मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अभिमन्यू पोद्दार
२०७५ चैत १० आइतबार ०९:०७:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

विदेशी लगानीसँग सशंकित हुनुहुन्न

Read Time : > 2 मिनेट
अभिमन्यू पोद्दार
२०७५ चैत १० आइतबार ०९:०७:००

विदेशी लगानी आप्रवाहको तुलनामा लाभांश फिर्ता लैजाने बढी छन् भन्ने तथ्यांक पनि देखिएका छन् । तर, मसँग लगानीभन्दा लाभांश बढी लैजान्छन् भन्नेको यकिन तथ्यांक छैन । तर, लगानीकर्ताले नयाँ बजार र अवसर खोज्छन्, जहाँ उनीहरूले लगानी गर्न सकून् । महत्वपूर्ण कुरा उनीहरूले लगानी गर्ने भनेकै केही प्रतिफल पाउनका लागि हो । 

यदि विश्वमा हेर्ने हो भने, धेरै मुलुक खुला अर्थतन्त्र भएका छन् । उनीहरू प्रत्यक्ष वैदेशिक लगानीका लागि खुला छन् अनि तीव्र रूपमा विदेशी लगानी भित्र्याइरहेका छन् । विश्वका धेरै मुलुकबीच विदेशी लगानी भित्र्याउने एक प्रकारको प्रतिस्पर्धा चलिरहेको छ । थुप्रै मुलुक र त्यहाँका सरकारले विदेशी लगानी आकर्षणका लागि प्रतिस्पर्धा गरिरहेका छन् । यदि तपाईंले भियतनाम, म्यानमारलगायत मुलुकलाई हेर्नुहुन्छ भने तीनीहरू पहिला खुला थिएनन् । अहिले उनीहरूले विदेशी लगानीका लागि आह्वान गरिरहेका छन् । सम्भावित विदेशी लगानीकर्तालाई बोलाइरहेका छन् । के कुराले लगानीकर्तालाई आकर्षण गर्छ ? के कुराले तान्न सक्छ ? त्यो काम उनीहरूले गरिरहेका छन् । उनीहरूले लगानी आकर्षण गर्ने गरी नीति बनाएका छन् । 

लगानीकर्ताले पछिल्लो समय भइरहेका सुधारलाई हेरिरहेका छन् । के व्यवस्था आइरहेको छ भनेर हेरिरहेका छन् । तत्कालै धेरै सुधार भएका छन्, त्यसलाई लगानीकर्ताले बिस्तारै बुझ्नेछन् । धेरै नीतिगत सुधार गरिएका छन्, जुन तारिफयोग्य छ । सरकारले लगानीका लागि सकारात्मक संकेत दिएको छ ।

नेपालमा सन् १९९० को दशकमा विदेशी लगानी आकर्षित हुने गरी नीति नियम बनाइएको थियो । त्यो पहिलो चरणको सुधार थियो । सरकारले खुला नीति लियो । त्यसवेला थुप्रै बहुराष्ट्रिय कम्पनीले नेपालमा लगानी सुरु गरे । सूर्य नेपालले पनि त्यहीवेला नेपालमा लगानी सुरु गरेको हो । अहिले अब दोस्रो चरणको सुधार सुुरु भएको देखिन्छ । विदेशी लगानीका लागि अर्थतन्त्र खुला राख्न सरकार गम्भीर ढंगबाट लागेको देखिन्छ । यहाँ किन लगानी गर्न आउने ? यहाँ के अवसर छ ? म के कुरामा विश्वस्त छु भने यहाँ धेरै अवसर छन् तर, अवसरको आकार पनि हेर्नुपर्छ । दुईवटा कारणले लगानी गरिन्छजस्तो लाग्छ । पहिलो, के उत्पादन गर्न सकिन्छ भनेर । दोस्रो, नेपाललाई निर्यातको आधार बनाउन सकिन्छ भनेर । नेपालको बजारको आकारअनुसार यहाँ सबै क्षेत्रमा ठूला उत्पादन गर्ने अवसर छैन । यहाँको जनसंख्या तीन करोड छ । जबकि छिमेकी मुलुकको जनसंख्या अर्बभन्दा बढी छ । यसर्थ, नेपालको बजार सानो भए पनि छिमेकको बजार ठूलो छ । त्यसैले यहाँबाट निर्यात गर्न सकिन्छ कि सकिँदैन भनेर लगानीकर्ताले हेर्छन् । त्यसैले नेपालले उत्पादनका लागि लगानीमैत्री वातावरण नेपालले बनाउनुपर्छ । यस्तो अवस्थामा नेपालको मात्रै होइन, छिमेकी बजारसमेत हेरेर लगानीकर्ता आउँछन् । 

हामी लगानी बोर्ड नेपालसँग नजिकसँग छलफल गरिरहेका छौँ, यसर्थ हामी खुसी छौँ । धेरै नीतिगत र कानुनी सुधारले तीव्रता लिइरहेको छ । केही असजिला अझै बाँकी छन्, जसमा अझै सुधार आवश्यक छ । सरकारले त्यस्ता समस्या रचनात्मक तरिकाले सुधार गर्नेमा विश्वास छ । निजी क्षेत्रसँग नजिक भएर अन्तरक्रिया हुनुपर्छ, देखिएका समस्या तुरुन्तै समाधान गर्नुपर्छ । यसो गर्न सकिए नेपाल विदेशी लगानीका लागि आकर्षक गन्तव्य हुनेछ । लगानीकर्ताले पछिल्लो समय भइरहेको सुधारलाई हेरिरहेका छन् । के व्यवस्था आइरहेको छ भनेर हेरिरहेका छन् । तत्कालै धेरै सुधार भएका छन्, त्यसलाई लगानीकर्ताले बिस्तारै बुझ्नेछन् । धेरै नीतिगत सुधार गरिएका छन्, जुन तारिफयोग्य छ । सरकारले धेरै सकारात्मक संकेत दिएको छ । तर, नीतिगत तथा कानुनी सुधारका विस्तृत पक्षबारे लगानीकर्ताले अलि पछि थाहा पाउलान्, बुझन् समय लाग्छ, त्यसपछि मात्रै के–कति आकर्षित हुने/नहुने कुरा आउँछ । तर, सरकारको आशय राम्रो देखिन्छ, जसले लगानीकर्तालाई आकर्षित गरेको छ । 

नेपालमा रहेका थुप्रै बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि लगानी सम्मेलनका वक्ता पनि छन् । हामीले सम्मेलनमा हाम्रा अनुभव सुनाउनेछौँ । यो एकप्रकारको योगदान हो । अर्को कुरा, हामी त्यहाँ भौतिक रूपमै उपस्थित हुनेछौँ र उपस्थित लगानीकर्तासँग अन्तरक्रिया गर्नेछौँ । यहाँ पहिलोपटक आएकालाई आफ्नो अनुभव सुनाउनेछौँ । लगानी बोर्डले थुप्रै कार्यक्रम बनाएको छ । थुप्रै सेसनमा नेपालमा रहेका बहुराष्ट्रिय कम्पनीले सहभागिता जनाउनेछन् । कुनै पनि मुलुकमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन त्यहाँको निजी क्षेत्रको भूमिका निकै महत्वपूर्ण हुन्छ । नेपालको निजी क्षेत्रले विदेशी लगानी भित्र्याउन भूमिका खेलिरहेका छन् । धेरै लगानीकर्ता हामीलाई समेत सोध्न आउँछन् कि नेपालमा लगानीको सम्भावना कस्तो छ ? के–कस्ता अवसर छन् ? हामी यहाँ जे भइरहेको छ, त्यही सुनाउँछौँ । लगानीकर्ताले यहाँ सञ्चालनमा रहेका उद्योग व्यवसाय हेर्न सक्छन् र हामीले आर्जन गरिरहेको प्रतिफल पनि हेर्न सक्छन् । नेपालमा रहेका बहुराष्ट्रिय कम्पनीले राम्रो काम गरिरहेका छन् भन्ने थाहा पाउँदा उनीहरू उत्साहित बन्छन् ।

नेपालमा मात्रै होइन, विश्वमै के प्रवृत्ति छ भने विदेशी लगानीकर्ता आउँदा स्वदेशी लगानीकर्ता केही न केही सशंकित हुन्छन्, जुन स्वाभाविक हो । जब विदेशी लगानीकर्ता आउँछन्, सुरुमा स्वदेशी लगानीकर्ताले केही असुरक्षित महसुस गर्छन् । तर, विदेशी लगानीकर्ताले प्रविधि ल्याउँछन्, व्यवस्थापन र सीप ल्याउँछन्, नयाँ सिर्जना ल्याउँछन् । अन्ततः यसले ढिलो–चाँडो त्यो मुलुक र त्यहाँका लगानीकर्तासमेतलाई लाभ दिलाउँछ । निश्चित समयपछि सबैले विदेशी लगानीका लागि यो मुलुक ठीक छ भनेर बुझ्छन् । सयमले सिकाउँछ सबैलाई । विदेशी लगानीबाट स्थानीय लगानीकर्ताले लाभ पाउँछन् भन्ने कुरा कुनै न कुनै बिन्दुमा गएर उनीहरूले थाहा पाउँछन् । विदेशी लगानीप्रतिको धारणा समय र अनुभवले परिवर्तन गराउँछ ।

(पोद्दार सूर्य नेपालका प्रबन्ध निर्देशक हुन्)