१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ८ बुधबार ०९:०५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

माली मिसनमा खटिन सशस्त्र प्रहरीलाई सरकारको स्वीकृति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ८ बुधबार ०९:०५:००

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत द्वन्द्वग्रस्त अफ्रिकी देश मालीमा खटिन सरकारले सशस्त्र प्रहरी बललाई स्वीकृति दिएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले सशस्त्रको फम्र्ड पुलिस युनिट(एफपियू) मालीमा खटाउन स्वीकृति दिएको हो । यसअघि राष्ट्रसंघले सशस्त्र प्रहरीलाई मालीमा खटाउने निर्णय गरी त्यसको तयारी थाल्न पत्राचार गरेको थियो ।

सन् २०२३ को जनवरीदेखि खटिने गरी तयारी गर्न उसले सशस्त्र प्रहरीलाई पत्राचार गरेको हो । मालीको जोखिमपूर्ण क्षेत्र किदालमा सशस्त्र प्रहरी खटिन लागेको हो । मालीमा एक सय ४० जनाको नफ्री खटाउन तयारी अघि बढिसकेको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी विदुर खड्का बताउँछन् । 

सशस्त्र प्रहरीले मिसनमा खटिने टोलीको छनोट र तालिम तथा बन्दोबस्तीका सामान खरिदका लागि तयारी थालिसकेको छ । मिसनका लागि आवश्यक एपिसी, एमपिभीलगायत बन्दोबस्तीका सामान समयमै गर्नु सशस्त्र प्रहरीका लागि मुख्य चुनौती छ । यस्ता सामान खरिदमा बिचौलियाको चलखेल हुने भएकाले सधैँ विवाद हुँदै आएको छ । 

सशस्त्रमा यसअघिको खरिद विवादमा परेपछि उसले सीधै सेनासँग खरिद गरेको थियो । यसपटक पनि सशस्त्रले खरिद विवादमा नपर्न सकेसम्म जिटुजी प्रक्रियाबाट किन्ने, नत्र सेनाबाट खरिदबारे तयारी गरेको स्रोत बताउँछ ।