मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ८ बुधबार ०७:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सर्वोच्चले माग्यो न्यायाधीश साहलाई बर्खास्त गर्नुको कारण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ८ बुधबार ०७:०९:००

सर्वोच्च अदालतले उच्च अदालतकी न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्नुको कारण माग गरेको छ । सर्वोच्चको एकल इजलासले न्याय परिषद् सचिवालय तथा परिषद सदस्यहरूका नाममा कारण देखाउ आदेशसमेत जारी गरेको छ । बर्खास्तीको निर्णय बदर गर्न अन्तरिम आदेश माग गरेकोमा सर्वोच्चले त्यसलाई अस्वीकार गरिदिएको छ । 

सर्वोच्चले यसअघि २३ साउनमा निर्णय फाइल झिकाउने आदेश दिएको थियो । साहको योग्यताका विषयमा परेको मुद्दामाथिको फैसला पनि झिकाएको थियो । न्यायाधीश नहकुल सुवेदीले गरेको उक्त फैसलापछि मंगलबार सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले कारण आदेश जारी गरेका हुन् । परिषद्ले २४ असारमा साहको योग्यता नपुगेको भन्दै उच्चको न्यायाधीश पदबाट बर्खास्तीका लागि प्रधानन्यायाधीशसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । जसविरुद्ध साह १९ साउनमा सर्वोच्च पुगेकी थिइन् ।

साह पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरीसमेत हुन् । सिटिइभिटीमा कार्यरत रहेकै वेला उनी उच्च अदालतको न्यायाधीशमा सिफारिस भएकी थिइन् । उनले नियुक्ति लिँदा चोलेन्द्रशमशेर जबरा प्रधानन्यायाधीश तथा न्यायपरिषद्का अध्यक्ष र वरिष्ठ न्यायाधीशका रूपमा दीपककुमार कार्की थिए । हाल जबरा निलम्बित छन् भने कार्की परिषद् अध्यक्ष छन् ।

उजुरी परेपछि साहसँग विभिन्न कागजात मगाइएको, तर उनले पेस गर्न नसकेका कारण उनलाई हटाइएको परिषद्को दाबी छ । दुई महिना छानबिन गर्दा उनले योग्यता ढाँटेर नियुक्ति लिएको पुष्टि भएपछि न्याय परिषद् ऐनको दफा ३२ अनुसार साहलाई पदबाट हटाउने निर्णय गरिएको थियो । धनुषा घर भएकी उनी उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा कार्यरत थिइन् ।