मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ भदौ ९ बिहीबार ०६:१३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

१७२० मेगावाटको खिम्ती शिवालय बनाउन बंगलादेश इच्छुक

Read Time : > 1 मिनेट
२०७९ भदौ ९ बिहीबार ०६:१३:००

 ६८३ मेगावाटको सुनकोसी तेस्रो जलाशययुक्त जलविद्युत् आयोजना बनाउन तयार भएको बंगलादेश १७२० मेगावाटको खिम्ती शिवालय जलाशययुक्त आयोजना बनाउन पनि इच्छुक देखिएको छ । नेपाल–बंगलादेश ऊर्जा बैठकका लागि नेपाल आएको बंगलादेशको प्रतिनिधिमण्डलले मंगलबार सुनकोसी तेस्रोको प्रस्तावित निर्माणस्थल अवलोकन गरेका छन् । काभे्रपलाञ्चोक र रामेछाप जिल्लाको सिमानामा अवलोकन भ्रमणपछि रामेछापको खाँडादेवी गाउँपालिको लुभुघाटमा राखिएको विशेष कार्यक्रममा बंगलादेशको विद्युत्, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमानले खिम्ती शिवालय बनाउने चाहना व्यक्त गरेका हुन् । 

नेपालले २५ साउन २०७५ मा भएको संयुक्त कार्यदल र निर्देशक समितिको तेस्रो बैठकमा जलविद्युत् क्षेत्रमा सहकार्यका लागि पाँचवटा आयोजनाको प्रस्ताव बंगलादेशसमक्ष राखेको थियो । बैठकमा पहिलो चरणमा सुनकोसी तेस्रोलाई अगाडि बढाउन आयोजनाको संयुक्त रूपमा स्थलगत भ्रमण गर्ने सहमति भएको थियो । कार्यक्रममा रामेछापका संघीय सांसद श्याम श्रेष्ठ, सुनापति गाउँपालिका अध्यक्ष ठूलाकान्छा तामाङलगायतले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले ऊर्जा क्षेत्रमा सहकार्यका लागि गठित संयन्त्रका बैठकले बंगलादेशसँगको विद्युत् व्यापार र सुनकोसी तेस्रो आयोजनामा लगानीको विषयलाई टुंगो लगाउने बताए । सुनकोसी आयोजना नेपाल र बंगलादेशको लगानीमा निर्माण गरिने विषय प्रारम्भिक चरणमै रहेको उल्लेख गर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस्ता आयोजना दुई मुलुकबीच सहकार्य गरी निर्माण गरिनुपर्ने बताए । 

विद्युत् विकास विभागका महानिर्देशक सन्दीव देव र उपमहानिर्देशक सञ्जय ढुंगेलले आयोजनाको हालसम्मको अध्ययन, विशेषता, प्रभावित क्षेत्रलगायतका विषयमा जानकारी गराएका थिए । विभागले आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गरी स्वीकृतिको प्रक्रियामा रहेको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले कोसी नदी जलस्रोत विकास अध्ययनका क्रममा सन् १९८५ मा आयोजनाको पहिचान गरेको थियो । जाइकाले गरेको अध्ययनलाई सन् २०१४मा अद्यावधिक गरिएको थियो ।

बिपी राजमार्गको नेपालथोकबाट करिब एक किलोमिटर रामेछापको खाँडादेवी र काभ्रेको तेमाल गाउँपालिको सिमानामा पर्ने लुभुघाटमा १८० मिटर अग्लो बाँध निर्माण गरी नदीलाई थुनिनेछ । आयोजनाको जलाशय ४५ किलोमिटरमाथिसम्म फैलिन्छ । जसअनुसार, सिन्धुपाल्चोकस्थित सुनकोसी नदीतर्फ बलेफी बजारभन्दा माथि र इन्द्रावती नदीतर्फ सिपाघाटसम्म जलाशय फैलिनेछ । 

इआइए प्रतिवेदनअनुसार, आयोजनाबाट सिन्धुली, काभ्रे, रामेछाप र सिन्धुपाल्चोकका १३ स्थानीय तहका ४५ वटा वडा प्रभावित हुनेछन् । आयोजनाबाट तीन हजार दुई सय ३७ हेक्टर जग्गा डुवानमा पर्नेछ । यसका लागि तीन हजार तीन सय हेक्टर निजी जग्गा अधिग्रहण गर्नुपर्नेछ भने ६ सय ५५ हेक्टर वन क्षेत्रको जग्गा पर्नेछ । आयोजनाबाट ११ हजार सात सय जनसंख्या विस्थापित हुने देखिएको छ । वार्षिक रूपमा दुई अर्ब ३५ करोड ६२ लाख युनिट उत्पादन हुने विद्युत्मध्ये हिउँदयाममा ६२ करोड २३ लाख युनिट उत्पादन हुनेछ । आयोजनाको अनुमानित लागत एक अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर रहेको छ ।