मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७५ चैत १० आइतबार ०८:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सञ्चारमन्त्री गोकुल बाँस्कोटा भन्छन्–बम पड्काउन आउनेसँग ताली पड्काउन सकिन्न

Read Time : < 1 मिनेट
२०७५ चैत १० आइतबार ०८:३९:००

विप्लवजीहरूलाई पहिले शान्तिपूर्ण तरिकाले आफ्ना गतिविधि गर्नुस् भनेका थियौँ । उहाँहरू बम पड्काउन थाल्नुभयो । स्थानीय जनप्रतिनिधिलाई कर लगाउँदै हिँड्नुभयो । विकास निर्माणमा प्रतिशत लगाउन थाल्नुभयो । हामीले यसो नगर्नुस् भनेर बारम्बार भन्यौँ । उहाँहरूले व्यवहार सुधार नगरेपछि राज्यले आवश्यक कानुनी कारबाही गर्नुपर्ने हुन्छ । त्यसपछि पक्राउ पर्नु स्वाभाविकै हो । उहाँहरूलाई वार्ताका लागि बारम्बार अपिल गरेकै थियौँ । उहाँहरू उल्टै बम बोकेर पड्काउन थाल्नुभयो । बम बोकेर आउनेलाई ताली पड्काउन सकिएन ।

रणनीति, कार्यनीति, दर्शन हामीले केही पनि सोचेका छैनौँ ।  हाम्रो एउटै कुरा छ, नेपालमा हिंसात्मक तरिकाले गरिने द्वन्द्वको सन्दर्भ समाप्त भइसक्यो । आफ्ना कुरा शान्तिपूर्ण तरिकाले राख्ने अवस्था बनिसक्यो ।

नेपालमा हिंसात्मक तरिकाले गरिने द्वन्द्वको सन्दर्भ समाप्त भइसक्यो । आफ्ना कुरा शान्तिपूर्ण तरिकाले राख्ने अवस्था बनिसक्यो । हिंसात्मक रूपमा आउने जोकोहीलाई कारबाही गर्नु सरकारको कर्तव्य हो ।

आफ्ना मान्यता र कार्यक्रम जनताबीच लैजाने, सरकारमा आएर लागू गर्ने अवसर उपलब्ध भइसकेकाले संविधान मान्नुपर्‍यो । हामीले शान्तिपूर्ण गतिविधिमा बन्देज लगाएका छैनौँ । तर, हिंसात्मक रूपमा आउने जो कोहीलाई कारबाही गर्नु सरकारको दायित्व र कर्तव्य दुवै हो । 

वार्ताका लागि अहिले पनि आह्वान गरी नै रहेका छौँ । अब यो देशमा हिंसा चाहिएन । यो देशमा १७ हजारभन्दा धेरैले ज्यान गुमाइसके । एक लाख मान्छेले थातथलो छाडे । युद्धमा ५० हजार मान्छे अंगभंग भए । यो देशलाई हिंसा चहिएन जनताले हिंसा चाहेकै छैनन् । वार्ताका लागि अर्को पक्ष पनि तयार हुनुपर्‍यो, एक हातले त ताली बज्दैन नि । उहाँहरूले हिंसा गरी नै रहेपछि सरकार चुप लाग्नु पनि ठीक भएन । फेरि भन्न चाहन्छु, हतियार छोडेर आउनुस्, स्वागत छ । बम बोकेर वार्तामा नआउनुस् । बिसाएर आउनुस् । कम्मरमा पेस्तोल भिरेर, बम बोकेर आए वार्तामा बस्न सकिँदैन ।