कालो चादर ओढेर न्युजिल्यान्डकी ३८ वर्षीया प्रधानमन्त्री ज्यासिन्डा अर्डेन क्राइस्टचर्चस्थित मस्जिद आक्रमणका मृतकका परिवारसमक्ष पुगिन् । शोकाकुल महिलालाई अँगालो हालिन् । ‘मुस्लिम अरू होइनन्, हामी हौँ,’ भनिन् । अस्ट्रिलियन हत्याराबारे अर्डेनले भनिन्, ‘तिमीले हामीलाई छान्यौ । हामी तिमीलाई पूर्ण अस्वीकार र निन्दा गर्छौं ।’ बाइबल नछोई भगवान्का नाममा कसम नखाई उनले १८ महिनाअघि प्रधानमन्त्रीको शपथ लिएकी थिइन् । ‘धर्म होइन, सोचले महत्व राख्छ,’ उनले भनेकी थिइन् । अहिले यस देशका अधिकांश जनता शोकमा छन् । घटनालगत्तै देशको झन्डा आधा झुकाइयो । जनताले राष्ट्रिय एकता प्रदर्शन गरे ।
अब चर्चा गरौँ पाकिस्तानको, जहाँ सामूहिक हत्यामा राज्य र जनसमुदायले देखाउने व्यवहार फरक हुने गर्छ । सन् २०१४ मा पेसावर आर्मी स्कुलमा एक सय ३२ विद्यार्थीसहित एक सय ४९ को ज्यान जाने गरी भएको आपराधिक घटनाबाहेक अन्य घटनामा सर्वसाधारणले शोक वा आक्रोश देखाएको मलाई सम्झना छैन ।
सन् २०१० मेमा लाहोरस्थित दुई अहमदी धार्मिकस्थलमा ९४ जनाको ज्यान जाने गरी भएको घटना यसको साक्षी हो । घटनापछि कुनै राजनीतिज्ञ, मन्त्री वा ठूला व्यक्तित्वले मृतकका परिवारलाई भेट्न आवश्यक ठानेनन् । पूजाका लागि आएका निहत्था व्यक्तिले समातेर एक हतियारधारीलाई प्रहरीको जिम्मा लगाएका थिए । तर, उनी केही समयपछि रिहा भए ।
सेप्टेम्बर २०१३ मा पेसावरको अल सेन्ट्स चर्चमा लगातार गरिएका दुई आत्मघाती आक्रमण, जहाँ एक सय २७ जनाको मृत्यु भयो । दुर्भाग्य, त्यतिवेला पनि राष्ट्रियस्तरका अधिकांश नेता मौन बसे । इमरान खानले यस्ता आक्रमण बन्द गराउन तालिवान (टिटिपी) सँग वार्ता गर्नुपर्ने धारणा राखे, जब कि आक्रमणको जिम्मेवारी नै टिटिपीले लिएको थियो । पाकिस्तानका अल्पसंख्यक अहमदी, क्रिस्चियन, हजारा, हिन्दू र सिया कति सुरक्षित महसुस गरिरहेका छन् ? अल्पसंख्यक नागरिक मूलधारबाट टाढिनु र गुपचुप बस्नु उनीहरूभित्र जीवित अतिवादको त्रास मापन गर्ने एउटा बलियो आधार हुन सक्छ ।
नवजात शिशुको नामकरण नै यस्तो खतराको ठूलो प्रमाण हो । क्रिस्चियनलाई हेरौँ, सन् १९५० ताका कराँचीका क्रिस्चियनको नाम बाइबलबाट जुराइएका हुन्थे । तर, अहिले क्रिस्चियन अभिभावक आफ्ना शिशुलाई इस्लामिक नाम दिन्छन् । उनीहरूले सुरक्षाका लागि यसो गरेका हुन् । तर, अघिल्लो महिना यो उपाय पनि तीन छोराछोरीसहितको एउटा सुखी क्रिस्चियन दम्पतीलाई काम लागेन । यी परिवारकी महिलामाथि एक यौनहिंस्रक पुरुषको आँखा लाग्यो । हातमा पेस्तोल बोकेका ती पुरुषले घरमा जबर्जस्ती छिरेर महिलाको अपहरण गरे । प्रहरीले सुरुमा त एफआइआर नै दर्ता गरेन । अन्त्यमा, दबाबपछि मात्रै दर्ता भयो ।
अल्पसंख्यक नागरिक मूलधारबाट टाढिनु र गुपचुप बस्नु उनीहरूभित्र जीवित अतिवादको त्रास मापन गर्ने एउटा बलियो आधार हो
दुई सातापछि विक्षिप्त अवस्थामा यी महिलालाई दर–उल–अमान लगियो । उनको शरीरका धेरै भागमा दाग थिए । १० दिनसम्म बलात्कार गरिएको उनको बयान थियो । मेडिकल जाँचका लागि श्रीमान्ले गरेको अनुरोध प्रहरीले अस्वीकार गर्यो, किनकि ती प्रहरीले देखाएको कागजअनुसार ती महिलाले धर्म परिवर्तनका लागि हस्ताक्षर गरिसकेकी थिइन् । अब उनी अपहरणकारीका पत्नीमध्येकी एक थिइन् । समस्या थप गहिरियो किनकि ती महिलाले फेरि क्रिस्चियन बन्न पाउने कानुनी बाटो थिएन । उनले दबाबमा आएर हस्ताक्षर गरेकी थिइन् भन्ने विषयले यहाँ अर्थ राखेन । अवश्य पनि अदालतले निर्णय गर्ने ठाउँ बाँकी थियो । तर, यस्ता मुद्दामा फैसला आउन धेरै महिनादेखि धेरै वर्षसम्म लाग्न सक्छ । अहिले यो परिवार लुकेर बसिरहेको छ । हत्यारा खुलेआम हिँडिरहेका छन् ।
२२ करोड जनसंख्या रहेको पाकिस्तानमा यस्ता उदाहरण धेरै छन् । यस्तो अवस्थामा अल्पसंख्यकले समाजमा कसरी आफू उभिएको अनुभव गर्न सक्छन् । दुर्भाग्य, आफूवरपरका व्यक्तिले देखाउने सहानुभूति औषधि होइन । दजनौँ व्यक्ति अपहरित भएको विरोधमा गत शनिबार इस्लामाबादमा विरोध र्याली निकालियो । अपहरितमध्ये अधिकांश क्रिस्चियन थिए । उनीहरू बारम्बार भनिरहेका थिए– हामीले पनि पाकिस्तानका लागि लडेका छौँ । यस्तो दुव्यर्वहार कतिन्जेल सहने ?
अल्पसंख्यक समुदाय बहुसंख्यकको जुत्तामुनि दबिइरहेको छ र उनीहरूले सत्य बोल्न सक्ने अवस्था छैन । संसारमा घृणाको जग बलियो बन्दै छ । तर, मलाई आशा छ, कुनै दिन कसैले ज्यासिन्डा अर्डेनलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनीत गर्ने विषयमा सोच्नेछ । आशा छ, कुनै दिन पाकिस्तानले पनि उनीजस्तै प्रधानमन्त्री पाउनेछ ।
(सामाजिक अभियन्ता हुडभोय भौतिकशास्त्रका प्राध्यापक हुन्)
पाकिस्तानी सञ्चारमाध्यम डनबाट