मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ भदौ २ बिहीबार ०७:१०:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

सुक्खा र गर्मीले बेहाल चीन

वर्षा गराउन आकाशमा बिउ–बादल रोप्दै

Read Time : > 2 मिनेट
२०७९ भदौ २ बिहीबार ०७:१०:००

सधैँ बाढीको दुःख खेप्ने चीनको ठूलो भूभाग अहिले खडेरीले बेहाल छ । जलाधार क्षेत्रमा खडेरी पर्दा यहाँको महत्वपूर्ण नदी यांत्से सुकेर खिरिलो भएको छ । यांत्से नदीमा बहाव बढाउन चिनियाँ विमानले आकाशमा वर्षा गराउने ‘रड’हरू फायर गरिरहेका छन् ।यांत्से नदीको थुप्रै क्षेत्रमा अहिले मौसम परिमार्जनका कार्यक्रम सञ्चालित छन् । यो नदीको जलाधार क्षेत्रका सुक्खाग्रस्त केही भागमा बादलको तह एकदमै पातलो भएकाले कृत्रिम बादलमार्फत वर्षा गराउने प्रयास भइरहेको छ ।

चीनको जलस्रोत मन्त्रालयले बुधबार एउटा सूचनामा यांत्से नदीको जलाधार क्षेत्रमा परेको खडेरीले ‘ग्रामीण जनता र पशुधनको खानेपानी सुरक्षा तथा बालीको वृद्धिमा प्रतिकूल असर पारेको’ भनेको छ । मध्य चीनको हुवेई प्रान्तले पनि बुधवार वर्षा उत्पन्न गर्न ‘सिल्भर आयोडिन रड’हरू प्रयोग गरर बिउ–बादल उत्पन्न गर्ने घोषणा गरेको छ । यस्तो घोषणा गर्ने यो प्रान्त पछिल्लो हो । 

चीनकै हुवेई प्रान्तका कम्तीमा ४२ लाख मानिस जुन महिनायता थुप्रैपटक कडा खडेरीबाट प्रभावित भएको हुवेईको प्रान्तीय आपत्काल व्यवस्थापन विभागद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । एक लाख ५० हजारभन्दा धेरै मानिसले खानेपानीको पहुँचमा कठिनाइको सामना गरिरहेको र चार लाख हेक्टरको बाली उच्च गर्र्मी र सुक्खाका कारण नष्ट भएको उल्लेख छ ।

अमेरिकाको लेक मिड र जर्मनीको राइन नदीलगायत प्रचण्ड गर्मी र न्यून वर्षाबीच सुक्दै र साँघुरिँदै गएका उत्तरी गोलार्धका थुप्रै नदी र तालमध्ये यांत्से पनि एक हो । यी चरम मौसमी घटनालाई जीवाश्म इन्धनद्वारा सञ्चालित मानव–प्रेरित जलवायु संकटले तीव्र बनाएका छन् ।

समुदायहरू अक्सर आर्थिक गतिविधिका लागि पानीका स्रोतमा निर्भर हुने भएकाले अनुकूलन उपाय र राहत कोषद्वारा सरकारहरूले हस्तक्षेप गरिरहेका छन् । चीनले पनि बाली र पशुधनमा परेको असरलाई सम्बोधन गर्न यस्ता कोषको परिचालन र नयाँ आपूर्ति स्रोतहरूको विकास गरिरहेको छ । केही पशुधनलाई अस्थायी रूपले अन्य क्षेत्रमा सारिएको चीनको वित्त मन्त्रालयले जानकारी दिएको छ । नदी प्रवाह बढाउन थ्रिगर्जेज ड्यामबाट आगामी १० दिनमा ५० करोड घनमिटर पानी छोड्ने योजना गरेको चीनको जलस्रोत मन्त्रालयले मंगलबार भनेको छ ।

गर्मीले चीनको दक्षिण पश्चिमी प्रान्त सिचुआनका अधिकारीलाई पनि अत्याएको छ । मुलुकको महत्वपूर्ण म्यानुफ्याक्चरिङ हब र लगभग आठ करोड ४० लाख जनसंख्या भएको यो प्रान्तले ऊर्जा अभावलाई सहज बनाउन यहाँका सबै कलकारखाना आगामी ६ दिन बन्द गर्न आदेश दिएको छ ।जलवायुको रेकर्ड राख्न थालिएयताको ‘सबैभन्दा लामो’ र ‘सबैभन्दा बलियो’ हिटवेभ(लु) आएपछि बुधबार चीनले देशका कम्तीमा १३८ सहर र काउन्टीमा सबैभन्दा उच्चस्तरको सतर्कर्ता अर्थात् रेड अलर्ट चेतावनी जारी गरेको छ । अन्य ३७३ स्थानमा दोस्रो उच्चस्तरको चेतावनी अर्थात् ओरेन्ट अलर्ट जारी गरिएको देशको मौसम प्रशासनको भनाइ छ । 

सोमबार चीनमा हिटवेभ आउन थालेको ६४ दिन भयो र यससँगै अहिलेको हिटवेभ सन् १९६१ मा मौसमको स्तर रेकर्ड राख्न थालेयताको अर्थात् ६ दशकभन्दा बढी समयको सबैभन्दा लामो बनेको चीनको राष्ट्रिय जलवायु केन्द्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । केन्द्रले अहिलेको हिटवेभलाई पनि रेकर्ड राख्न थालिएयताको ‘सबैभन्दा बलियो’ बताएको छ । उसले आगामी केही दिन स्थिति खराब हुन सक्ने चेतावनी दिएको छ । ‘यसपटकको हिटवेभ लामो, बृहत्तर र विषमताका हिसाबले बलियो छ । यी सबै संकेतलाई मिलाएर हेर्दा चीनमा हिटवेभ निरन्तर रहनेछ र यसको तीव्रता बढ्नेछ’ विज्ञप्तिमा भनिएको छ । 

चीनले हिटवेभको रेकर्ड राख्न सुरु भएदेखि यताकै सबैभन्दा धेरै काउन्टी र सहरमा ४० डिग्री सेल्सियसभन्दा बढी तापमान मापन भएको छ । देशका २६२ मौसम केन्द्रमा ४० डिग्री सेल्सियस र त्योभन्दा माथिको तापमान रेकर्ड भएको छ । आठ केन्द्रले ४४ डिग्री सेल्सियस तापमान रेकर्ड गरेका छन् । सिचुआन जलाधार क्षेत्र र मध्यचीनको ठूलो भागमा अगस्ट २६ सम्म तापक्रम उच्च रहने पूर्वानुमान गरिएको छ ।