मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मुना कुँवर काठमाडाैं
२०७९ भदौ २ बिहीबार ०६:५७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई घर बनाउन ७५ लाखसम्म सापटी दिने

कोषबाट नौ प्रतिशत ब्याजमा अधिकतम २० वर्षे सापटी पाइने

Read Time : > 1 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७९ भदौ २ बिहीबार ०६:५७:००

सामाजिक सुरक्षा कोषले बुधबारदेखि योगदानकर्तालाई सापटी सुविधा योजना सञ्चालनमा ल्याएको छ । यो सुविधाअनुसार कोषमा योगदान गरेका श्रमिकले न्यूनतम नौ प्रतिशत ब्याजदरमा २० वर्षसम्मको सापटी पाउँनेछन् । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले योगदानकर्ता सापटी निर्देशिका २०६९ जारी गर्दै कोषमा योगदान गर्दै आएका श्रमिकलाई पैसा सापटी दिने व्यवस्था गरेको हो । 

बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले योगदानकर्ता विनयकुमार महतो र पवनबाबु प्रधानलाई सो सुविधा हस्तान्तरण गर्दै योजनाको सुरुवात गरे । त्यस्तै, सोल्टी होटेलमा कार्यरत केशव खड्कालाई अवकाश भुक्तानी प्रदान गरे । निर्देशिकाबमोजिम कोषले योगदानकर्ता घरसापटी, शैक्षिक सापटी, सामाजिक कार्य सापटी र विशेष सापटी प्रदान गर्नेछ । विषेश सापटीमा ९.१ प्रतिशत ब्याजदरमा नै प्रदान गरिनेछ भने अन्य सापटीका लागि ९.७५ प्रतिशत ब्याजदर तोकिएको कोषका प्रवक्ता विवेक पन्थीले बताए ।

 सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले घर निर्माण र मर्मतका लागि ७५ लाख रुपैयाँसम्म सापटी पाउने भएका छन् । योगदानकर्ता सापटी निर्देशिकाअनुसार कोषले नयाँ घर निर्माण, आफ्नो स्वामित्वमा घरमा तला थप्न तथा मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्न सापटी पाउने भएको हो । यस्तो सापटी अनिवार्य अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्तालाई प्रदान गरिनेछ । 

घर निर्माण गर्न कम्तीमा दुई किस्ता र अधिकतम चार किस्तामा रकम पाइनेछ  । पहिलो किस्ता स्वीकृत सापटीको बढीमा २५ प्रतिशत र बाँकी किस्ता मूल्यांकनकर्ताले सिफारिस गरेको प्रगति विवरणका आधारमा कायम गरिनेछ । तर, घर खरिद गर्दा स्वीकृत रकम एकमुष्ठ प्रदान गरिने निर्देशिकामा उल्लेख छ । योगदानकर्ताले घर सापटीको पहिलो किस्ता लिएको बढीमा २म्० वर्षभित्र सापटी चुक्ता गर्नुपर्नेछ । तर, योगदानकर्ताले जुनसुकै कारणले कोषमा नियमित योगदान गर्न छाडेमा त्यसरी योगदान गर्न छोडेको ६ वर्षभित्र त्यस्तो सापटी चुक्ता गरिसक्नुपर्नेछ । त्यस्तै, योगदानकर्ताले लिएको घरसापटी चुक्ता गरेमा पुन : घरसापटी पाउनेछ । 

 ३५ लाखसम्म शैक्षिक सापटी
सामाजिक सुरक्षा कोषले अधिकतम ३५ लाख रुपैयाँसम्म शैक्षिक सापटी दिने भएको छ । योगदानकर्ताको परिवारका दुईजना सदस्यसम्मलाई यस्तो सापटी प्रदान गरिनेछ । 
शैक्षिक सापटी स्वीकृति गर्दा धितो मूल्यांकनबाट कायम भएको रकममा नबढ्ने गरी ३५ लाख रुपैयाँ, सम्बन्धित शिक्षण संस्थामा लाग्ने वास्तविक खर्चमध्ये जुन कम हुन्छ सो रकमसम्म प्रदान गर्न स्वीकृति गरिनेछ । शैक्षिक सापटी एकमुष्ठ वा बढीमा चार किस्तामा भुक्तानी गर्न सकिनेछ । 

योगदानकर्ताले लिएको शैक्षिक सापटी चुक्ता गरेमा पुनः शैक्षिक सापटी प्रदान गर्न सकिनेछ । यसरी पुनः सापटी प्रदान गर्न सबै प्रक्रिया पूरा गर्नुपर्नेछ । योगदानकर्ताले अनिवार्य अवकाश हुने अवधि ननाघ्ने गरी सहुलियत अवधिसहित शैक्षिक सापटीको पहिलो किस्ता लिएको बढीमा १५ वर्षभित्र सापटी चुक्ता गर्नुपर्नेछ । तर, योगदानकर्ताले कोषमा नियमित योगदान गर्न छाडेमा ६ वर्षभित्र त्यस्तो सापटी चुक्ता गरिसक्नुपर्नेछ । 

धितोेअनुसार सामाजिक कार्य सापटी
योगदानकर्ता आफू वा एकाघर, सगोलको परिवारको सदस्यको सामाजिक कार्यका लागि कोषले सापटी प्रदान गर्नेछ । विवाह, व्रतबन्ध, काजकिरिया, गुन्युचोलो, पासनीलगायत कार्यका लागि यस्तो सापटी पाइनेछ । त्यस्तै, कोषमा कम्तीमा ३६ महिना योगदान रकम जम्मा गरेका योगदानकर्ताको जसको अवकाश कोष योजनामा जम्मा भएको रकमको अधिकतम ८० प्रतिशत रकमसम्म  प्रदान गरिनेछ ।