मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ चैत १० आइतबार ०८:२२:००
Read Time : > 1 मिनेट
सम्पादकीय

विश्वविद्यालय परिसरमा युवाको लाम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १० आइतबार ०८:२२:००

नवउदारवादी समयमा केवल पुँजी र उत्पादित वस्तु तथा सेवाको विश्वव्यापीकरण मात्र होइन, यसले कतिपय सन्दर्भमा श्रमको स्थानान्तरण या बसाइँसराइलाई समेत तीव्रता दिएको हुन्छ । अपेक्षाकृत नवोदित अर्थतन्त्र भएका र तीव्र आर्थिक विकास गरिरहेका देशले अविकसित र विकासोन्मुख देशबाट ठूलो संख्यामा कामदार झिकाइरहेका छन् । विकसित ठूला औद्योगिक अर्थतन्त्रको जानसांख्यिक बनोटमा आएको परिवर्तन, श्रमको लचकतामा आएको कमी र उत्पादनका अन्य साधनको मूल्य बढ्दै जाँदा वस्तु तथा सेवाको उपभोक्ताका रूपमा नयाँ बजार विस्तार भइरहँदा आफ्ना उत्पादनमूलक कारखानालाई पनि स्थानान्तरण गर्ने गरेका छन् । यस्तो स्थानान्तरण भएका र आफ्नो देशको श्रम बजारमा श्रमिकको आपूर्ति कम भएका अर्थतन्त्रले व्यापक रूपमा अविकसित देशहरूबाट श्रमिकलाई तानिरहेका छन् । 

नेपालजस्ता देश आफूकहाँ उत्पादनशील क्षेत्र विस्तार गरी रोजगारी सिर्जना गर्नभन्दा श्रमिक आपूर्तिमा निर्भर हुन पुगेका छन् । यसै क्रममा सन् १९९० वरपरदेखि नेपाली श्रमिक खाडी मुलुक, मलेसिया र दक्षिण कोरियामा कामको खोजीमा जाने क्रम बढेको छ । नेपालीले अनेक वैध, अवैध मार्गबाट अमेरिका, युरोप र अस्ट्रेलियासम्म पुगेर पनि सस्तो श्रम आपूर्ति गरिरहेका छन् । २०–३० वर्षपहिलेसम्म सामान्य पढेलेखेका या विश्वविद्यालयसम्म पुगेकाहरूका लागि नेपालमा उपलब्ध रोजगारीले धानेको थियो । अर्धशिक्षित या कम पढेका युवाले मात्र आन्तरिक बजारमा पाउने तलब सुविधाका तुलनामा बाहिरबाट हुने कमाइ राम्रो भएको या आन्तरिक बजारमा रोजगारी नै नपाएकाले बिदेसिनुपर्ने बाध्यता थियो । यस्तो बाध्यता सिर्जना गराउने काम पुँजीवादी विकासको एउटा अनिवार्य सर्त पनि हो । विश्वभर नै अवसरको खोजीमा हुने बसाइँसराइलाई सामान्य रूपमा लिइन्छ । तर, नेपालको एउटा सन्दर्भ भने अलि दिक्कलाग्दो देखिन्छ । 

विश्वविद्यालयमा स्नातकोत्तर तहको अध्ययन सकेका या अध्ययनरत विद्यार्थी इपिएस परीक्षा दस्तुर बुझाउन बसेको लामले देशको शिक्षानीति र रोजगारीको चिन्ताजनक चित्र देखाएको छ

यसपटक कोरियामा रोजगारीका लागि जान पाइने भएपछि कोरियाली भाषा परीक्षामा सामेल हुनेहरूमा विश्वविद्यालयमा स्नातकोत्तर तहको अध्ययन सकेका या अध्ययनरत विद्यार्थीको जुन लाम देखियो, त्यसबाट नेपालको शिक्षानीति र हाम्रो रोजगारीको अवस्थाबारे चिन्ताजनक चित्र अगाडि आएको छ । नेपालीले कोरियामा गएर अधिकांशतः कठिन श्रम या भौतिक श्रमको काममा सामेल हुने हो । त्यसका लागि विश्वविद्यालयको शिक्षा होइन, कोरियाली भाषाको ज्ञान र जे काममा जाने हो त्यसको सीप आवश्यक पर्छ । तर, नेपालका विश्वविद्यालयमा पढ्नेहरूले त्यस्तो कुनै सीप सिकेका हुँदैनन् । त्यस्तो अवस्थामा उनीहरूले पनि अरू कलेजको मुखै नदेखेका दौँतरीसरहकै काम गर्ने हो । तैपनि विद्यार्थी लाइन लागिरहेका छन् भन्नुको अर्थ हो हामीकहाँ विश्वविद्यालयले जे पढाइरहेको छ त्यो आजको अर्थ–सामाजिक सन्दर्भसँग पटक्कै मेल खाँदैन । त्यसैले जो प्राज्ञिक क्षेत्रमा अघि बढ्न चाहन्छन्, तिनले विश्वविद्यालयको शिक्षा लिने र जो रोजगारीमा गएर जीवन फरक ढंगले बिताउन चाहन्छन्, तिनले १२ कक्षाको पढाइसँगै या त्यसपछि सीपमूलक तालिम लिनेतिर लाग्नु राम्रो हुन्छ । जुन विषयको बजारमूल्य एकदम कमजोर छ, विश्वविद्यालय त्यही शिक्षा किन दिइरहेको छ ? किन विश्वविद्यालयसम्म पुगिरहेका छन् यी विद्यार्थी जो पढाइ बीचैमा छाडेर अवसर पाए कोरिया जान प्रतिबद्ध छन् ? यी प्रश्नको जवाफ अब विश्वविद्यालय, विद्यार्थी, अभिभावक र राज्यले खोज्न ढिलो गर्नु हुँदैन ।