मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
न्यान्सी क्विन
२०७९ भदौ ९ बिहीबार ०७:५१:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

विश्वव्यापी खाद्यसंकटको यथार्थ

ग्यासमा जस्तै रुसले आफ्नो बजारशक्तिलाई दुरुपयोग ग¥यो भने त्यसले खाद्यान्न उत्पादनमा असर पर्नेछ

Read Time : > 3 मिनेट
न्यान्सी क्विन
२०७९ भदौ ९ बिहीबार ०७:५१:००

पछिल्लो समय युक्रेनी खाद्य परिवहनमाथिको रुसी नाकाबन्दी र युद्धले सिर्जना गरेको अवरोधका कारण युक्रेनको खाद्यान्न उत्पादनमा सम्भावित कमीका विषयले समाचारहरूमा निकै स्थान पाएका छन् । फेब्रुअरी–जुनबीच गहुँको विश्वव्यापी मूल्यमा ६० प्रतिशतभन्दा धेरैले वृद्धि भयो, जसले अफ्रिका र एसियाली विपन्न देशमा खाद्य असुरक्षा बढाउँदै मानवीय संकटको चिन्तालाई मलजल गर्‍यो । अन्तर्राष्ट्रिय संस्थाहरूले मानवीय संकटको चेतावनी र चिन्ता जाहेर गरे ।

तर, यी धेरैजसो कुरा भ्रामक हुन् । विपन्न देशहरूको लगभग ८० प्रतिशत क्यालोरी गहुँलगायत अन्नबाट परिपूर्ति हुने गर्छ । यसमा पनि विकासशील मुलुकहरूको प्रतिव्यक्ति २७ प्रतिशत क्यालोरी चामलले धान्ने गरेको छ । चामल एसियाको मुख्य खाद्यान्न हो । म्यानमार र कम्बोडियाजस्ता मुलुकमा कुल क्यालोरीको ८० प्रतिशत हिस्सा धान–चामलले ओगट्छ ।
यसैगरी, मकै अफ्रिकाको सबैभन्दा महत्वपूर्ण अन्न हो । विश्वको ३० प्रतिशतजति मकै अफ्रिकी देशहरूले नै उपभोग गर्छन् । मलावी, लोसेथो र केन्याका मानिसले वर्षमा औसत प्रतिव्यक्ति ९०–१८० किलो मकै उपभोग गर्छन् ।

त्यस्तै, गहुँ विश्वव्यापी रूपमा हेर्दा दोस्रो महत्वपूर्ण अन्न हो । तर, विपन्न मुलुकका लागि भने गहुँ तुलनात्मक रूपले कम महत्वपूर्ण अन्न हो । उदाहरणका लागि अफ्रिकाको विपन्न क्षेत्र सहारा–उपक्षेत्रमा गहुँ उपभोग लगभग १७ किलोग्राम वार्षिक प्रतिव्यक्ति मात्रै छ । अब, विश्वव्यापी खाद्य आपूर्तिमा युक्रेनको योगदानलाई हेराैँ । सन् २०२० मा युक्रेनले थोरै धान–चामलसहित एक करोड ८० लाख टन गहुँ र दुई करोड ८० लाख टन मकै निर्यात गरेको थियो । युक्रेन रुस (तीन करोड ७३ लाख टन), अमेरिका (दुई करोड ६० लाख टन), क्यानडा –दुई करोड ६० लाख टन) र फ्रान्स (एक करोड ९८ लाख टन) पछि पाँचाैँ ठूलो गहुँ निर्यातक हो भने अमेरिका (पाँच करोड २० लाख टन), अर्जेन्टिना (तीन करोड ७० लाख टन) र ब्राजिल (तीन करोड ४० लाख टन) पछि चौथो ठूलो मकै निर्यातक हो । युक्रेनको गहुँ र मकैको निर्यात वा उत्पादन अवरुद्ध हुनेबित्तिकैयसले विपन्न देशमा खाद्य असुरक्षा बढाउन सक्दैन । किनभने अन्य मुलुकले अन्नको उत्पादन तथा निर्यात बढाउन सक्छन् ।

अब मकैलाई हेराैँ। खानका लागि मकैमा निर्भर गरिब देशले आफ्नो अधिकांश आवश्यकता आफैँले उत्पादन गर्ने गरेका छन् । उनीहरूले आयात गर्ने थोरै परिणाम मात्रै युक्रेनबाट आउँछ । उदाहरणका लागि सन् २०२० मा केन्याले युक्रेनबाट ११ हजार आठ सय १८ टन मात्रै मकै आयात गरेको थियो । विशेषगरी मकै मानव उपभोगमा धेरै उपयोग नहुने भएकाले यो परिणामको अभाव अन्य उत्पादकबाट सहजै पूरा गर्न सकिहालिन्छ । विश्वभर उत्पादन हुने मकैमध्ये केवल १५ प्रतिशत मात्रै विश्वमा खानमा उपयोग हुन्छ । विश्वको सबैभन्दा ठूलो मकै उत्पादक अमेरिकामा, प्रतिवर्ष एक करोडदेखि एक करोड २० लाख टन मकै चिनीलगायत गुलिया वस्तु उत्पादनमा खपत हुन्छ । 

यसैगरी, अन्य उत्पादकले युक्रेनबाट आउने गहुँको कमीलाई पनि पूरा गर्न सक्छन् । विगतका उत्पादनका आकडाले थुप्रै मुलुकले आफ्नो पूर्ण क्षमतामा गहुँ उत्पादन नगरिरहेको देखाउँछ । उदाहरणका लागि अमेरिकाले गहुँ निर्यात–उत्पादनलाई अहिलेको दुई करोड ६० लाख टनबाट सन् १९८१ को चार करोड ४० लाख टन पुर्‍याउने हो भने त्यो युक्रेनको कुल गहुँ निर्यातको अभाव परिपूर्ति गर्नेभन्दा बढी हुन्छ ।

दीर्घकालीन र ठूलो खतराचाहिँ युक्रेनी निर्यातको कमी होइन, रुसले खाद्यान्न निर्यात घटाउला कि भन्ने हो, किनभने विश्वव्यापी गहुँ निर्यातको १९ र मलको १५ प्रतिशत हिस्सा रुसको छ । 

मल अभावको जोखिमले पनि समाचार शीर्षकहरू उत्पादन गरिरहेको छ । किनभने मलको अभावले उत्पादन एवं आपूर्ति घटाउने र विश्वभर खाद्यवस्तुको भाउ बढाउनेछ । तर, युक्रेनले विश्वव्यापी मल निर्यातको केवल ०.८ प्रतिशत हिस्सा मात्रै ओगट्छ । सबैले विपन्न मुलुक युक्रेनी कृषि उत्पादनको निकासीबाट उल्लेखनीय रूपमा प्रभावित हुँदैनन्, हुन दिनु हुँदैन भनेर सबैलाई भनिएको हो । तर, खाद्य असुरक्षाको चिन्ता चरम चुलीमा पुगेको छ । 

वास्तविक समस्या समाचारहरूभन्दा फरक र जटिल छन् । खाद्य असुरक्षा वर्षाैंदेखि निरन्तर बिग्रिँदै आएको हो । न्यून आययुक्त मुलुकमा जलवायु परिवर्तन, क्षेत्रीय सशस्त्र द्वन्द्वजस्ता कारणले गुणस्तरीय पोषणको अभावबाट प्रभावित मानिसको संख्या सन् २०१५ को १३ प्रतिशतबाट बढेर सन् २०१९ मा २६ प्रतिशत पुगेको थियो । यो समस्यालाई पूरै युक्रेनमाथिको रुसी आक्रमणमा लगेर जोड्दा यसलाई पूर्वी युरोपको युद्ध समाप्त गरेर मात्रै ठीक गर्न सकिन्छ वा यसमा सुधार ल्याउन सकिन्छ भन्ने खालको गलत धारणा उत्पन्न हुने खतरा रहन्छ । युक्रेनमाथिको रुसी आक्रमणले निःसन्देह पनि विश्वव्यापी खाद्य बजारमा समस्या सिजना गर्न सक्छ । विशेषगरी समुद्री मार्ग तथा बन्दरगाहसम्मको पहुँच अवरुद्ध हुँदा अल्पकालीन रूपमा विश्वव्यापी खाद्य आपूर्ति घटाउन सक्छ । सौभाग्यवश, हालैका वार्ताले यी समस्या समाधान गर्न सकिन्छन् भन्ने देखाएको छ । यसबाहेक, विश्वव्यापी अन्न मौज्दात (८५ करोड टन)को २५ प्रतिशत त अमेरिका र युरोपेली संघमा छ । त्यसलाई अल्पकालीन कमीलाई पूरा गर्न उपयोग गर्न सकिन्छ ।

दीर्घकालीन र ठूलो खतरा भनेको युक्रेनले होइन, रसियाले चाहिँ खाद्यान्नको निर्यात घटाउला कि भन्ने हो, किनभने विश्वव्यापी गहुँ निर्यातको १९ प्रतिशत र मलको १५ प्रतिशत हिस्सा रुसको छ । युद्ध, खराब मौसम वा आर्थिक संकटको कारण निर्यात खस्किन सक्छ । त्यसले उत्पादन पनि पक्कै घटाउनेछ । ग्यासमा जस्तै रुसले आफ्नो बजार शक्तिलाई दुरुपयोग ग¥यो भने त्यसबाट खाद्यान्नको उत्पादनमा असर पर्नेछ ।

यसविपरीत, युक्रेन र उसका सहयोगीले पनि अहिलेसम्म व्यापार प्रतिबन्धमा नपरेको रुसका कृषि उपजमाथि प्रतिबन्धको मागमार्फत आर्थिक दबाब बढाउन खोज्ने सम्भावना पनि छ । सशस्त्र द्वन्द्वको अन्त्यपछि समेत राजनीतिक शत्रुता कायमै रहने देखिन्छ । यी जोखिमलाई ध्यानमा राख्दै अमेरिका र कृषि उत्पादनका दृष्टिले उसका सहयोगीले खाद्यबालीहरूको उत्पादनलाई बढाएर मौज्दात बढाउनुपर्छ । उत्पादन वृद्धि गर्दा विश्वव्यापी आपूर्ति नघटाईकनै अन्नको मौज्दात बढाउन सकिन्छ । अस्थायी अभावलाई सहज तुल्याउन ठूलो मौज्दातबाट थोरै परिमाणमा तत्कालै जारी गर्न सकिन्छ ।

यी नीतिले कृषकलाई आफ्नो उत्पादन क्षमता कायम राख्न बल दिइरहनेछ । जसले आवश्यकता पर्दा अझ बढी उत्पादन गर्ने क्षमता सुनिश्चित गर्न मद्दत पुग्छ । बढ्दो उत्पादन तथा मौज्दातले युद्ध सिर्जित अभावलाई केही समय धान्नेछ । साथै, समयमै रुसी कृषि निर्यातमा विश्वव्यापी निर्भरतालाई पनि घटाउनेछ । यसले युक्रेनका सहयोगीलाई राजनीतिक चालबाजीका लागि थप ठाउँ दिनेछ । दीर्घकालीन खाद्य असुरक्षाको बढ्दो खतराको सामना गरिरहेका विपन्न मुलुकका लागि यी नीतिले सामूहिक भोकमर विरुद्ध सुरक्षण प्रदान गर्नेछन् ।

रुस–युक्रेन युद्धले सुरु गरेको जारी खाद्य संकटले तीव्र खाद्य असुरक्षाका चुनौतीलाई उजागर गरेको छ । नजिकबाट नियाल्दा यो समस्या जारी युद्ध सिर्जितभन्दा निकै गहिरो देखिन्छ । विश्वव्यापी खाद्य प्रणालीलाई राजनीतिक एवं मानवीय स्रोतद्वारा तत्कालै मजबुत बनाउन जरुरी देखिन्छ ।(नान्सी क्विन नर्थवेस्टर्न विश्वविद्यालयमा व्यवस्थापन अर्थशास्त्रकी प्राध्यापक छिन् ।)  Project Syndicate र नयाँ पत्रिकाको सहकार्य