मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण ३१ मंगलबार ०७:४९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सिट बाँडफाँड प्रस्ताव बनाउने जिम्मा सिटौलालाई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण ३१ मंगलबार ०७:४९:००

एकीकृत समाजवादीका लागि छुट्टै मापदण्ड 

पाँचदलीय कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले चुनावी तालमेलको सिट बाँडफाँडसम्बन्धी प्रस्ताव बनाउने जिम्मा पाएका छन् । सोमबार बसेको कार्यदल बैठकले तालमेलको आधार र मापदण्डसहितको सिट बाँडफाँड प्रस्ताव ल्याउन संयोजक सिटौलालाई जिम्मा दिएको हो । यसका लागि सिटौलाले आवश्यकताअनुसार कार्यदल सदस्य र शीर्ष नेतासँग परामर्श गर्नेछन् । 

माओवादीका तर्फबाट कार्यदल सदस्य रहेका नेता वर्षमान पुनले ०७४ को निर्वाचनको प्रत्यक्षतर्फ र समानुपातिक परिणामका साथै गत वैशाखको स्थानीय तह निर्वाचनलगायतलाई आधार मानेर बाँडफाँडबारे प्रस्ताव ल्याउने तयारी भएको बताए । उनले प्रस्ताव बनाउने जिम्मा कार्यदल बैठकले संयोजक सिटौलालाई दिएको पनि जानकारी दिए । 

‘०७४ को निर्वाचनको प्रत्यक्षतर्फको नतिजालाई सिट बाँडफाँडको मोटामोटी आधार मान्ने छलफल भएको छ । यसका साथै ०७४ को समानुपातिकको नतिजालगायतलाई आधार तयार बनाइन्छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘सोमबारको बैठकले कार्यदल संयोजकलाई गठबन्धन दलमा छलफल र सहजीकरण गरेर सिट संख्यासहित बाँडफाँडको खाका अर्को बैठकमा प्रस्ताव गर्ने जिम्मा संयोजकलाई दिएको छ ।’

सरकारका प्रवक्ता तथा कार्यदल सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले सिट बाँडफाँडका लागि एकीकृत समाजवादीका विषयमा यसअघिको निर्वाचन मात्रै आधार मान्न सम्भव नभएकाले छुट्टै मापदण्ड बनाउन लागिएको जानकारी दिए । ‘एकीकृत समाजवादी ०७४ को निर्वाचनमा सहभागी थिएन,’ कार्कीले भने, ‘त्यसले गर्दा यसलाई विशिष्ट रूपमा राखेर मापदण्ड तय गरेर अगाडि बढ्छौँ ।’

राष्ट्रिय जनमोर्चाबाट कार्यदल सदस्य हिमलाल पुरीले गठबन्धनमा नरहेका दलले जितेका स्थानमा मात्रै बाँडफाँड गर्ने गरी काम अगाडि बढेको दाबी गरे । ‘विगतका निर्वाचनमा जुन दलले जितेको छ सोही दललाई छाड्ने र एमालेसहित गठबन्धनमा नरहेका दलले जितेका स्थानमा मात्रै बाँडफाँड गर्ने कार्यदलमा करिब सहमति छ,’ उनले भने, ‘शीर्ष नेताको व्यवस्थापन पार्टीले पाउने सिटका आधारमा आफ्नै पार्टीबाट टुंगो लगाइनेछ ।’ 

२६ साउनमा बसेको कार्यदल बैठकले मुख्य गरी विगतका निर्वाचनलाई सिट बाँडफाँडको आधार मान्ने विषयमा छलफल थालेको थियो । कार्यदल बैठकले आ–आफ्ना दलमा छलफल गरेर सोमबार आधार टुंगो लगाउने र साउन मसान्तभित्रै प्रतिवेदन तयार गरेर शीर्ष नेतालाई बुझाउने तयारी गरेको थियो । तर, दलहरूमा गृहकार्य नपुगेपछि सोमबार यस विषयले अन्तिम रूप पाउन नसकेको नेताहरूले बताएका छन् । 

गत २० साउनमा बसेको सत्तागठबन्धनले चुनावी सिट बाँडफाँडका लागि ११ सदस्यीय कार्यदलसमेत गठन गरेको थियो । कार्यदलको पहिलो बैठक २३ साउनमा बसेको थियो । बैठकले कार्यदलको संयोजकको जिम्मेवारी कांग्रेस नेता सिटौलालाई दिएको थियो । २६ साउनमा बसेको दोस्रो बैठकले शीर्ष नेतालाई प्राथमिकतामा राखेर सिट बाँडफाँड गर्ने रणनीतिसहित आ–आफ्ना दलमा छलफल गरेर टुंगो लगाउने निर्णय गरेको थियो ।