मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
केशवप्रसाद पाण्डे नयाँ पत्रिका
२०७९ भदौ २ बिहीबार ०६:०७:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कार्यदलले नसकेपछि सिट  बाँडफाँडबारे आज शीर्ष तहमा छलफल

Read Time : > 1 मिनेट
केशवप्रसाद पाण्डे, नयाँ पत्रिका
२०७९ भदौ २ बिहीबार ०६:०७:००

गठन भएको दश दिनसम्म पनि कार्यदलले सिट बाँडफाँडको आधार र संख्यामा ठोस प्रगति गर्न नसकेपछि पाँचदलीय सत्तागठबन्धनका शीर्ष नेताबीच छलफल हुने भएको छ । सिट बाँडफाँडको आधार र संख्याको प्रारम्भिक खाका बनाउने जिम्मा पाएका कार्यदल संयोजक कृष्णप्रसाद सिटौलले बुधबार बैठकमा प्रस्ताव पेस नगरेपछि गठबन्धनका शीर्ष नेताको बैठक बोलाइएको छ । बैठक बिहीबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ । 

गठनयता कार्यदलका चार बैठक बसेपछि सिट बाँडफाँडको आधारलाई लिएर कांग्रेस र अन्य चार दलबीच सहमति बनेको छैन । सोही कारण साउन मसान्तभित्र प्रारम्भिक प्रस्ताव बनाउने जिम्मा पाएको कार्यदल निष्कर्षविहीन अवस्थामा छ । बुधबार बसेको कार्यदल बैठकमा संयोजक सिटौलाले शीर्ष तहमा छलफल गरेर प्रारम्भिक खाका ल्याउने तयारी गरे पनि आधारको विषय नै टुंगो लाग्न नसकेपछि खाका प्रस्तुत हुन सकेन ।

मुख्य आधार नै टुंगिन नसकेपछि कसले कति सिट पाउने भन्ने विषयमा अन्योल देखिएको छ । सिट बाँडफाँडको मुख्य आधार ०७९ को स्थानीय निर्वाचन परिणाम वा ०७४ को संघीय निर्वाचनको प्रत्यक्षतर्फको परिणाम मान्ने भन्नेमा मतभेद छ । यस अवधिमा कांग्रेस ०७४ मा गठबन्धनमा रहेका दलले जितेका सबै सिट छाड्न तयार भएन, आफ्ना सिट आफैँ राख्ने चार दलले अडान कायम राखेका छन् ।

कार्यदलका सदस्यसमेत रहेका सूचना, सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की भने कार्यदलको काम अन्तिम चरणमा रहेको दाबी गरे । ‘कार्यदलले पाएको जिम्मेवारी पूरा हुने अन्तिम चरणमा छ । विभिन्न मोडालिटीबारे छलफल गरेका छौँ,’ उनले भने, ‘कार्यदलको कामबारे संयोजकले शीर्ष नेतालाई जानकारी गराउनुहुनेछ । र, अर्को बैठकमा ठोस निर्णय आउने सम्भावना छ ।’ 

जसपाबाट कार्यदल सदस्य रहेका रामसहायप्रसाद यादव गृहकार्य नपुगेपछि ठोस प्रस्ताव आउन नसकेको बताँए । शीर्ष तहको सहमति अनुसार अगाडि बढ्नुपर्ने भएकाले ढिलाई भएको उनले बताए । ‘कार्यदल शीर्ष तहको सहमतिमा नै बनेको हो । शीर्ष नेतालाई जानकारी गराउनुपर्ने दायित्व पनि हो । बाँडफाँडको बिषयलाई निष्कर्षमा पुर्‍याउन संयोजकले शीर्ष तहमा छलफल गर्नुहुन्छ,’उनले भने,‘अबको कार्यदल बैठकमा संयोजकले खाका ल्याउनुहुनेछ ।’

कार्यदल गठनदेखि चौथो बैठकसम्म के–के भयो ? 

२० साउन : सत्ता गठबन्धनवीच प्रदेश र प्रतिनिधसभा निर्वाचनमा तालमेल गर्ने निर्णय । कांग्रेसबाट तीन र अन्य दलबाट दुई–दुई जना रहने गरी ११ सदस्यीय कार्यदल गठन । कार्यदललाई साउन मसान्तभित्र प्रारम्भिक काम सक्न निर्देशन । 

२३ साउन : कार्यदलको पहिलो वैठकबाट कांग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजक चयन । आ–आफ्नो पार्टीभित्र छलफल गरेर अर्को वैठकमा औपचारिक छलफल थाल्ने सहमति । 

२६ साउन : कार्यदलको दोस्रो वैठकमा शीर्ष नेताको व्यवस्थापनलाई प्राथमिकतामा राखेर सिट बाँडफाँड गर्ने रणनिति सहित आ–आफ्ना दलमा छलफल गरेर टुंगो लगाउने निर्णय ।

३० साउन : कार्यदलको तेस्रो वैठकमा सिट बाँडफाँड आधार र संख्यामा प्रगति नभएपछि शीर्ष नेताहरूस“ग छलफल गरेर प्रस्ताव ल्याउने जिम्मा संयोजक सिटौलालाई । एकीकृत समाजवादीका लागि छुट्टै मापदण्ड बनाउने निर्णय । सिटौलाद्धारा शीर्ष नेताहरूस“ग औपचारिक–अनौपचारिक संवाद थालनी । 

१ भदौ : कार्यदलको चौथौ वैठकमा संयोजकको प्रस्ताव नआएपछि सिट बाँडफाँड आधार र संख्यामा सहमति भएन । २ भदौमा गठबन्धनका शीर्ष नेताहरूको वैठक आव्हान ।