मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७५ चैत १० आइतबार ०७:४१:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

विप्लवमाथि बढ्दो दबाब : शीर्ष तहका नेता धमाधम पक्राउ

पार्टीमाथि प्रतिबन्ध घोषणा गरेको दुई साता नबित्दै नेकपाका शीर्ष तहका नेता पक्राउ

Read Time : > 2 मिनेट
२०७५ चैत १० आइतबार ०७:४१:००

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि सरकारले दिन प्रतिदिन दबाब बढाउँदै लगेको छ । पछिल्लो दुई सातामा सरकारले नेकपामाथि प्रतिबन्ध घोषणा गर्दै उसका नेता–कार्यकर्तालाई धमाधम पक्राउ गर्न थालेको हो । शनिबार बिहान झिसमिसेमै हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेका छन् । उनी पार्टीमा तेस्रो वरीयताका नेता मानिन्छन् । 

सरकारले विप्लव नेतृत्वको नेकपामाथि दबाब बढाउँदै वार्तामा ल्याउने रणनीति अख्तियार गर्न खोजेको देखिन्छ । राजनीतिक विश्लेषक कृष्ण खनाल राजनीतिक समस्यालाई वार्ताबाटै समाधान गर्न सरकारले पहल लिनुपर्ने बताउँछन् । ‘सहज बाटोबाट निकास निकाल्न तयार हुनुपर्दछ,’ खनालले भने, ‘औपचारिक हिसाबले वार्ता सम्भव नभए पनि सरकारले अनौपचारिक वार्ता जारी राख्नुपर्दछ ।’

औपचारिक रूपमा भने सरकारले तत्काल वार्ता गर्न खोजेको देखिँदैन । शीर्ष तहकै नेता पक्राउ गरेपछि कमजोर बनाउन सफल हुन सक्ने सरकारको बुझाइ छ । सार्वजनिक रूपमा भने सरकारका प्रवक्ताले वार्ताका लागि विप्लवलाई आग्रह गरिहरेका छन् । कमजोर भएपछि मात्रै विप्लव नेतृत्वको नेकपासँग वार्ता गरे सफल हुन सकिने सरकारले रणनीति बनाएको देखिन्छ ।

विप्लव भने सरकारको दबाब जति बढ्छ, उति आफ्नो पार्टीलाई फाइदा हुने निष्कर्षमा रहेको देखिन्छ । शनिबार नयाँ पत्रिकासँग कुरा गर्दै सो पार्टीका एक केन्द्रीय नेताले भने, ‘पार्टी प्रतिबन्धदेखि नेता कार्यकर्ता पक्राउबाट निम्तिने दुर्घटनाको भागिदार सरकारै हुनुपर्छ ।’ उनले सरकार विदेशी शक्तिको ग्र्यान्डडिजाइनमा चलेको आरोप लगाए । 

‘हामीमाथि थोपरेको अनावश्यक पक्राउ, धरपक्कड  र जेलनेलबाट सरकारले जानीजानी युद्ध निम्त्याउन खोजेको प्रस्ट हुन्छ,’ ती नेताले भने, ‘हामीले  नचाहँदा पनि राज्यको यस्तो रबैयाले समस्या बल्झियो । राज्य आफैँ युद्ध घोषणा गर्दै छ ।’ 

सरकारले प्रतिबन्ध घोषणा गरेपछि नेकपाका नेता–कार्यकर्ता सुरक्षित स्थानतिर गएका छन् । भाग्न नसकेका नेता–कार्यकर्ताले हातहतियारसहित फेला पर्दासमेत फायरिङ गरेका छैनन् । एक केन्द्रीय सदस्यले भने, ‘सरकार आफैँ अनावश्यक रूपमा पार्टीमाथि प्रतिबन्ध लगाउँछ । हतियार उठाएकै छैनाैं । हतियार बुझाऊ भन्छ । कहिले हतियार बुझाए वार्ता हुन्छ, भन्छ । सरकारको इन्टेन्सन के हो बुझ्न सकेका छैनाैं ।’ 

उनले सरकारले फासीवादी बाटो लिएको आरोपसमेत लगाए । ‘देश टुक्र्याउँछु भन्नेलाई वार्तामार्फत सिंहदरबार छिराउँछ,’ ती नेताले भने, ‘लोकतान्त्रिक ढंगले देशमा भएका भ्रष्टाचार, घुसखोरी, दलाल तस्करविरुद्ध बोल्दा राजनीति गर्न पाउँदैनौ भन्छ ।’ प्राध्यापक खनाल भने विप्लव नेतृत्वको नेकपा धेरै विषयमा अस्पष्ट भएको र हिजैको विषयलाई निरन्तरता दिएर कहीँ पुग्न नसकिने टिप्पणी गर्छन् ।

को हुन् हेमन्तप्रकाश ओली ?

शनिबार पक्राउ पर्ने विप्लव नेतृत्वको नेकपाका पहिलो तहका नेता ओली तत्कालीन नेकपा (माओवादी)को जनयुद्धकालदेखिकै केन्द्रीय नेता हुन् । ०२२ सालमा रुकुमको त्रिवेणी गाउँपालिका धौलावाङको मध्यम वर्गीय परिवारमा जन्मिएका उनले गाउँकै त्रिभुवन माविबाट एसएसली उत्तीर्ण गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट अंग्रेजी विषयमा बिएड गरेका छन् । ०३६ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय ओली ०३७ सालदेखि अनेरास्ववियुका सदस्य थिए । उनले माक्र्सवादी दर्शन, माओवादी आन्दोलनसम्बन्धी पुस्तक र थुप्रै फुटकर लेखहरू लेखेका छन् । 

जनयुद्धमा छोरी गुमाए, ३ वर्ष जेल बसे
जनयुद्धमा केन्द्रीय तहका कमै नेताका छोराछोरी सँगै राजनीतिमा थिए । सन्तान नै गुमाउने नेता त्योभन्दा पनि कम । ओली त्यसैमध्ये पर्छन् । उनकी जेठी छोरी सुवर्णा ओलीलाई घरबाटै लिएर सुरक्षाकर्मीले खारा सैनिक ब्यारेकमा चरम यातना दिएर हत्या गरेको थियो । चार छोरीमध्ये अहिले तीन छोरी र दुई छोरा छन् । माओवादी पश्चिम क्षेत्रमा ओलीको राम्रो प्रभाव थियो । उनी पश्चिम क्षेत्र कमिसार हुँदा ०५५ सालमा पक्राउ परेका थिए । जेलमा ३ वर्ष बिताएका ओलीले अदालतमा म्याद थप गर्ने सिलसिलामा पिसाब गर्ने निहुँमा ०५८ सालमा प्रहरीलाई झुक्याएर भागेका थिए ।

विप्लवसँग पहिले दूरी, पछि एकता 
तत्कालीन एकीकृत माओवादीमा उनी अध्यक्ष प्रचण्डनिकट थोरै नेतामध्ये पर्थे । माओवादीभित्र दुई लाइन संघर्ष हुँदा उनी वैद्य र विप्लव समूहसँग दूरी राख्थे । रुकुम नै गृहजिल्ला भएका जनार्दन शर्मासँग उनको व्यक्तित्वको टकराव हुन थालेपछि विस्तारै उनी प्रचण्डसँग टाढिएका थिए । ओलीलाई प्रचण्डबाट टाढा बनाउन शर्माको भूमिका रहेको माओवादी आन्दोलनलाई नजिकबाट हेर्ने विश्लेषकहरू बताउँछन् । उनले रुकुमबाट प्रत्यक्ष निर्वाचन उठ्न टिकटसमेत पाएनन् । पछि दोस्रो विवाहका सन्दर्भमा उनको पार्टीभित्र आलोचनासमेत भएको थियो । एकीकृत माओवादी छाडेसँगै उनले कम्युनिस्ट न्युक्लस गठन गरे । न्युक्लसको विप्लव नेतृत्वको तत्कालीन नेकपा माओवादीसँग तीन वर्षअघि एकता भएको हो । 

ओलीको राजनीतिक समय–रेखा
०३७ : अनेरास्ववियु सदस्य  
०३९ : रुकुम जिल्ला सदस्य 
०४० : नेकपा (मशाल)को सदस्य
०४४ : अनेरास्ववियुको केन्द्रीय सदस्य र पार्टी एरिया सदस्य
०४८ : नेकपा एकताकेन्द्रको जिल्ला सदस्य
०५१ : रुकुम जिल्ला सेक्रेटरी
०५२ : रुकुमको राडी प्रहरी चौकी आक्रमणको कमिसार
०५४ : नेकपा (माओवादी)को केन्द्रीय सदस्य 
०५५ : जनयुद्धकालमा बाजुराको दोगारबाट पक्राउ
०५८ : मार्तडीबाट प्रहरी घेरा तोडेको
०७० : दोस्रो संविधानसभामा समानुपातिक उम्मेदवार (पार्टीका १७ सिट मात्रै, सभासद् हुन पाएनन्)
०७२ : पार्टी पोलिट्ब्युरो सदस्यबाट राजीनामा
०७२ : कम्युनिस्ट न्युक्लियस पार्टी गठन
०७३ : विप्लव नेतृत्वको नेकपा (माओवादी)सँग पार्टी एकता
०७३ : नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति सदस्य