मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ भदौ ४ शनिबार १९:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कम वर्षा हुँदा कुलेखानीमा घट्यो पानी

Read Time : < 1 मिनेट
२०७९ भदौ ४ शनिबार १९:१९:००

साउनमै वर्षा कम हुँदा जलविद्युत् आयोजनाको जलाशय कुलेखानीमा पानी घटेको छ। नेपाल विद्युत् प्राधिकरणको मौज्दातको रूपमा रहेको जलाशय कुलेखानी क्षेत्रमा वर्षा कम हुँदा अघिल्ला वर्षको तुलनामा यस वर्ष पानीको सतह घटेको हो। 

०७८ असार–साउनताका कुलेखानी समुद्री सतहबाट १ हजार ५ सय १९ मिटर उचाइसम्म पानी भरिएको थियो। कुलेखानी प्रथम जलविद्युत् आयोजना कार्यालय प्रमुख धीरेन्द्र चौधरीका अनुसार यस वर्ष वर्षा कम भएकै कारण भदौ पहिलो साता सुरु भइसक्दा पनि समुद्र सतहबाट १ हजार २ सय ७० मिटर मात्र पानी रहेको छ। 

चौधरीले अघिल्लो वर्षको तुलनामा जलाशयको स्थिति हेर्दा नै पानीको मात्रा कम भएको थाहा पाइने बताए। ‘यसअघि असार महिनामै जलाधार क्षेत्रमा भारी वर्षा भएकाले जलाशयमा पानीको सतह बढेको देखिन्थ्यो। यसपटक पानी कम नपरेका कारण जलाशयमा पानीको सतह गत वर्षभन्दा कम भएको हो,’ उनले भने । 

१ हजार ५ सय ३० मिटर उचाइसम्म पानी भण्डारण क्षमता भएको कुलेखानीमा यसअघि असोजमा पानी बढी भएर ओभरफ्लो भएको थियो। कुलेखानीमा यस वर्ष गत वर्षको भन्दा पानीको सतह करिब १८ मिटर कम छ। वर्षा अवधि बाँकी नै रहेकाले असोजसम्म जलाशयमा पानी पर्याप्त हुने सम्भावना रहेको चौधरीले बताए।