Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवीन अर्याल काठमाडाैं
२०७९ भदौ २ बिहीबार ०६:३०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अन्तर्राष्ट्रिय विमानस्थलबारे विज्ञ समूहले काम थाल्यो

विज्ञ समूहले एक महिनाभित्र सम्भावित ठाउँको पहिचान गरी सिफारिस गर्नेछ

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७९ भदौ २ बिहीबार ०६:३०:००

पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन उपयुक्त ठाउँ पहिचान गर्न गठित विज्ञ समूहले काम सुरु गरेको छ । विज्ञ समूहले एक महिनाभित्र सम्भाव्यता अध्ययन गरेर पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सकिने सम्भावित ठाउँ पहिचान गरी सिफारिस गर्नेछ । मंगलबार दिउँसो बसेको विज्ञ समूहको पहिलो बैठकले प्रत्येक सदस्यले आफ्नो विज्ञताअनुसार पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आ–आफ्नो क्षेत्रको मापदण्ड तय गर्ने निर्णय भएको छ ।  विज्ञहरूले तयार पारेको मापदण्डबाट विमानस्थल निर्माणका लागि आवश्यक सूचक तय गरेर ठाउँ खोजी सुरु हुने एक सदस्यले बताए । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक ज्ञानेन्द्र देउजाको संयोजकत्वमा १० जनाको विज्ञ समूह गठन गरिएको छ । समूहमा अर्थशास्त्री रामेश्वर खनाल, विकास योजनाविद् प्रा.डा. सूर्यराज आचार्य, सहरी विकासविद् प्रा.डा. संगीता सिंह, वन्यजन्तुविद् प्रेमबहादुर बुढा, वन विज्ञान विशेषज्ञ सुरेशकुमार घिमिरे, मानवशास्त्री÷समाजशास्त्री डा. लक्ष्मी सिंह, वरिष्ठ पाइलट कृष्णविक्रम पौडेल (केसी), वरिष्ठ कानुनविद् डा. चन्द्रकान्त ज्ञवाली र हवाई रुट विशेषज्ञ महेशकुमार बस्नेत रहेका छन् ।

 यसरी छानिनेछ उपयुक्त थलो
नेपालको भौगोलिक बनावटअनुसार ठूला कार्गो जहाज उडान अवतरण गर्ने स्थान पहाड र हिमालमा सम्भव छैन । नेपालको भौगोलिक बनावटअनुसार धावनमार्ग पूर्व–पश्चिम वा पश्चिम–पूर्व हुनुपर्छ । उत्तर–दक्षिण एप्रोच भएको अन्तर्राष्ट्रिय विमानस्थल प्राविधिक रूपमा फिजिबल हुँदैन । जहाज उडान अवतरण गर्ने एप्रोचका लागि हावा कम बहने दिशा पहिल्याउनुपर्ने हवाई पूर्वाधारविज्ञ बताउँछन् ।

विदेशबाट आएको जहाज नेपालको एयर स्पेसमा प्रवेश गरेर ल्यान्ड गर्न सक्ने र आफ्नै एयर स्पेस प्रयोग गरेर उडान गर्न मिल्ने बीचको ठाउँ खोज्नुपर्ने हुन्छ । ‘मैले अन्तर्राष्ट्रिय विमानस्थल पश्चिममा धनगढी वा पूर्वमा विराटनगर बनाउँछु भनेर पनि हुँदैन’ एक विज्ञले भने, ‘भारतीय सीमानजिकै हुँदा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा अहिल्यै समस्या आइसकेको छ ।’ यस्तै, मान्छे नभएको ठाउँमा ठूलो विमानस्थल बनाएर पनि भएन । धेरै जनघनत्व भएको र जहाँबाट बढी मान्छे यात्रा गर्न सक्छन् त्यहाँ विमानस्थल बनाउनुपर्छ । अन्यथा, देशको आर्थिक विकास र पर्यटनलाई दीर्घकालीन रूपमा फाइदा पुर्‍याउने रणनीतिक महत्वका साथ हेरिएको विमानस्थलको लगानी व्यर्थ हुन सक्छ । 

जनघनत्व, ठूला सहर र बढी ट्राभल गर्ने मान्छेको बसोवास हेर्दा दाङभन्दा पश्चिम र सिराहाभन्दा पूर्वतर्फ अध्ययन गर्नै नपर्ने एक सदस्यले बताए । चुरेभन्दा उत्तरतर्फको भेग पनि सम्भव भएन । ‘माथिका कुरालाई मध्यनजर गर्दा विज्ञ समूहले सिराहादेखि कपिलवस्तुसम्मको ठाउँ हेरे पुग्ने भयो’ एक विज्ञले भने, ‘जहाँबाट मान्छे बढी यात्रा गर्छन्, त्यो ठाउँबाट टाढा जान मिल्दैन ।’ संघीय राजधानी काठमाडौंबाट धेरै टाढा जाँदा पनि पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थलको उपादेयता नरहने ती विज्ञको भनाइ छ ।

भैरहवामा तीन हजार मिटर लामो धावनमार्गसहितको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए) सञ्चालनमा आइसकेको छ । सबैभन्दा महत्वपूर्ण पक्ष ठूलो अन्तर्राष्ट्रिय विमानस्थलका लागि अहिले हेर्ने भनेको काठमाडौंको बजार हो । नयाँ बन्ने विमानस्थल काठमाडौंबाट नजिक हुनैपर्छ । दुईवटा रनवेसहितको कार्गो विमानस्थल सञ्चालनका लागि लोड पेनाल्टी कम भएको, काठमाडौंबाट नजिकै, जनघनत्व पनि धेरै भएको, एयरस्पेस पनि धेरै भएको ठाउँ खोज्दा हेटौँडादेखि सर्लाहीसम्मको भूभाग धेरै भायवल देखिएको विज्ञको तर्क छ । यो ठाउँबाट काठमाडौं नजिकै पर्छ । काठमाडौं–तराई द्रुतमार्गदेखि कान्ति राजपथ, हेटौँडा कुलेखानी सडक पनि यही क्षेत्रमा पर्छन् ।