मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ भदौ ३ शुक्रबार १४:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वन मुद्दामा पक्राउ परेका व्यक्तिको हिरासतमै मृत्यु, आफन्त आन्दोलित

Read Time : < 1 मिनेट
२०७९ भदौ ३ शुक्रबार १४:१७:००

सुर्खेतमा हिरासतमा रहेका एकजनाको मृत्यु भएपछि आफन्त आन्दोलित बनेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– १३ भूतचोकका ५८ वर्षीय धनीराम लामिछाने हिरासतमा मृत भेटिएपछि आफन्त आन्दोलित बनेका हुन्।

हिरासतमा मृत भेटिएका लामिछाने वनसम्बन्धी मुद्दामा पक्राउ परेका थिए। वीरेन्द्रनगर नगरपालिकामा रहेको जिल्ला वन डिभिजन कार्यालयमा छामिछाने मृत भेटिएका थिए। बिहीबार पक्राउ परेका लामिछानेको वन कार्यालय पुर्‍याएलगत्तै मृत्यु भएपछि आफन्तहरू आन्दोलित बनेका हुन्।

सालको रूख काटेको आरोपमा वीरेन्द्रनगर सबडिभिजन कार्यालयका कर्मचारीहरूले उनलाई पक्राउ गरेका थिए। पक्राउ गरेर डिभिजन वन कार्यालयमा रहेको हिरासतमा राखेको केही समयमा उनको मृत्यु भएको थियो। पक्राउ गर्नेहरूले कुटपिट गरेकाले मृत्यु भएको मृतकका आफन्तको आरोप छ। कार्यालयमै पुगेर विरोध जनाएका आफन्तहरूले घटनाबारे सत्यतथ्य छानबिन नभएसम्म शव नबुझ्ने अडान लिएका छन्।

वन डिभिजन कार्यालयका अनुसार मदन भण्डारी राजमार्गमा पर्ने जंगलमा नम्बरिङ गरिएको रूख काटेको अभियोगमा उनलाई पक्राउ गरिएको थियो। सुरुमा धनीरामकी श्रीमतीलाई पक्राउ गरी वन कार्यालय लगिएको थियो भने पछि धनीराम पक्राउ परेका थिए। सोधपुछका लागि आफन्तलाई ल्याएर स्थानीय जनप्रतिनिधि र आफन्तको जमानी लगाएर छोड्ने कुरा भएको, तर उनी झुन्डिएको अवस्थामा फेला परेका डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख मुनबहादुर रावतले बताए। मृतकका आफन्तहरूले भने वन कर्मचारीले कुटपिटबाट मृत्यु भएपछि झुन्डाएर शव राखेको आरोप लगाएका छन्।