे । 

शिखरको बुबाले पनि ढुंगा बोकेरै बिताए, एकबारको जुनी । तर, छोराछोरीलाई कहिल्यै ढुंगा बोक्न लगाएनन् । बुबा सम्झिँदै शिखर भन्छन्, ‘मेरा छोराछोरीलाई ढुंगा बोक्नै दिन्नँ भनेर बुबाले कसम नै खानुभयो । आफूले ढुंगा बोकेर हामीलाई स्कुल पठाउनुभयो ।’ 

डेढ घन्टाको उकालो चढेर शिखर स्कुल जान थाले । तर, बुर्जुवा शिक्षा भन्दै स्कुलको आँगनमा माओवादीले गरेको पट्यारलाग्दो भाषण उनको स्मृतिमा अझै ताजा छ । दुई कक्षा पढ्दै गर्दा एक दिन माओवादीले स्कुलमा ताल्चा लगाइदियो । त्यसपछि बन्द भयो स्कुल । बन्द भयो शिखरको स्कुल, बन्यो भैँसीगोठ । 

भैँसीगोठमै बित्यो बालापनको एक अध्याय । भैँसी चराउँदाचराउँदै दुई घन्टा टाढाको स्कुलमा कक्षा ५ मा भर्ना भए फेरि । त्यहाँ पनि माओवादीको उस्तै भाषण, उस्तै नाचगान । भन्छन्, ‘पढ्ने वातावरण नै भएन । ठ्याक्कै १७ दिन स्कुल टेकेँ । त्यसपछि भागेर काठमाडौं आएँ ।’ 

महिनाको ७५० मा ठमेलमा भाँडा माझ्न थाले । पढाइ अधुरै रह्यो । गायक बन्ने सपनाले पछ्याउन छाडेन । अरुण थापा, नारायण गोपाल, रामकृष्ण ढकालका गीतिक्यासेटहरू किनेर रातरातभर सुने । भन्छन्, ‘क्यासेट किनेरै महिनाको तलब सकेँ ।’ होटेलको अँध्यारो भर्‍याङमुनि भाँडा माझ्दै गीत गाए । स्कुलका अधुरा दिनहरू सम्झँदै गीत गाए । बाआमा, गाउँघर अनि भैँसीगोठ सम्झिँदै गीत गाए । अनि पानीसँगै आँसुले गिलास माझ्दै गीत गाए । 

सधैँ गीत मात्रै गाइरहने शिखरलाई देखेर सँगैका साथी पत्थर राईले चक्रपथस्थित आस्था कला केन्द्र पुर्‍याइदिए । ६ महिना भोकल क्लास लिए । त्यहाँ संगीत सिक्दासिक्दै गायक शम्भु राईको श्रद्धा डिजिटल रेकर्डिङ स्टुडियोमा रिसेप्सनिस्टको काम पाए । अब शिखरको स्तरोन्नति भयो । त्यहीँ चिया ल्याउने, झाडु लगाउने काम गर्न थाले । 

स्टुडियोमा आउने गायक/गायिकासँग चिनजान बाक्लिन थाल्यो । आभा मुकारुङदेखि राजेशपायल राईसम्मलाई चिने । तर, उनको गायक बन्ने सपना भने अधुरै रह्यो । भित्र गीत रेकर्ड भइरहँदा उनी ढोकाको चेपबाट नियालेर हेर्थे । ध्यान दिएर सुन्थे । एक दिन त्यसरी नै गीत गाउँछु भन्दै सपना सजाउँथे । तर, हातमा हुन्थ्यो, कहिले झाडु, कहिले चियाको रित्तो गिलास । त्यहाँ काम गर्दा उनले मासिक २ हजार पाउँथे । १३ महिना काम गरे त्यहीँ । झाडु लगाउने काम गरिरहँदा गायक बन्ने सपना मधुरो देख्दै गए । भन्छन्, ‘शम्भु राईले माया गर्नुहुन्थ्यो । पैसा पनि कमाइ हुन्थ्यो । तर, त्यसरी नै गायक बन्छु जस्तो लागेन ।’ 

स्टुडियोमा झाडु लगाउन थालेको १३औँ महिना पुगेको एक साँझ । चक्रपथ एरियाका माओवादी कमान्डरको पछि लागेर शिखर काभ्रेको कामीडाँडा पुगे । 

त्यसपछि सुरु भयो शिखरको अर्को अध्याय । 

०००

शिखर हिँड्न त युद्धका लागि हिँडेका थिए । गरिबी, असमानता र विभेदको खाडल पुर्न हिँडेका थिए । अनि गायक बन्ने सपना त्यताबाट पो पूरा हुन्छ कि भन्ने पनि थियो । तर, उनी पुगे चितवन शक्तिखोरस्थित अस्थायी शिविरमा । ६ वर्ष त्यही शिविरमा बिताए । त्यहीँ आठ कक्षा पास गरे । शिविरभित्रै गीत गाए । गीत लेखे । सायरी लेखे । जे–जे गरे पनि उनको योग्यता पुगेन । अन्ततः अयोग्य ठहरिए । अयोग्यको बिल्ला भिरेर शिविरबाट बाहिरिए ।

होटेलको अँध्यारो भर्‍याङमुनि भाँडा माझ्दै गीत गाए । स्कुलका अधुरा दिनहरू सम्झँदै गीत गाए । बाआमा, गाउँघर अनि भैँसीगोठ सम्झिँदै गीत गाए । अनि पानीसँगै आँसुले गिलास माझ्दै गीत गाए । 

साथीको पछि लागेर माओवादी मुख्यालयमा कैयौँ दिन धर्ना बसे । नारा लगाए । मसाल जुलुस निकाले । तर, उनी अयोग्यबाट योग्य भएनन् । अयोग्य नै ठहरिएपछि साथीसँग मिलेर होटेल चलाए । तर, फापेन । भन्छन्, ‘साथीलाई होटेलमा छाडेर म पार्टीको काममा खटिएँ । साथीले होटेल नै डुबाइदियो ।’ 

समस्याको चाङ एकपछि अर्को थुप्रिए पनि शिखरले गीत गाउन छाडेनन् । गीत लेख्न छाडेनन् । थामी भाषामा पचासौँ गीत लेखे । जसमध्ये मुस्किलले ५ वटा रेकर्ड गराए । खर्च अभावले कैयौँ गीत त्यतिकै थन्क्याएका छन् । नेपाली भाषामा पनि तीनवटा रेकर्ड गराए । अहिलेसम्म जम्माजम्मी आठवटा गीत रेकर्ड गराए । ब्याजमा ऋण निकालेर एल्बम निकाले । नाम राखे ‘प्रकृति पूजा ।’ भन्छन्, ‘एल्बम थोरै बिक्री भयो । खर्च उठेन । तर, आफ्नो जातिको भाषामा गीत गाउन पाएँ । यसमै सन्तुष्ट छु ।’ 

दुई वर्षअघि ५ हजार लगानीमा तरकारी पसल सुरु गरे । सडकमै तरकारी बेच्न थाले । सडकमा बस्दाबस्दै टहरामुनि सरे । भन्छन्, ‘दिनको आठ सय, हजार कमाइ हुन्छ ।’ सम्झना थामी शिखरकी जीवनसाथी हुन् । मायाको चिनो ४ वर्षीय छोरा छन् साथमा । छोरालाई रेखदेख गर्नुपर्ने दायित्व छँदै छ । वेलावेलामा घरखर्च पनि पठाउँछन् उनी । 

अतिसीमान्तकृत थामी जातिको लोपोन्मुख संस्कृति जोगाउने दायित्व आफ्नो पनि ठान्छन्, उनी । छिटै थामी भाषाको एल्बम निकाल्ने तयारीमा छन्, शिखर । थामी जातिको संस्कृति जोगाउन ‘सैवली पुम्बा झाँक्री नाच’को भिडियो पनि बनाउने योजना छ, उनको । ‘तर पैसा ?’ उनी टोलाए । केही बोलेनन् । केही सम्झिएजस्तो गरी अनकनाउँदै भने, ‘तरकारी बेचेको पैसा अलिअलि जम्मा गर्दै छु ।’