मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७५ चैत १० आइतबार ०७:३४:००
Read Time : < 1 मिनेट
समाचार

पाँचथर र तेह्रथुमको सीमामा पर्ने तमोर नदीको दोहन राेकिएन

Read Time : < 1 मिनेट
२०७५ चैत १० आइतबार ०७:३४:००

पाँचथर र तेह्रथुमको सीमामा पर्ने तमोर नदीको दोहन रोकिएको छैन । एक ठाउँको ठेक्का देखाएर व्यापारीले लामो समयदेखि ठाउँ–ठाउँमा नदीजन्य पदार्थ निकालिरहेका छन् । हिलिहाङ गाउँपालिकादेखि तुम्बेवा गाउँपालिकासम्मका दर्जनभन्दा बढी स्थानको तीव्र ढंगले गिट्टी, बालुवा निकासी भइरहेको छ । 

लामो समयदेखि फिदिम नगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने तमोर नदीको पुलभन्दा एक किलोमिटर दक्षिणको क्षेत्रमा स्काभेटर प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन भइरहेको छ । 

सो स्थानमा केही दिनअघि जिल्ला समन्वय समिति प्रमुख विष्णुप्रसाद सापकोटा र फिदिम नगरपालिका मेयर ओनहाङ नेम्वाङको टोली पुगेको थियो । टोलीले नदीजन्य पदार्थको निकासीमा हेलचेक्र्याइँ भएको बताउँदै वातावरणीय मूल्यांकन प्रतिवेदनअनुसार काम गर्न निर्देशन दिएको थियो । तर, टोलीको निर्देशनलाई वास्तै नगरी त्यहाँ स्काभेटर प्रयोग भइरहेको छ । 

नदीको धार परिवर्तन हुने गरी उत्खनन

नदीको प्राकृतिक बहाव नै परिवर्तन हुने गरी ढुंगा, गिटी निकाल्न लागिएको भन्दै जिल्ला समन्वय समितिले अढाइ महिनाअघि नगरपालिकालाई सजग गराएको थियो । त्यसपछि नगरपालिकाले अनुगमन गरेको थियो । तर, उत्खनन रोकिएको छैन ।

निर्माणाधीन फिदिम–फालोट र साम्दिन घुम्ती–मायालुमोड सडक निर्माणमा गएको स्काभेटर नदी दोहनमा प्रयोग भइरहेको छ । स्काभेटर प्रयोग गरिएको स्थानमा भेटिएका कन्काई निर्माण सेवाका कर्मचारी विकास सेढाईंले जिल्ला समन्वय समिति र फिदिम नगरपालिकाबीच कुरा मिलिसकेको जानकारी आएपछि स्काभेटर प्रयोग गरिएको दाबी गरे । ‘हामीलाई मेसिनले काम थाल्नु भन्ने जानकारी आएपछि थालेका हौँ,’ उनले भने । 

वातावरणीय मूल्यांकन प्रतिवेदनले स्काभेटर प्रयोग गरेर नदीजन्य पदार्थ निकाल्न नपाइने बताएको छ । फिदिम नगरपालिकाले लगाएको ठेक्कामा प्रतिवेदनका सबै बुँदा लागू हुने उल्लेख छ, तर पालना भने भएको छैन । फिदिम नगरपालिकाको क्षेत्राधिकार नभएको क्षेत्रमा पनि दोहन जारी छ ।