मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण ३१ मंगलबार १२:३५:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

फिफाले किन लगायो भारतमाथि प्रतिबन्ध ?

Read Time : < 1 मिनेट
२०७९ श्रावण ३१ मंगलबार १२:३५:००

फुटबलको सर्वोच्च संस्था फिफाले भारतमाथि अनिश्चितकालीन प्रतिबन्ध लगाएपछि भारतीय खेलजगतमा तरंग उत्पन्न भएको छ ।

फुटबलमा पछिल्ला केही वर्षदेखि दक्षिण एसियाको महाशक्तिका रूपमा आफूलाई उभ्याउन लगानी बढाइरहेको भारतका लागि फिफाको निर्णयले ठूलो झड्का दिएको छ । 

फिफाले किन प्रतिबन्ध लगायो भन्ने कुतूहल पनि जागेको छ । फिफाले प्रतिबन्ध लगाउनुको मुख्य कारण भारतीय फुटबलको सर्वोच्च संस्था अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) मा बाहिरी शक्ति हावी भएको कारण दिएको छ । 
फिफाको संलग्नतामा भइरहेको प्रशासनिक समस्या समाधानसम्बन्धी मार्गचित्रबाट एआइएफएफ विचलित भएको उसको तर्क छ । 

भारतीय फुटबलमा अनेक विवाद थिए । यही विवादबीच एक समूह सर्वोच्च अदालत गएपछि भारतको सर्वोच्च अदालतले गएको मे महिनामा एआइएफएफलाई विघटन गरेर तीन सदस्यीय तदर्थ समिति बनाएको थियो । सो समितिलाई खेलको व्यवस्थापन, विधान संशोधन तथा डेढ वर्षदेखि हुन नसकेको निर्वाचन गराउने जिम्मेवारी दिएको थियो । 

सर्वोच्चको यस्तो निर्णयलाई फिफाले स्वीकार गरेको थिएन । गत मे महिनामै फिफाले अदालतको आदेशअनुसार अघि बढे कारबाही गर्ने स्पष्ट चेनावनी दिएको थियो । त्यसपछि एआइएफएफले फिफासँगै थप परामर्श गरेको थियो । 
त्यसक्रममा फिफा, एएफसी र एआइएफएफको संयोजनमा भारतीय फुटबल समुदायका अग्रजहरूसँगको छलफलपछि विधानको मस्यौदा तयार भएको थियो । सो विधान अनुमोदन गर्न यही महिना विशेष साधारणसभा बोलाउने गरी तीन पक्षले मार्गचित्र बनाएको थियो । 

तर, गत बुधबार सर्वोच्च अदालतले तत्काल निर्वाचन गराउन आदेश दिएपछि फिफा भारतीय फुटबललाई नै प्रतिबन्ध लगाउने निर्णयमा पुगेको हो ।