मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ९ बिहीबार २१:५०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लेखा अधिकृतले नगरपालिकाको चार करोड भ्रष्टाचार गरेको पुष्टि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ९ बिहीबार २१:५०:००

विशेष अदालतले उदयपुरका लेखा अधिकृत रविनचन्द्र ढकाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारण गर्न १९ भदौमा पेसी तोकेको छ । ढकालमाथि तीनवटा मुद्दा दायर भएकोमा तीनवटैमा दोषी देखिएको विशेषका प्रवक्ता दीपेन्द्रनाथ योगीले बताए । ‘उहाँविरुद्ध कसुर ठहर भएको छ । सजाय निर्धारणका लागि दुवै पक्षको कानुन व्यवसायीबाट १७ भदौभित्र प्रतिवेदन माग गरी १९ गतेका लागि पेसी तोकिएको छ,’ योगीले भने । 
यो मुद्दामा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएकाको नाममा रहेको सम्पत्ति जफत हुने भएको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले यस्तो आदेश गरेको हो । 
ढकालले कटारी नगरपालिकामा कार्यरत रहँदा नगरपालिकाको सञ्चित कोषबाट तीन करोड ९७ लाख ५० हजार रुपैयाँ आफ्नो व्यक्तिगत खातामा स्थानान्तरण गरेको भेटिएको थियो । बैंकको किर्ते कागजात बनाई उनले ०७४ माघको आफ्नो तलबसमेत दोहोरो निकाली आफन्त तथा परिवारजनको खातामा राख्न लगाएको अख्तियारको अनुसन्धानले देखाएको थियो । 
कुल तीन करोड ९८ लाख ३६ हजार रुपैयाँ बिगो कायम गरी अख्तियारले २१ साउन ०७५ मा ढकालविरुद्ध मुद्दा दायर गरेको थियो । सो रकमबाट जग्गाजमिन खरिद गरेको तथा खातामा राखेको भन्दै श्रीमती रिना आचार्य, आमा प्रेमकुमारी दाहाल र काकी सावित्री प्याकुरेलको नाममा रहेको घरजग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको थियो । अख्तियारले अनुसन्धानका क्रममा ढकालकी सासू तुलसादेवी आचार्यका नाममा पनि बैंक खातामा रकम रहेको भन्दै उनलाई पनि प्रतिवादी कायम गरी उक्त रकम जफत हुनुपर्ने दाबी गरेको थियो । 
यो मुद्दा विशेषमा विचाराधीन रहेकै वेला ढकालमाथि थप नयाँ उजुरी आएपछि पुनः अनुसन्धान गरी अर्को मुद्दा दायर भएको थियो । ढकाल जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुमा कार्यरत रहेका बखत गलत लिखत तयार गरी आफ्नो खातामा १४ लाख ८९ हजार रुपैयाँभन्दा बढी अनियमितता गरेको पुष्टि भएको थियो । यसमा पनि विशेष अदालतले उनलाई दोषी करार गरेको छ ।