१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
सिभिल अस्पतालभित्र ठाउँ नभएपछि बाहिर सडकमा पार्किङ गरिएका मोटरसाइकल तस्बिर : नयाँ पत्रिका
मञ्जु टेलर काठमाडौं
२०७९ भदौ ६ सोमबार ०७:१७:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ठूला सरकारी अस्पतालमा छैन पर्याप्त पार्किङ

स्वास्थ्य संस्थाले सवारी पार्किङ उपलब्ध गराउनुपर्ने नियम भए पनि सरकारी र निजी अस्पतालहरूले सेवाग्राहीबाट असुल्छन् पार्किङ शुल्क

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडौं
२०७९ भदौ ६ सोमबार ०७:१७:००

मंगलबार दिउँसो ६ वर्षीया छोरीलाई ज्वरोले सताएपछि नक्सालका रवि महर्जन वीर अस्पताल पुगे । मेडिकलबाट ल्याएको औषधिले ज्वरो नघटेपछि उनी वीर अस्पतालको इमर्जेन्सी पुगेका थिए । अस्पताल परिसरमा सवारी राख्ने ठाउँ नभएपछि बाटोको छेउमा मोटरसाइकल राखेर उनी अस्पताल छिरे । दुई घन्टापछि बाहिर आउँदा उनले सवारी भेटेनन् । अनधिकृत पार्किङ भन्दै काठमाडौं महानगरले आफ्नो मोटरसाइकल उठाएको थाहा पाएपछि उनमा अर्को चिन्ता थपियो । ‘अब छोरी पुर्‍याउन घर जाऊँ कि मोटरसाइकल लिन महानगर जाऊँ । स्मार्ट पार्किङ नाम मात्रैको छ,’ बिरामी छोरी बोकेर ट्याक्सी बोलाइरहेका रविले नयाँ पत्रिकासँग भने । 

अत्याधुनिक सेवाका लागि निर्माण गरिएका पर्याप्त भवन भएको देशकै ठूलो वीर अस्पतालमा पार्किङको सुविधा नहुँदा सेवाग्राहीले दैनिक सास्ती खेप्दै आएका छन् । पुराना भवनमा स्थान अभाव र अन्डरग्राउन्ड पार्किङको व्यवस्था नहुँदा वर्षौँदेखि मुख्य समस्याको रूपमा रहेको पार्किङ सर्जिकल भवन सञ्चालनमा आएपछि पनि जहाँको त्यहीँ  छ । सर्जिकल भवनको अन्डरग्राउन्डको पार्किङ सर्वसाधारणका लागि खुला नगरिँदा पार्किङकै लागि सेवाग्राहीले दैनिक हैरानी खेप्दै आएका छन् । 

अस्पतालका पार्किङमा सर्वसाधारणलाई प्रवेश निषेध, सडकमा राख्दा महानगरले उठाउँछ सवारी

पुरानो र सर्जिकल भवनको बीचबाटोमा रहेको स्मार्ट सशुल्क पार्किङमा समेत सवारी चापका कारण दिउँसोको समयमा गाडी पार्किङ गर्न पाइँदैन । बाटोमा दायाँ भागमा ट्याक्सी र बायाँ भागमा मोटरसाइकल पार्किङ गर्दा एम्बुलेन्स राख्नसमेत ठाउँ उपलब्ध हुँदैन । बाटोमा सवारी छाड्दा सुरक्षित नहुने र अनधिकृत पार्किङ भन्दै महानगरले सवारी जफत गर्ने भएकाले सर्वसाधारण मारमा पर्ने गरेका छन् । 

स्वास्थ्य सेवा विभागले २०७४ मा बनाएको ‘स्वास्थ्य भवन पूर्वाधार डिजाइन तथा निर्माणसम्बन्धी निर्देशिका’मा अस्पताल, स्वास्थ्यचौकी, जनस्वास्थ्य कार्यालय, मेडिकल स्टोरसमेतले पार्किङको व्यवस्था गर्नुपर्ने उल्लेख छ । तर, वीरमा मात्रै नभई काठमाडौंका ठूला अस्पतालमा पार्किङ नै उपलब्ध छैन । पार्किङ उपलब्ध भएका अस्पतालमा समेत कर्मचारीका लागि अपुग भएको भन्दै सर्वसाधारणलाई प्रवेश निषेध छ । कतिपय अस्पतालले सःशुल्क पार्किङ सञ्चालन गरिरहेका छन् ।

 शुक्रराज ट्रपिकल अस्पताल
दैनिक झन्डै ६ देखि सात सयसम्म बिरामी ओपिडीमा पुग्ने शुक्रराज ट्रपिकल अस्पतालमा पर्याप्त पार्किङ उपलब्ध छैन । पर्याप्त भवनकै अभाव रहेको शुक्रराज ट्रपिकल अस्पतालमा पार्किङसमेत नहुँदा अस्पतालका कर्मचारीले नजिकै रहेको स्वास्थ्य सेवा विभागमा पार्किङ गर्दै आएका छन् । सर्वसाधारण अस्पतालअगाडिको एकतर्फी बाटोमा सवारी आवागमन नै अवरुद्ध हुने गरी पार्किङ गर्न बाध्य छन् । ओपिडी पछाडिको सानो ठाउँलाई सर्वसाधारणका लागि खुला गरिए पनि केही मोटरसाइकल राख्दा भरिने भएकाले सर्वसाधारणले बाटोमै पार्किङ गर्ने गरेका हुन् । 

संक्रामक रोगको उपचार हुने देशकै ठूलो अस्पताल भए पनि टेकुमा लगभग ८८ वर्ष पुराना भवनमा सेवा दिनुपर्ने बाध्यता रहेकाले सेवाग्राहीलाई पार्किङलगायतका सुविधा उपलब्ध नभएको अस्पतालका प्रवक्ता नवराज गौतम बताउँछन् । ‘सबै पुराना भवन भएकाले अन्डरग्राउन्ड पार्किङ उपलब्ध छैन, अस्पतालको एरिया नै सानो भएकाले बाहिर सबै गाडी र मोटरसाइकल राख्न सम्भव नै छैन । ओपिडी पछाडि रहेको ठाउँ पनि कर्मचारी र चिकित्सकहरूले गाडी विभागतिर राख्ने भएकाले सर्वसाधारणलाई उपलब्ध नभएको हो,’ उनले भने । अस्पतालले नयाँ भवन निर्माणको तयारी गरिरहे पनि समयमा टेन्डर नखुल्दा भवन निर्माण कार्य सुरु हुन सकेको छैन ।

पार्किङबाट शुल्क असुल्छ पाटन अस्पताल 
दैनिक कम्तीमा १२ सयदेखि १५ सयसम्म बिरामी पुग्ने पाटन अस्पतालले सःशुल्क पार्किङ सञ्चालन गर्दै आएको छ । पाटन अस्पताल भवनको अन्डरग्राउन्ड पार्किङमा अस्पतालले शुल्क लिँदै आएको हो ।

अस्पतालले प्रतिघन्टा दुईपांग्रेलाई २० रुपैयाँ र गाडीलाई ३० रुपैयाँ शुल्क लिँदै आएको छ । अस्पतालका कर्मचारीका लागि निःशुल्क गरे पनि सवारी व्यवस्थापनका लागि अन्य सवारीलाई शुल्क लिँदै आएको अस्पतालका निर्देशक डा. रवि शाक्य बताउँछन् । स्वास्थ्य संस्थाअन्तर्गत पार्किङ उपलब्ध गराउनुपर्ने नियम भए पनि सरकारी र निजी अस्पतालहरूले पार्किङको शुल्क लिँदै आएका छन् ।

 परोपकार प्रसूतिगृह
अस्पतालको आफ्नै व्यवस्थित पार्किङ नहुँदा सर्वसाधारण मात्र नभई चिकित्सकहरू नै दैनिक पार्किङका लागि हैरानी खेप्दै आएका छन् । प्रसूतिगृहमा पुराना र नयाँ भवनमा अन्डरग्राउन्ड पार्किङ नहँुदा आवतजावतमै असर पर्ने गरी अस्पताल अगाडि पार्किङमा समेत मुस्किलले १० वटा गाडी र एक सयसम्म मोटरसाइकलका लागि मात्रै ठाउँ रहेको कर्मचारी बताउँछन् । अत्यधिक भिडभाड रहने प्रसूतिगृहमा पुराना संरचनाका कारण बिरामीलाई सहज सेवा उपलब्ध गराउन नसकेको वरिष्ठ कन्सल्ट्यान्ट डा. श्रीप्रसाद अधिकारी बताउँछन् । ‘पार्किङ अहिले अस्पतालको मुख्य समस्याको रूपमा देखिएको छ । बिरामीदेखि कर्मचारी र चिकित्सकहरूले गाडी लिएर आउँछन् । तर, अस्पतालमा राख्ने ठाउँ नहुँदा तनावको कारण बन्ने गरेको छ,’ उनले भने । 

दैनिक आठ सयदेखि एक हजार बिरामी ओपिडीमा पुग्ने प्रसूति अस्पतालमा पार्किङ नहुँदा इमर्जेन्सीमा पुग्ने बिरामीले समस्या भोगिरहेका छन् । सर्वसाधारणलाई अस्पतालभित्र सवारी प्रवेश निषेध गरिएकाले नर्भिकको सःशुल्क पार्किङ वा बागमती करिडोरछेउमा लगेर सवारी थन्क्याउन बाध्य छन् । 

 राष्ट्रिय ट्रमा सेन्टर
राष्ट्रिय ट्रमा सेन्टरमा बेसमेन्टमा पार्किङ उपलब्ध भए पनि दिउँसो सर्वसाधारणका लागि बन्द गरिन्छ । कर्मचारीका लागि पार्किङ नपुग्ने भन्दै बिहान १० नबज्दै पार्किङ बन्द गरिन्छ । इमर्जेन्सी बिरामी ओराल्न मात्रै सवारीले अस्पताल प्रवेश गर्न पाउँछन् । अस्पताल वरपर सुरक्षित पार्किङ नहुँदा सेवाग्राहीहरू दैनिक हैरानी खेप्न बाध्य छन् ।

 सिभिल अस्पताल 
अस्पतालभित्र पर्याप्त ठाउँ उपलब्ध भए पनि सिभिल अस्पतालले हाल सेवाग्राहीलाई पार्किङ गर्न दिएको छैन । अस्पतालले कर्मचारीहरूका लागि ठाउँ अभाव भएको भन्दै सर्वसाधारणलाई रोक लगाएको छ । अत्यधिक भिडभाड रहने बानेश्वर क्षेत्रमा सेवाग्राही फुटपाथमै सवारी राख्न बाध्य छन् । 

 पार्किङ भएकामा पनि सकस 
दैनिक बिरामी एक हजारभन्दा माथि पुग्ने ठूला सरकारी अस्पतालमा पार्किङ उपलब्ध भए पनि पर्याप्त छैन । विद्यार्थी, कर्मचारी, स्वास्थ्यकर्मी र सेवाग्राहीले भरिभराउ रहने त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा व्यवस्थित पार्किङ छैन । अस्पतालभित्रै बाटोछेउमा गाडी लस्करै पार्किङ गर्दा एम्बुलेन्स र अन्य सवारी आवत–जावतमा समस्या भइरहेको कर्मचारीहरूको भनाइ छ । भिडभाड रहने कान्ति बाल अस्पतालमा समेत पार्किङ पर्याप्त छैन ।

अस्पतालअगाडिको साँघुरो ठाउँमा सर्वसाधारणले सवारी पार्किङ गर्दै आएका छन् ।गंगालाल हृदय केन्द्र, बाँसबारीमा समेत सेवाग्राहीले पार्किङका लागि दैनिक सास्ती खेप्दै आएका छन् । कर्मचारीबाहेकका सवारीलाई अस्पतालभित्र प्रवेश गर्न नदिइने भएकाले अस्पतालबाहिर रहेको सानो क्षेत्रमा गाडी पार्क गर्नुपर्ने बाध्यता छ ।