मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२०७९ भदौ ३ शुक्रबार ०७:३७:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राप्रपासहित साना दलसँग  तालमेल गर्ने मुडमा एमाले 

Read Time : > 4 मिनेट
२०७९ भदौ ३ शुक्रबार ०७:३७:००

एमालेले रुचिका साथ साना दलसँग देशव्यापी गठबन्धन र तालमेल गर्नेभन्दा पनि स्थानीय आवश्यकताका आधारमा राप्रपासहितका साना दलसँग मिल्न सक्ने ढोका मात्रै अहिलेलाई खुला राखेको छ

सत्तापक्ष केन्द्रीय तहबाटै चुनावी गठबन्धन कसिलो बनाउने गरी अघि बढेपछि दबाबमा आएको प्रमुख विपक्षी एमालेले पनि गठबन्धनबाहिरका साना दलसँग जिल्ला तहमा आंशिक तालमेलमा अग्रसरता देखाएको छ । मंगलबार दल दर्ताको समयसीमा सकिएसँगै एमालेले सरकारबाहिर रहेका केही साना दलसँग जिल्लाहरूमा तालमेलको ढोका खुला राखेर छलफल गरेको हो । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा मालेका अध्यक्ष सिपी मैनाली र जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले एमाले अध्यक्ष ओलीलाई भेटेर सहकार्यको प्रस्ताव राखेका छन् । ओलीले पनि स्थानीय आवश्यकताअनुसार तालमेल र सहकार्यका लागि छलफल गर्न सकिने सकारात्मक जवाफ दिएपछि साना दल एमालेसँग आशावादी छन् । यद्यपि, छलफल प्रारम्भिक तहमै रहेकाले सहकार्य र तालमेलको टुंगो लागिनसकेको एमाले र साना दलका नेताको भनाइ छ । 

एमालेले सम्भावित सहकार्य र तालमेलका विषयमा समेत छलफल गरेर ठोस निर्णयमा पुग्नका लागि ७ भदौमा स्थायी समिति बैठक बोलाएको छ । त्यसलगत्तै ८ भदौमा पोलिटब्युरो तथा ९ र १० मा केन्द्रीय कमिटी बैठक बस्दै छ । ती बैठकबाट मात्र गठबन्धन, तालमेल वा सहकार्यबारे ठोस धारणा बनाइने भएकाले अहिल्यै कुनै टुंगो लागिनसकेको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए । 

डा. भीष्म अधिकारी केन्द्रीय कार्यालय सचिव

स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठकले नै तालमेल, सहकार्य वा गठबन्धनबारे  ठोस निष्कर्षसहितको मार्गनिर्देशन गर्नेछ 

‘चुनाव लागेपछि पार्टी अध्यक्षसँग अन्य पार्टीका कतिपय नेताको कुराकानी हुने स्वाभाविक छ, तर चाँडै केन्द्रीय कमिटी बैठक बस्ने भएकाले अहिले नै पार्टी कसरी अगाडि बढ्छ भन्ने अवस्था बनिसकेको छैन,’ अधिकारीले नयाँ पत्रिकासँग भने, ‘स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठकले नै तालमेल, सहकार्य वा गठबन्धनका बारेमा पनि ठोस निष्कर्षसहितको मार्गनिर्देशन गर्नेछ ।’ 

एमालेले रुचिका साथ साना दलसँग देशव्यापी गठबन्धन र तालमेल गर्नेभन्दा पनि स्थानीय आवश्यकताका आधारमा राप्रपासहितका साना दलसँग मिल्न सक्ने ढोका मात्रै अहिलेलाई खुला राखेको छ । अहिलेसम्म गठबन्धनसँग आफ्नै बलमा प्रतिस्पर्धा गर्ने, तर सम्भावित सहकार्यको ढोका भने खुला राखेर अघि बढ्ने एमालेको चुनावी रणनीति छ । 

राप्रपासँग तालमेल बाध्यात्मक अवस्था बन्दै
२६ साउनमा एमालेले वैचारिक–राजनीतिक रूपमा धेरै भिन्न भए पनि बाध्यात्मक गठबन्धनको विकल्पका रूपमा राप्रपास“ग तालमेलबारे छलफल गरेको थियो । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्ने विषयमा एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच छलफल भएको हो । त्यसलगत्तै ३० साउनमा बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचनका लागि तालमेल गर्ने निर्णय गर्दै अन्तिम निर्णय लिने जिम्मेवारी अध्यक्ष लिङ्देनलाई दिएको छ । 

‘दुवै अध्यक्ष एकै जिल्लाका हुनुहुन्छ, त्यसमाथि ०७४ को निर्वाचनमा पनि एक–अर्काको क्षेत्रमा सहकार्य गर्नुभएको थियो,’ राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने, ‘त्यसैले यसपटक पनि सत्तारूढ दलले गठबन्धन बनाएको अवस्थामा कसरी अघि बढ्ने भनेर छलफल भएको छ । प्रारम्भिक भेटघाटमा विषय उठान भए पनि विस्तृत छलफल भने भइसकेको छैन ।’

गत स्थानीय चुनावमा भने एमालेले राप्रपाबाट फुटेर बनेको कमल थापा नेतृत्वको राप्रपा नेपालसँग सहकार्य गरेको थियो । तर, केही स्थानमा भएको तालमेल प्रभावकारी नदेखिएपछि यसपटक ओली आफ्नै जिल्लावासी नेता लिङ्देन नेतृत्वको राप्रपातिर मोडिएका छन् । स्थानीय निर्वाचनको अंकगणितले झापामा ओली र लिङ्देन दुवैलाई सहकार्यविना चुनाव जित्न गाह्रो देखिएपछि उनीहरू वैकल्पिक गठबन्धनको गृहकार्यमा जुटेका छन् । दुई पार्टी मिल्दा ओली र लिङ्देनलाई झापाबाट गठबन्धनसँगको प्रतिस्पर्धा सहज बन्न सक्नेछ ।

०७४ को प्रतिनिधिसभा निर्वाचनमा ओली झापा– ५ र लिङ्देन क्षेत्र– ३ बाट उठेका थिए । ओलीको निर्वाचन क्षेत्रमा राप्रापाको राम्रो पकड छ । उता लिङ्देनका क्षेत्रमा कांग्रेसका तर्फबाट कृष्ण सिटौला उम्मेदवार थिए । दुवैले सहज जित निकाल्न त्यतिवेला एक–अर्कालाई सघाएका थिए । 

एमाले नेतृत्वमा वाम–राष्ट्रवादी गठबन्धन : माले
नेकपा मालेका महासचिव सिपी मैनालीले पनि एमालेसँग तालमेलका लागि इच्छा देखाएका छन् । २१ साउनमा बसेको माले केन्द्रीय कमिटीको बैठकले निर्णय एमालेको नेतृत्वमा वाम–राष्ट्रवादी गठबन्धन बनाउन सकिने निर्णय गरेको छ ।

‘अहिलेको राष्ट्रिय आवश्यकता व्यापक वाम चुनावी सहकार्य वा गठबन्धन र स‍ो सम्भव नभएको अवस्थामा वाम–राष्ट्रवादी चुनावी सहकार्य वा गठबन्धनको निर्माण हो भन्ने कुरामा नेकपा (माले) जनहरूले स्पष्ट रहनुपर्छ,’ प्रवक्ता कुमार बेल्वासेद्वारा जारी विज्ञप्तिमा छ । व्यापक वाम गठबन्धन सम्भव नभए एमालेको नेतृत्वमा न्यूनतम कार्यक्रममा आधारित भएर त्यस्तो गठबन्धन बनाउन सकिने मालेको बैठकले ठहर गरेको छ । माले महासचिव मैनालीले ओलीलाई साउनमै दुईपटक भेटेका छन् । पछिल्लो भेटमा सूर्य चिह्न लिएर लड्ने वा तालमेल गर्ने इच्छा जनाएका थिए । एमालेले साथ दिएमा झापाबाट प्रत्यक्षमा चुनाव लड्ने मुडमा मैनाली छन् । पछिल्लो एक कार्यक्रममा मैनालीलाई ओलीले एमालेमै आउन सार्वजनिक रूपमा आग्रहसमेत गरेका थिए । 

प्रतिनिधिसभामा एमालेले बहुमत ल्याउँछ : ओली 

एमाले अध्यक्ष केपी ओलीले आगामी प्रतिनिधिसभा निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने दाबी गरेका छन् । झापाको कचनकवलमा बिहीबार भएको आमसभामा उनले यस्तो बताएका हुन् । 

सबैखाले गठबन्धनसँग एमाले एक्लै भिड्ने र गठबन्धनलाई पराजित गर्ने उनको भनाइ थियो । ‘एमालेसँग लड्ने हिम्मत नभएका कमजोरहरू गठबन्धन गर्दै छन् । एक्लै लड्ने हिम्मत नभएका साँटघाँठ गर्दै छन्,’ उनले भने, ‘एक्लाएक्लै लड्ने क्षमता नभएकाले गठबन्धन गर्दै छन् । अपवित्र साँठघाँठको नाम गठबन्धन ! अहिले त आठ–नौवटा पुर्‍याउने भन्दै छन् । त्यो गठबन्धनको कति पार्टी छन् मतलब छैन । त्यो गठबन्धनमा यहाँ प्रवेश गरेका मान्छेजति पनि छैनन् । गठबन्धनको कुनै अर्थ छैन ।’ 

उनले जित्छु भनेर उच्च मनोबल लिएर अघि बढ्न कार्यकर्तालाई आग्रह गरे । प्रत्यक्ष र समानुपातिक दुवैमा बहुमत ल्याउने दाबी उनले गरे । उक्त जिम्मवारी जनताको हातमा रहेको बताए । एमालेसँग डराएर गठबन्धन बनेको आरोप लगाएका ओलीले एमालेले हारे देशले हार्ने दाबी गरे । 

‘यो निर्वाचन देशको भाग्य–भविष्य फैसला गर्ने निर्वाचन हो । नेकपा एमालेले जितेन भने देश बर्बादीतर्फ जान्छ । देशलाई बर्बादीबाट जोगाउनका निम्ति एमालेले जित्नुपर्छ,’ उनले भने, ‘एमालेले आफूले सरकार बनाउन र आफूले जित्न होइन देशलाई जिताउन जित्ने हो । एमालेले हार्‍यो भने देशले हार्छ । एमालेले हार्दा विकासको अभियान र लोकतन्त्रले हार्छ । त्यही भएर एमालेले जित्नुपर्छ ।’ एमालेले गरेको काम घरघरमै प्रचार गर्न कार्यकर्तालाई निर्देशन दिए ।

ओलीसँग त्रिपाठीको सहकार्य प्रस्ताव

त्यस्तै, जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले सोमबार ओलीसमक्ष सहकार्यको प्रस्ताव राखेका छन् । ओलीनिवास बालकोटमा सोमबार भएको भेटवार्तामा दुई नेताबीच चुनावमा सहकार्यसहित अगाडि बढ्न सकिने प्रारम्भिक समझदारी भएको छ । भेटवार्तामा सँगसँगै जान सकिन्छ भन्ने सामान्य समझदारी भए पनि सहकार्यसँग जोडिएका प्राविधिकलगायत विषयमा भने विस्तृतमा कुराकानी नभएको त्रिपाठीले जानकारी दिए । 

‘हामीले अघिल्लो निर्वाचनमा पनि वाम गठबन्धनकै हिस्साका रूपमा सँगै चुनाव लडेका थियौँ, त्यसैले अबको चुनावमा पनि सँगसँगै जान सकिन्छ भन्ने सामान्य समझदारी भएको छ,’ त्रिपाठीले नयाँ पत्रिकासँग भने, ‘सहकार्यको प्राविधिक पक्षसहित विस्तृत कुराकानी भने भइसकेको अवस्था होइन ।’

राजपा छाडेपछि त्रिपाठी र वृजेशकुमार गुप्ताले ०७४ को प्रतिनिधिसभा चुनावमा सूर्य चिह्न लिएर चार सिटमा प्रतिस्पर्धा गरेका थिए । चुनावपछि ओली नेतृत्वको सरकारमा त्रिपाठी स्वास्थ्य तथा जनसंख्यमन्त्री भए । गुप्ता भने एमाले प्रवेश गरेर केन्द्रीय सदस्य बनिसकेका छन् । त्रिपाठी भने जनता प्रगतिशील पार्टी बनाएर क्रियाशील छन् ।