१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रोहित चोपडा
२०७९ श्रावण ३१ मंगलबार ०८:४४:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

रुस्दी वाक्–स्वतन्त्रताका सच्चा साधक

Read Time : > 2 मिनेट
रोहित चोपडा
२०७९ श्रावण ३१ मंगलबार ०८:४४:००

सलमान रुस्दी एक लेखक, चिन्तक, कलाकार, वाक् स्वतन्त्रताका आवाज, भिन्न मत राख्ने व्यक्तित्व र आलोचक बाँचिरहून् भन्नका लागि दर्जनौँ कारण छन् । एक अतिवादीले चक्कु प्रहार गरेपछि  रुस्दी अस्पतालको शैय्यामा जीवनका लागि संघर्षरत छन् । रुस्दीलाई हमला गर्नुका दुई मुख्य कारण छन् । पहिलो, इरानका पूर्व–सर्वोच्च नेता आयतोल्लाह खोमेनीले सन् १९८९ मा ‘द सेटानिक भर्सेस’ पुस्तकमा इस्लामविरुद्ध ईश्वरनिन्दा गरेको भन्दै पुस्तकका लेखक रुस्दीको हत्या गरिनुपर्छ भनेर फतवा जारी गरेका थिए ।

फतवायता धर्मसँग सम्बन्धित मामिलामा सन्देहास्पद चासो, आलोचना अथवा व्यंग्य गरेका कारण रुस्दीले आफ्नो ज्यानलाई खतरा छ भन्दै आएका थिए । पछिल्ला तीन दशकमा आफूमाथि भएको हमला मात्रै नभई तसलिमा नसरिन वा सिरिन दल्वीलाई दिइने धम्की  वा चार्ली हेब्डो अथवा गौरी लंकेशको हत्याले धर्म सम्बन्धित मामिलामा बोल्नु घातक हुने पुष्टि गरेको छ । रुस्दीमाथि भएको हमलाले धर्मबारे बोल्नु भनेको जोखिम मोल्नु हो भन्ने मात्रै जनाउ गरेको छैन । हमलाले लोकतान्त्रिक समाज व्यवस्थाका लागि मात्रै नभई मानव हुनुको तत्वबोधका लागि आवश्यक वाक् स्वतन्त्रता वा रुस्दीकै भाषामा भन्ने हो भने चिढ्याउने अधिकार (स्पष्ट ढंगले आलोचना गर्ने अधिकार अर्थात् आलोचना लक्षित गरिएको पक्ष चिढिए पनि आलोचना जारी राख्ने अधिकार) लाई खतरामा पारेको छ । रुस्दीका अनुसार राजनीतिक भाषण, व्यंग्य वा दैनन्दिनको संवादलाई समान ढंगले व्यवहार गरिनुपर्छ । 

दोस्रो, रुस्दी अदम्य सहासका एक यस्ता उदाहरण हुन्, जसले फतवाको धम्कीलाई बेवास्ता गर्दै अनवरत रूपमा उत्साहसाथ जीवन बिताइरहेका थिए÷छन् । सन् २००० को दशकताका एमोरी विश्वविद्यालयमा पढ्दा रुस्दीका संवाद एवं प्रवचनसँग साक्षात्कार हुनपुगेको छु । त्यस क्रममा रुस्दीको विद्वता एवं चतु¥याइँ, अनुसन्धान एवं अनुभव तथा आख्यानलाई तथ्यसँग बुन्ने र व्यक्तिगत स्मृतिलाई सार्वजनिक इतिहाससँग जोड्ने कलालाई नजिकबाट महसुस गर्न पाएको थिएँ ।

सन् २००८ मा सनफ्रान्सिस्कोमा एक रेडियो कार्यक्रमका लागि प्राध्यापक मिसेल क्रास्नीले लिएको रुस्दीको अन्तर्वार्ता अझै सम्झिन्छु । अन्तर्वार्तामा रुस्दीलाई अमेरिकी नेतृत्वमा भएको अफगानिस्तान अतिक्रमणलाई समर्थन गर्नुहुन्छ वा हुँदैन भनेर प्रश्न गरिएको थियो । सत्ता परिवर्तनमाथिको उनको बुझाइ र अमेरिकी युद्ध नीतिप्रतिको तार्किकतामाथिको आलोचना स्मरणयोग्य छन् । रुस्दीका विचारमाथि सहमत हुनु–नहुनु आफ्नो ठाउँमा छ, तर यी संवादमा स्वतन्त्रताको सिद्धान्त प्रचुर मात्रामा पाएको थिएँ अर्थात् बौद्धिक जिज्ञासाको स्वतन्त्रता र भयविना बाँच्न पाउने स्वतन्त्रताको अनुभूति गरेको थिएँ । यी दुई स्वतन्त्रता एक अर्कासँग अन्योन्याश्रित ढंगले जोडिएका छन् ।    

रुस्दीका लेखनी र जीवन भोगाइले धर्मका मामिलामा प्रस्तुत गरिने अपवाद कमजोर र बेतुके छन् भनेर देखाउँछन् 
       

 अहिले यी दुवै स्वतन्त्रता विश्वका हरेकजसो समाज रुस, भारत, अमेरिका, चीन वा टर्कीसम्ममा आक्रमणको चपेटामा परिरहेका छन् । र, यी सब आक्रमणमा चरम दक्षिणपन्थी एवं फासिवाद निकटस्थदेखि प्रगतिशील भनिएका राजनीतिक व्यवस्था अद्वितीय ढंगले भागिदार छन् । किनभने, विश्वभरि नै अभिव्यक्ति स्वतन्त्रतामा धर्ममाथि गरिने प्रश्न वा व्यंग्यलाई वर्जित गरेको पाइन्छ । प्रगतिशीलका सन्दर्भमा सजायमा शारीरिक हिंसा भने देखिँदैन यद्यपि सामाजिक सञ्जालमा बेइज्जती गराउने, सार्वजनिक ढंगले माफी माग्न लगाउने वा रोजगारीबाट निकाला गरिने अभ्यास देखिन्छन् ।

जब हाम्रो अभिव्यक्ति वा आलोचना कुनै यस्तो विषयमाथि हुन्छ, जुन ठुलो संख्याका मानिसलाई सत्य लाग्छ अर्थात धर्मका मामिलामा हुनसक्छ भने हामी मानिसलाई चिढ्याउने जोखिम मोल्न सक्दैनौँ । यदि कुनै धार्मिक समुदायले केही विषयलाई आपत्तिजनक मान्छन् भने सो आपत्तिको भावनाले अभिव्यक्ति स्वतन्त्रतालाई माथ दिनुपर्छ वा बराबरीको हैसियत पाउनुपर्छ भन्ने माग गरिन्छ । यदि धर्मको आलोचना गर्नैपरे विम्ब प्रयोग गरेर मिठो र मत्थर भाषा प्रयोग गर्नुपर्ने अघोषित नियम मान्नुपर्ने हुन्छ । यी नियमलाई धर्म जतिसुकै अत्याचारी भए पनि पालना गर्नुपर्ने बाध्यता हुन्छ । रुस्दीको लेखनी र जीवन भोगाइले धर्मका मामिलामा प्रस्तुत गरिने अपवाद कमजोर र बेतुके छन् भनेर देखाउँछ । उनका अनुसार यसले हामीले संघर्ष गरेर ल्याएको धर्मनिरपेक्षता र लोकतन्त्रलाई खतरामा पार्ने जोखिम निम्त्याउँछ । यसलाई लत्याएर अभिव्यक्ति स्वतन्त्रताको अमूल्य उपहारका लागि हरेक वाक् स्वतन्त्रताकामी रुस्दीप्रति कृतज्ञ छन् ।    

 भारतीय जो रुस्दीलाई गौरवका रूपमा हेर्छन्, तिनै भारतीय बेलाबखतमा ‘धार्मिक भावना आहत’ भयो भन्ने प्रेतबाट तर्सिएर रुस्दीलाई परित्याग गर्न समय लगाउँदैनन् । केही वर्षअघि जयपुर लिटरेचर फेस्टिभलमा रुस्दीको नाम अन्त्यमा हटाइनुलाई उदाहरणका रूपमा लिन सकिन्छ  । रुस्दीमाथि भएको हमलामा स्तब्ध भएर सामाजिक सञ्जालमा निन्दा गर्ने भारतीय उदारवादीले भारतमै पत्रकार, लेखक र कलाकारमाथिको आक्रमणमा साध्ने गरेको आफ्नै मौनताको सामना गर्न आवश्यक छ । 

मुसलमान स्वभावतः हिंस्रक हुन्छन् भनेर देखाउन उद्यत हिन्दुत्व समर्थक अहिले रुस्दीमाथि भएको आक्रमणतर्फ औँला तेस्र्याइरहेका छन् । तर, यी समर्थकले नरेन्द्र मोदी, अमित शाह, आदित्यनाथ, नरसिंहानन्द, कपिल मिश्रा, अनुराग ठाकुरलगायत हिन्दू दक्षिणपन्थी नेताले भारतीय मुसलमानमाथि गरिने हिंसालाई नियाल्न आवश्यक छ । त्यसैगरी, कांग्रेस नेताले राजीव गान्धी सरकारका वेला ‘द सेटानिक भर्सेस’लाई प्रतिबन्ध लगाउनु गलत थियो भनेर अत्मावलोकन गर्न आवश्यक छ । राजनीतिक वृत्तले ‘धार्मिक भावना आहत’ हुनबाट रोक्ने नाममा बनाइएका कानुनविरुद्ध बोल्ने आँट गर्नुपर्छ ।

प्रख्यात मनाव अधिकार एवं कानुनवेत्ता अब्दुल्लाही अन–नियाम हरेक पुरातनपन्थ विद्रोहबाटै निःसृत भएको मान्छन् । त्यसकारण उनी विद्रोहलाई ‘नवप्रवर्तन’ र आलोचनात्मक चेतका रूपमा स्विकार्नुपर्ने बताउँछन् । विद्रोहले मुक्तिको बाटो देखाउँछ र नयाँ काल्पनिकीको जन्म दिन्छ । तसर्थ, रुस्दीको शीघ्र स्वास्थ्यलाभको कामना गरौँ ।  
स्क्रल डट इनबाट(चोपडा सान्टा क्लारा विश्विद्यालयका सहायक प्राध्यापक हुन्)