मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७५ चैत ९ शनिबार १०:१०:००
Read Time : > 2 मिनेट
खेलकुद

नेपालको साफ च्याम्पियन बन्ने सपना अधुरै

Read Time : > 2 मिनेट
२०७५ चैत ९ शनिबार १०:१०:००

पाँचाैं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सबै पक्ष नेपालकै हकमा भइरहेको थियो । तर, फाइनलमा नेपाली महिला खेलाडी मनोवैज्ञानिक र फाइटिङ स्पिरिटमा चुके । यही दुई पक्ष सुधार्न नसक्दा नेपाल शुक्रबार पुनः एकपटक साफ च्याम्पियनसिपमा उपविजेतामै सीमित भयो । विराटनगरको सहिद रंगशालामा साबिक चारपटकको विजेता भारतले नेपाललाई ३–१ ले हरायो । योसँगै भारतले पाँचौ संस्करणको उपाधि जित्यो । 

फाइटिङ स्पिरिटमा कमजोर 
घरेलु समर्थक र मैदानमा नेपालले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्‍यो । मध्यान्तरसम्मको खेलमा उपाधि भिडन्त एकपक्षीय नहुने छाँटकाँट देखियो । तर, मध्यान्तरपछि ठ्याक्कै उल्टो भयो । भारतले आफूलाई किन अपराजित टोली हो भन्ने प्रमाणित गर्‍यो । यता नेपाल बिस्तारै कमजोर हुँदै गयो  । नेपाली खेलाडी मानसिक रूपमा र फाइटिङ स्पिरिटमा कमजोर देखिँदा भारतले त्यसको भरपूर फाइदा लियो । स्वयं नेपालका प्रमुख प्रशिक्षक हरि खड्का पनि नेपाल यी दुवै पक्षमा चुकेको बताउँछन् । प्रशिक्षक खड्काले विशेषतः मध्यान्तरपछि फाइटिङ स्पिरिट कमजोर हुँदा नै नेपाल पुनः एकपटक उपाधिविहीन भएको बताए । ‘प्रत्येक खेल जित्न फाइटिङ स्पिरिट चाहिन्छ, यदि यो नै भएन भने खेल जित्न सकिँदैन,’ उपविजेता बनेपछि प्रशिक्षक खड्काले भने, ‘फाइनलमा खेलाडीले दोस्रो हाफमा फाइटिङ स्पिरिट देखाउन सकेनन् ।’ दोस्रो हाफमा गोल खाएपछि खेलाडी थकित देखिएको उनको विश्लेषण रह्यो । ‘मध्यान्तरपछि एकपछि अर्को गोल बेहोर्दा खेलाडी थाके पनि,’ उनले भने । 

अवसरको सदुपयोग भएन
खेलाडीलाई म्याच एक्सपोजर कति आवश्यक पर्छ भन्ने फाइनलले प्रमाणित गरेको छ । नेपालको तुलनामा भारतीय खेलाडीले धेरै म्याच एक्सपोजर पाएका छन् । नेपाली खेलाडीले सीमित मात्र एक्सपोजर पाउँछन् । एक्सपोजरप्राप्त खेलाडीले खेल परिवर्तन कसरी गर्न सक्छन्, भारतीय खेलाडीले विराटनगरमा देखाएका छन् । उनीहरूले प्राप्त अवसरमा गोल गर्दै गए र उपाधि आफैँले राख्न सफल भयो । यता नेपाली खेलाडीले घरेलु मैदानमा समर्थकको अपार समर्थन हुँदाहुँदै पनि सहज मौकासमेत गुमाए । नेपालका प्रशिक्षक खड्काले अवसर चुकाउँदा पनि उपाधि गुमेको बताए ।  ‘नेपालले पहिलो हाफमा स्पष्ट ३ गोल अवसर पाएको थियो, तर खेलाडीले त्यसलाई सदुपयोग गर्न सकेनन्,’ खड्काले भने, ‘भारतले अवसरको सदुपयोग गरेका कारण नै उपधि जितेको हो ।’ पछिल्लो केही समययता नेपालकी एक नम्बर गोल स्कोरर बनेकी सावित्रा भण्डारीले नै मध्यान्तरअघि निकै राम्रा ३ अवसर चुकाएकी थिइन् ।

दोस्रो गोल नै हारको कारण
खेलको २६औँ मिनेटमा भारतकी डालिमा छिब्बरले सानदार गोल गर्दै भारतलाई १–० को अग्रता दिलाइन् । उनले ३५ यार्ड टाढाबाट उत्कृष्ट फ्रिकिक प्रहार गर्दै सीधै गोल गरिन् । खेलको ३३औँ मिनेटमा नेपालकी सावित्राले १–१ का लागि गोल फर्काइन् । सावित्राले पुनम मगरको पासमा बराबरी गोल फर्काएकी हुन् । सावित्राको गोलसँगै नेपालको उपाधि जित्ने आशा पुनः जाग्यो । तर, ६३औँ मिनेटमा ग्रेस दाङमेईले एकल प्रयासमा भारतलाई २–१ को अग्रता दिलाएपछि नेपाल खेलमा फर्कन सकेन । प्रशिक्षक खड्का पनि भारतको दोस्रो गोलसँगै नेपालको पक्षबाट खेल गएको बताउँछन् । उनले दोस्रो गोललाई नै उपाधिविमुख हुनुको टर्निङ प्वाइन्टका रूपमा विश्लेषण गरे । ‘यदि दोस्रो गोल नखाएको भए, खेलको नतिजा जे पनि हुन सक्थ्यो,’ खड्काको विश्वास थियो, ‘हामीले सो गोल आफ्नै गल्तीमा खायौँ, क्लियर गर्नुपर्ने बलमा विपक्षी खेलाडी गोल गर्न सफल भए ।’ खेलको ७८औँ मिनेटमा वैकल्पिक खेलाडी अन्जु तामाङको गोलसँगै भारतले फाइनल खेल ३–१ ले जित्यो । 

बंगलादेशलाई फेयर प्ले
प्रतियोगितामा बंगलादेशले फेयर प्ले अवार्ड जितेको छ । प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयर भारतकी डालिमा छिब्बर भइन् । प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी नेपालकी सावित्रा र भारतकी इन्दुमती कतिरसेना भए । दुवै समान ४ गोल गर्न सफल भए ।  नेपालले भुटान र बंगलादेशलाई समान ३–० को अन्तरमा हराउँदै सेमिफाइनल स्थान सुरक्षित गरेको थियो । नेपालले सेमिफाइनलमा श्रीलंकालाई ५–० ले हरायो ।