१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
यी फुक्सियान
२०७९ भदौ ३ शुक्रबार ०८:४९:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

तीव्र रूपमा घट्दै छ चीनको जनसंख्या

Read Time : > 2 मिनेट
यी फुक्सियान
२०७९ भदौ ३ शुक्रबार ०८:४९:००

चीनका अधिकारिक जनसांख्यिकीय आँकडा प्रणालीगत रूपमै बढाई–चढाई प्रस्तुत गरिएका छन् भन्ने सबैलाई थाहा छ । यो तथ्यांकमाथि प्रश्न उठाउनेहरू चिनियाँ अधिकारीको प्रकोपमा पर्ने गरेका छन् । उदाहरणका लागि, चीनको एक–सन्तान नीतिबारे चिन्ता गर्दै चीनको जनसंख्या सन् ०३३–३४ होइन कि सन् ०१७ देखि नै खुम्चिन सुरु हुने प्रक्षेपण गरेको मेरो पुस्तक ‘बिग कन्ट्री विथ एन एम्प्टी नेस्ट’लाई सन् २००७ मा प्रकाशन भएलगत्तै प्रतिबन्धित गरिएको थियो । किनभने, चिनियाँ अधिकारी र संयुक्त राष्ट्रसंघको ‘२००६ वल्र्ड पपुलेसन प्रोस्पेक्ट (डब्लुपिपी)’ले चीनको जनसंख्यामा ०३३–३४ देखि मात्रै संकुचन आउन सुरु हुने प्रक्षेपण गरेका थिए । 

सन् २०१९ मा मैले चीनको जनसंख्यालाई भारतले सन् २०१४ मै उछिनेको र सन् २०१८ मा (दुई–सन्तान नीतिका कारण मेरो आकलनभन्दा एक वर्षपछि) त चीनको जनसंख्या ओरालिनै सुरु भइसकेको निष्कर्ष निकालेँ । प्रतिक्रियामा, चिनियाँ तथ्यांक विभागका प्रमुख मलाई अफवाह फैलाएको आरोप लगाउन चीनको केन्द्रीय प्रसारण ‘चाइना सेन्ट्रल टेलिभिजन’मै पुगे । पिपुल्स डेली अनलाइनले मेरो निष्कर्षलाई ‘टप टेन रिह्युमर्स अफ २०१९ इन चाइना’को तेस्रोमा सूचीकृत गर्‍यो । अहिले युएनले ‘२०२२ डब्लुपिपी’ सार्वजनिक गरेको छ, जसले चीनको जनसंख्या यस वर्षदेखि खस्कन सुरु भएको (सन् २०१९ मा गरेको प्रक्षेपणभन्दा दश वर्षअघि नै) र भारतले चीनको जनसंख्यालाई सन् २०२३ देखि (सन् २०१९ को प्रक्षेपणभन्दा सात वर्षअगावै) उछिन्ने निष्कर्ष निकालेको छ । यद्यपि, अझै डब्लुपिपीले अघिल्ला संस्करणमा जस्तै चिनियाँ जनसंख्यालाई बढाई–चढाई प्रस्तुत गरिरहेको छ ।

चीनले सन् २०१४ सम्म पनि एक सन्तान नीतिलाई ऐच्छिक दुई सन्तान नीतिले प्रतिस्थापन गरेको थिएन, सार्वभौम दुई–सन्तान नीति २०१६ देखि मात्रै लागू भएको हो । एक सन्तान नीतिले चिनियाँको प्रजनन अवधारणालाई अपरिवर्तनीय रूपले बदलेको छ र अर्थतन्त्रलाई नयाँ आकार दिएको छ । सन् २०१५, २०१७ र त्यसपछि पनि चीनमा बालबालिकाको संख्यामा वृद्धि भएको छैन । यस्तोमा सन् २००४ र सन् २०११ मा बालबालिकाको संख्या शिखरमा पुगेको प्रतिवेदनको अर्थ के लगाउने ?

चीनमा हरेक नवजात शिशुलाई जन्मेको २४ घन्टाभित्रै बिसिजी खोप अनिवार्य छ । एक मात्रा बिसिजीबाट (साना अस्पतालमा एक शिशु र ठूला अस्पतालमा तीनजनासम्म) औसतमा १.२–१.५ नवजातलाई लगाउन सकिन्छ भन्ने सबैलाई थाहा छ । सन् २०१० मा एक करोड १५ लाख ४० हजार बिसिजी डोज वितरण भएको देखिन्छ भने २०१० को जनगणनाले चीनमा एक करोड ३७ लाख ९० हजार बच्चा जन्मिएको देखाउँछ । यसअनुसार प्रतिडोज बिसिजीबाट औसतमा १.२ नवजातलाई खोप लगाइएको थियो । 

अनपेक्षित रूपले तीव्र गतिमा वृद्ध बन्दै गएको जनसंख्याले चीनको अर्थतन्त्रलाई सुस्त बनाइरहेको छ, राजस्व घटाइरहेको छ, सरकारको ऋणभार बढाइरहेको छ 
 

सन् २०१८, २०१९ र २०२० मा वितरित बिसिजीको डोज क्रमशः ६२ लाख १० हजार, ५७ लाख ३० हजार र ५३ लाख ७० हजार रहेको छ । यसको अर्थ चीनको जनसंख्या (कुल मृत्यु ९९ लाख ३० हजारसहित) सन् २०१८ बाटै कम हुन थालेको थियो भन्ने प्रस्ट हुन्छ । साथै, यसले छिटै चीनमा प्रतिवर्ष नयाँ जन्मिने बच्चाको संख्या नाइजेरिया र पाकिस्तानको भन्दा कम हुने देखाउँछ । 

गुगलको चिनियाँ समकक्षी वाइडु ट्रेन्सलेले पनि यो नतिजालाई थप पुष्टि गर्छ (यसले सन् २०१८ मा प्रसूतिजन्य किनमेल घटेको देखाउँछ) ।डब्लुपिपी (२०२२)मा उल्लेख भएको सन् २०१८, २०१९ र २०२० को जनसंख्याको आकडा हेर्ने हो भने प्रत्येक डोज बिसिजीले क्रमश २.७, २.६ र २.५ नबजातलाई खोप लगाइएको मान्नुपर्ने हुन्छ । यसले चिकित्सासम्बन्धी सामान्य ज्ञानलाई नै अस्वीकार गर्छ ।

सौभाग्यवश, गत जुलाईमा सांघाई प्रहरी विभागबाट चुहावट गरिएको विशाल डाटाले केही रहस्योद्घाटन गरेको छ । करिब एक अर्ब चिनियाँ नागरिकको व्यक्तिगत विवरण प्राप्त गरेको दाबी गर्ने एक अज्ञात ह्याकरले सबै समूहका दुई लाख ५० हजार मानिसको घरपरिवार दर्तालगायत सात लाख ५० हजार नमुना रेकर्ड सार्वजनिक गरिदिएको थियो । भद्रगोल र ¥यान्डम (अनियमित) भए पनि यी नमुना डाटाले एकदमै न्यून आवादीयुक्त तिब्बती विकट बस्तीसहित लगभग हरेक काउन्टीलाई समेट्छन् । यो सन् २०२०को तथ्यांकसँग मिल्दो देखिन्छ ।

यी नमुनामा एकरूपता नभएकाले देशभरका सबै खाले उमेर समूहको संख्या इंगित गर्न त सम्भव छैन, यद्यपि यो विगतका जनगणनाको उमेर समूह वितरणको समग्र बान्कीसँग भने मेल खान्छ । यसले सन् १९९० पछि नयाँ जन्म मैले अपेक्षा गरेभन्दा पनि निकै तीव्र रूपले निरन्तर ओरालो लागेको देखाउँछ । अनपेक्षित रूपले तीव्र गतिमा वृद्ध बन्दै गएको जनसंख्याले चीनको अर्थतन्त्रलाई सुस्त बनाइरहेको छ, राजस्व घटाइरहेको छ, सरकारको ऋणभार बढाइरहेको छ । यो वर्ष प्रान्तहरूले कर्मचारीको पारिश्रमिक तथा पूर्वाधार लगानीमा कटौती गरेका छन् । स्पष्ट छ, चीनको रणनीतिक विस्तारलाई सहयोग गर्ने जनसांख्यिकीय आधार अब रहेन । 

(फुक्सियान विस्कन्सिन–मेडिसिनका वरिष्ठ बाल तथा स्त्रीरोग विज्ञ हुन्)प्रोजेक्ट सिन्डिकेटबाट