मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस काठमाडौं
२०७९ श्रावण ३१ मंगलबार २३:२६:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

भित्रिनेभन्दा बाहिरिने रकम बढ्यो

शोधानान्तर घाटा दुई खर्ब ५५ अर्ब

Read Time : > 1 मिनेट
रासस, काठमाडौं
२०७९ श्रावण ३१ मंगलबार २३:२६:००

देशभित्र भित्रिनेभन्दा बाहिरिने रकमको मात्रामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७८–७९ मा दुई खर्ब ५५ अर्ब रुपैयाँले शोधानान्तर घाटामा गएको छ । अघिल्लो आव असार मसान्तमा एक अर्ब २३ करोडले शोधानान्तर बचतमा थियो ।

कोरोना कहर सामान्य भएपछि हरेक क्षेत्रमा उच्च आयात भएका कारण गत आव शोधानान्तर दुई  खर्ब ५५ अर्बले घाटामा गएको हो । यस्तै, गत जेठको तुलनामा गत असारमा विदेशी मुद्राको सञ्चितिमा सुधार भएको छ ।

केन्द्रीय बैंकको विवरणअनुसार आव ०७८–७९ मा नौ अर्ब ५४ करोडले अमेरिकी डलरको सञ्चिति रहेको छ । यो सञ्चितिले ६.९४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्छ । सो आवमा कुल १९ खर्ब २० अर्ब ४५ करोडबराबरको वस्तु आयात भएको छ । 

केन्द्रीय बैंकको विवरणअनुसार समीक्षा वर्षमा कुल वस्तु आयात २४.७ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष यस्तो आयात २८.७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २३.५ प्रतिशत, १३.२ र ३६.३ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, स्पंज आइरन, सुनलगायतका वस्तुको आयात बढेको छ भने एमएसविलेट, सिमेन्ट, धान तथा चामल, दाल, मेडिकल उपकरणलगायतका वस्तुको आयात घटेको छ । 
निर्याततर्फ कञ्चनपुर भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट वृद्धि भएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट वृद्धि भएको छ ।

आर्थिक वर्ष ०७८–७९ मा कुल वस्तु निर्यात ४१.७ प्रतिशतले वृद्धि भई दुई खर्ब तीन करोड पुगेको छ । अघिल्लो आवमा यस्तो निर्यात ४४.४ प्रतिशतले वृद्धि भएको थियो । 

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ४५.९ प्रतिशत र ३०.४ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २०.४ प्रतिशतले घटेको छ । 

वस्तुगत आधारमा पाम तेल, ऊनी गलैँचा, धागो (पोलिस्टर तथा अन्य), जिंक सिट, जुसलगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, अलैँची, चिया, औषधि (आयुर्वेदिक), तारलगायतका वस्तुको निर्यात घटेको छ ।