१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ भदौ ३ शुक्रबार १८:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमतीमा घट्दै अपराध

Read Time : < 1 मिनेट
२०७९ भदौ ३ शुक्रबार १८:३३:००

बागमती प्रदेशमा पछिल्लो तीन वर्षको अन्तरालमा अपराधिक क्रियाकलाप घटेको छ। बागमतीमा पर्ने काठमाडौँ उपत्यका बाहेक १० जिल्ला समेटेर तयार पारिएको तथ्यांक अनुसार आर्थिक बर्ष २०७६/०७७, २०७७/०७८ र २०७८/०७९ मा वर्षेनी अपराधिक क्रियाकलाप घटेका हुन्। 

बागमती प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार कर्तव्य ज्यान, जबरजस्ती करणी र जघन्य अपराध जस्ता अपराधिक क्रियाकलाप घटेको देखिन्छ। कार्यालयका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक दीपक रेग्मीले मुद्दा दर्तामा २०७६/०७७ मा भन्दा २०७७/०७८ मा अपराध दर्ता ५.४६ र २०७७/०७८ मा भन्दा २०७८/०७९ मा अपराध दर्ता १.४० प्रतिशतले घटेको बताए। उनले २०७७/०७८ मा भन्दा २०७८/०७९ मा कर्तव्य ज्यान ७ र जबरजस्ती करणी १३ प्रतिशतले घटेको जानकारी दिए। 

बागमतीमा आव २०७६/०७७ मा कर्तव्य ज्यान ७७, २०७७/०७८ मा ६३ र २०७८/०७९ मा ५८ वटा मुद्दा दर्ता भएका छन्। आव २०७६/०७७ मा २ सय ५६, २०७७/०७८ मा ३ सय ७ र २०७८/०७९ मा २ सय ६५ वटा जबरजस्ती करणीका मुद्दा रहेका छन्। यो अवस्था हेर्दा जघन्य अपराधमा पर्ने कर्तव्य ज्यान र जबरजस्ती करणी घटेको देखिन्छ।

यसैगरी विभिन्न अपराधिक गतिविधिका मुद्दामा पनि कमि आएको छ। आर्थिक वर्ष २०७६/०७७ मा ४ हजार ५ सय ९४, २०७७/०७८ मा ४ हजार ३ सय ४३ र २०७८/०७९ मा ४ हजार ४ सय ५ वटा अपराधिक क्रियाकलापसँग सम्बन्धित मुद्दा दर्ता भएका थिए। 

जसमध्ये २०७६/०७७ मा ४ हजार ९७ फछ्र्यौट, २ सय ९७ बाँकी, २०७७/०७८ मा २ हजार ३ सय ६६ फछ्र्यौट १ हजार ९ सय ७७ बाँकी र २०७८/०७९ मा २ हजार ५ सय ११ फछ्र्यौट र १ हजार ८ सय ९४ मुद्दा बाँकी रहेको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ।