१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण ३१ मंगलबार ०७:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अझै बस्न सकेन महाभियोग सिफारिस समितिको बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण ३१ मंगलबार ०७:०३:००

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको बैठक लम्बिएको छ । २२ फागुनमा गठन भएर निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमा २२ साउनमा छानबिनको जिम्मेवारी पाएको समितिको पहिलो बैठक नै लम्बिएको हो । प्रतिनिधिसभाबाट जिम्मेवारी पाएको आठ दिन बितिसक्दा पनि पहिलो बैठक बस्न नसकेको हो । 

समिति सदस्य मीन विश्वकर्माले सदस्य कामविशेषले बाहिर रहेकाले बैठक बस्न नसकेको बताए । समितिका सचिव लक्ष्मीप्रसाद गौतमले सांसदहरू उपत्यकाबाहिर जिल्लामा रहकाले ३ भदौ दिउँसो १ बजे बैठक बस्ने तय गरिएको बताए । बैठकका लागि सदस्यहरूलाई खबर गरिसकिएको उनको भनाइ छ ।

यसअघि विभिन्न मिति प्रस्ताव गरिए पनि सांसदहरू जिल्लातिर हुँदा प्रभावित हुँदै आइरहेको छ । समितिमा विश्वकर्मासहित एकवाल मिया, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाम्फे सदस्य छन् । कार्यविधि बनाइसकेको समितिको सभापतित्व ज्येष्ठ सदस्य विष्टले गर्ने तय भएको छ । 

पदीय जिम्मेवारीविपरीत कार्य गरी संविधान र कानुनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमताको अभाव भएको, खराब आचरण भएको, इमान्दारपूर्वक आफ्नो पदीय कर्तव्य पालना नगरेको र आचारसंहिताको गम्भीर उल्लंघन गरेकोलगायत २१ वटा आरोप लगाउँदै निलम्बित प्रधानन्यायाधीश जबराविरुद्ध १ फागुन २०७८ मा डा. मीनेन्द्र रिजालसहित कांग्रेस, (माओवादी, एकीकृत समाजवादीलगायत दलका ९५ जना सांसदको समर्थनमा देवप्रसाद गरुड, पुष्पा भुसाल, जीवनराम श्रेष्ठ प्रस्तावक भएर महाभियोगको प्रस्ताव दर्ता गरेका थिए ।